बुनपामा एमाले: बुनपा वडा नं १०, ११ र १२ मा सम्भावना र संभावितहरु

कपन अनलाइन, काठमाडौँ । नेपालमा २० वर्षपछि स्थानीय निकाय चुनावको प्रशंग अगाडि बढेको छ । ०५४ सालमा भएको स्थानीय निकाय चुनावपछि ०७४ सालमा हुन लागेको स्थानीय निकाय चुनावबीचको दुरी जति लामो छ स्थानीयस्तरका नेताहरुको सम्भावना, सक्रियता, योग्यता र निकटताबीचका सम्बन्धको दुरी पनि धारिलो छ । धेरै नेताहरुले यो स्थानीय निकाय चुनावमा आफुलाई होमिन चाहेको बताउने गरेका छन् ।

 
बुढानिकण्ठ नगरपालिकामा स्थानीय निकाय चुनावको घोषणासँगै दलका नेताहरुको चुनावी टिकटमा चासो तथा मोह एकाएक बढेको छ । स्थानीय निकायमा मेयरदेखि वडासदस्यसम्मका दावी गर्नेहरुको ताँती लागेको छ । पार्टीका स्थानीय तहका मिटिङमा होस् वा अन्य भेटघाट आफ्नो चाहना मुखरित गर्ने क्रम जारी छ । सामाजिक संजाल वा अनलाइन समाचारमा पनि आफ्ना बारे प्रकाशन गर्ने प्रयासहरु भैरहेका छन् ।

 
बुनपालाई हेर्ने दृष्टिकोणसँग राष्ट्रिय राजनीतिसँग नजिकको सम्बन्ध बुझिने भएकाले महत्वपूर्ण मानिन्छ । हाल १३ वटा वडा भएको यस नगरपालिकामा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच प्रतिपश्पर्धा हुनेछ । राप्रपाले पनि आफ्नो अस्तित्वका लागि केही वडामा उम्मेदवार उठाउन सक्नेछ ।

 
बुनपामा एमालेलाई मजबुत पार्टी भन्न सकिन्छ । बुनपामा क्षेत्रीय अध्यक्ष कुसुमकुमार कार्की, बिदुरविक्रम खड्का, जयराम थापा, ध्रुवराज न्यौपाने, उद्धब खरेल, दीपक निरौला, शान्ती अधिकारी र बालकृष्ण श्रेष्ठलाई सम्भावित मेयर उम्मेदवार हुनसक्ने अनुमान गरिएको छ । यीमध्ये क्षेत्रीय अध्यक्ष कुसम कार्की, नगरसहजीकरण सदस्य बिदुरविक्रम खड्का र एमाले प्रतिनिधि परिषद् सदस्य उद्धव खरेलबीच टिकटका लागि प्रतिपश्पर्धा हुन सक्नेछ । टिकटका लागि ओली वा नेपाल भन्ने फ्याक्टर पनि लागु हुने भएकाले यसैले टिकट पाउने भन्ने अनुमान गर्न सकिने अवस्था छैन । यद्यपि लोकप्रियता, दक्षता, योग्यताका साथमा कपन फ्रेन्डली हुनुलाई एमालेले टिकटको योग्यताको आधार बनाउन सक्ने देखिन्छ ।

 
बुनपाको मेयरका लागि जति नाम र चाहनाबीचको माथापच्चिसी बढेको छ त्यत्तिकै जोडतोडले चासो र बहश वडाध्यक्षहरुमा पनि शुरु भएको छ । बुनपाको वडा १०, ११ र १२ ले साविक कपन गाविस बुझाउँछ । यो क्षेत्रले जनसंख्याको आधारमा बुढानिलकण्ठ नगरपालिकाको झण्डै ४० प्रतिशत भाग ओगट्ने गर्दछ । विकासको पहुँच धेरै पुर्याउनु पर्ने तथा स्थानीय आम्दानी धेरै हुने वडाहरु पनि यिनै हुन् । यी वडामा राजनीतिक चहलपहल पनि अन्य वडाहरुमा भन्दा धेरै हुने गरेको छ । पूराना कपनवासी र बिभिन्न जिल्लाबाट बसोबास गर्न आइपुगेको जनमानसबीचको भीषण वस्तीको रुपमा बनेको मिनि सहर स्वरुपको कपनका यी वडाहरुमा नेपाली कांग्रेस, एमाले तथा एमाओवादीबीच राजनीतिक प्रतिष्पर्धा हुनेछ । कुनै समय माओवादीको राम्रो सांगठनिक आधार भएको क्षेत्र मानिने कपनका यी वडाहरुमा अहिले माओवादी त्यस्तो सजिव देखिदैन । नेपाली कांग्रेस र एमालेकै चुनावी प्रतिष्पर्धा हुने यी वडाहरुमा माओवादकिा उम्मेदवारले कांग्रेस र एमालेका उम्मेदवारबीचको हारजीतलाई भने प्रभाव पार्न सक्नेछन् ।

 
०५४ सालको स्थानीय चुनावमा कपनमा एमालले जीत हासिल गरेको थियो । भर्खर बस्ति विस्तार भएको कपनमा यतिबेलाभन्दा ४ गुना कम मतदाता थिए । यतिखेर एमालेको अवस्था यी वडामा कस्तो छ यकिन गर्न सकिने अवस्थामा छैन । उम्मेदवारको छनौट अनुसार एमालेको अवस्थाको हिसाब किताब हुने अवस्था छ ।

 
सर्वाधिक ठूलो वडा नं. १० मा एमालेको नेपाली कांग्रेसको प्रतिष्पर्धा हुनेछ । एमालेबाट सम्भावित वडाध्यक्ष उम्मेदवारहरुमा नवराज भट्टराई, ध्रुव भट्टराई, मधु अधिकारी, लक्ष्मी संग्रौला, बलराम पराजुलीलाई लिइएको छ । यीमध्ये नवराज भट्टराई सो वडामा एमालेको अध्यक्ष पनि भएकाले उनलाई बलियो व्यक्तिको रुपमा लिन सकिन्छ । यस वडामा पूर्व गाविस अध्यक्ष रहेका मिठाराम अधिकारी वडाध्यक्ष वा सदस्यमा उठ्ने सम्भावना पनि एमालेवृत्त चर्चा चल्ने गरेकोले यदि मिठाराम अधिकारी उठे भने यस वडामा जीतको संभावना बढ्ने देखिन्छ । पूर्व गाविस अध्यक्ष भैसकेको अधिकारी वडाध्यक्ष वा सदस्यमा उठ्लान् वा नउठ्लान भन्ने विषय भने अझै महत्वपूर्ण हो । यस वडामा नेपाली कांग्रेसले श्याम डोटेल, नारदमणि घिमिरे र रामप्रसाद लुइँटेलमध्ये एकलाई उम्मेदवार बनाउनेछ । धेरैले यो वडामा नवराज भट्टराई र श्याम डोटेलबीच प्रतिष्पर्धा हुने बताउँछन् ।

 
वडा नंं ११ भर्खरै बनेको वडा हो । तत्कालिन वडा नं. १३, १८ र १९ मिलेर बनेको यो वडामा पनि नेका र एमाले बीच नै प्रतिष्पर्धा हुने देखिन्छ । माओवादी यस वडा पनि नेका र एमालेबीच हारजीतका लागि प्रभावित शक्ति मात्र हुने देखिन्छ । एमालेले यस वडामा क्षेत्रीय सचिव ध्रुवराज न्यौपाने, बुनपा अनुगमन समिति सदस्य राजु अधिकारी, हरिराम ढुंगाना, खेम मिश्रमध्ये एकलाई उठाउने सम्भावना छ । यस वडामा ध्रुवराज न्यौपाने उठेमा विजयी हुने अनुमान गरिएको छ । न्यौपानेको नाम मेयरमा चर्चा रहेको बेला  जिल्ला खेलकुद विकास समिति अध्यक्षसमेत रहेका उनी वडाध्यक्षमा उठ्लान् वा नउठ्लान् भन्ने प्रश्न भने ठुलै छ । यस वडामा राजु अधिकारीलाई एमालले वडाध्यक्ष दिने सम्भावना धेरै भएको बताइए पनि हरिराम ढुंगाना वा खेम मिश्रलाई पनि वडाध्यक्ष उम्मेदवार बनाउन सक्नेछ । यो वडा बुनपामा सबैभन्दा धेरै नेका नेता भएको वडा बताइन्छ । नेकाले अच्युत पौडेल, राधेश्याम कार्की, रामकृष्ण केसीमध्ये कसैलाई उम्मेदवार बनाउने सक्नेछ ।

 
बुनपा वडा नं. १२ का लागि एमालेबाट शम्भु भट्टराईको नाम धेरै पहिलेदेखि चर्चामा रहेको छ । यस वडामा पनि नेकासँग नै एमालेको प्रतिष्पर्धा हुने देखिन्छ । माओवादी यस वडामा पनि अस्तित्वको लडाई लड्ने देखिन्छ । यस वडा शम्भु भट्टराई नै पहिलो रोजाई भए पनि देवेन्द्र थापा तथा पुरुषोत्तम नेपालको नाम पनि चर्चामा रहेको छ । वडा नं १२ का लागि नेपाली कांग्रेसले होमनाथ तिमिल्सिनाको विकल्प खोज्ने देखिदैन । तिमिल्सिनाबाहेक अरुले वडाध्यक्ष पदका लागि दावीसमेत गरेको देखिएको छैन । नेकाका तिमिल्सिना र एमालेका भट्टराईबीचको प्रतिपष्र्धामा लोकप्रियता र विकासका योजनाबीच प्रतिष्पर्धा हुने देखिन्छ ।

तपाइँको प्रतिक्रिया ।