निर्देशिकालाई उद्योग व्यवसायीले टेरेनन्

कपन अनलाइन 

काठमाडौँ, १६ फागुन । सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्सपेटी तथा पार्सलमा चेतनामूलक सन्देश चित्र तथा अङ्कित गर्ने निर्देशिकालाई कार्यान्वयनमा ल्याउन केही स्वेदशी उद्योग तथा व्यवसायीले नै अटेर गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ लाई कार्यान्वयन गर्न २०७२ जेठ १ गतेदेखि सो निर्देशिका कार्यान्वयनमा ल्याएको थियो । सो निर्देशिकामा विशेषगरी सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश चित्र तथा अङ्कित गर्नुपर्ने बाध्यकारी तथा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने प्रावधान रहेको छ ।

सूर्तीजन्य पदार्थ उत्पादन गर्ने स्वदेशी उद्योगले नै निर्देशिकालाई अटेर गरी कार्यान्वयन नगरिरहेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । कुन कुन उद्योगले अटेर गरिरहेका छन् भन्ने सार्वजानिक भने गरिएन ।

अर्काेतर्फ सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश राख्दा ती पदार्थको उपभोग गर्नेको सङ्ख्या आधा घटेको अध्ययनले समेत देखाएको छ ।

स्वास्थ्यसम्बन्धी अनलाइन ‘नेपाली हेल्थ’ तथा एक्सन नेपालद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार सरदर दैनिक ११ वटा चुरोट उपभोग गर्नेले अहिले पाँचवटामा झरेको अध्ययनमा देखिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा बर्सेनि सूर्तीजन्य पदार्थका कारण दैनिक अर्थात् १५ हजारको अकालमा मृत्यु हुने गर्दछ । मृत्यु हुनेमा अधिकांश ती पदार्थ सेवन गर्दा लाग्ने क्यान्सरकै कारण हुने गर्दछ । सङ्गठनले नेपालजस्तो विकासोन्मुख देशमा प्रत्येक छ जनामध्ये एकजना क्यान्सरका रोगी हुनसक्ने प्रक्षेपणसमेत गरेको छ ।

एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा सूर्तीजन्य पदार्थका कारण उत्पन्न हुने रोग देखा परिरहेको चर्चा गर्दै सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश चित्र तथा अङ्कित गर्नुपर्ने प्रावधानलाई कडाइ गर्न आग्रह गर्नुभयो ।

उहाँले स्वदेशी उद्योगले नै सरकारको प्रावधानलाई अटेर गरेको हुँदा स्वास्थ्य मन्त्रालयले अनुगमन गरी बाध्यकारी अवस्था सिर्जना गर्नुपर्छ भन्नुभयो ।

नेपाली हेल्थ अनलाइनका प्रधान सम्पादक रामप्रसाद न्यौपानेले स्वास्थ्य मन्त्रालयको नेतृत्व परिवर्तन भइरहँदा सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन २०६८ र नियमावली २०७२ आझेलमा पर्ने गरेको हुँदा सञ्चारमाध्यमले यसलाई उठान गर्न छाड्नु हुन्न भन्नुभयो ।

स्वास्थ्य मन्त्रालयका सहसचिव एवम् प्रवक्ता भोगेन्द्र डोटेलले सार्वजनिक स्थलमा धूमपान नियन्त्रण तथा नियमावलीको प्रावधानलाई कार्यान्वयन गर्न अनुगमनलाई अगामी दिनमा अन्तरमन्त्रालयको समन्वयमा चुस्त बनाइने जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रालयले हलसालै जारी गरेको मदिरा नीतिलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन मदिरा ऐन ल्याउन लागेको छ ।

वरिष्ठ श्वासप्रश्वास चिकित्सक करवीरनाथ योगीले क्यान्सर हुने प्रमुख कारण धूमपान नै रहेको चर्चा गर्दै यसले श्वासप्रश्वास, मुटु फोक्सोका विभिन्न रोग लाग्ने बताउनुभयो ।

कार्यक्रममा उपसचिवद्वय शम्भु रेग्मी र खेमानन्द भुसालले धूमपान नियन्त्रण गर्न ऐन, नियमको प्रभावकारी कार्यान्वयनको खाँचो औँल्याउनुभयो ।

सांसद राधाकृष्ण कँडेलले धूमपानले पार्ने असरका बारेमा ग्रामीण क्षेत्रमा सचेतनाका कार्यक्रम सञ्चालनमा जोड दिनुभयो ।

स्वास्थ्य तथा सचेतना मञ्चका अध्यक्ष टीका कँडेलले धूमपान नियन्त्रणसम्बन्धी ऐन तथा नियमलाई प्रभावकारी कार्यान्वयन गर्न अनुगमनको खाँचो औँल्याउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।