उत्पादन बढेपछि नश्ल सुधारमा आकर्षण

कपन अनलाइन 

इलाम, १९ माघ । स्थानीय जातको भन्दा नश्ल सुधार गरिएका पशुले उत्पादन बढी दिने गरेका कारण यहाँका किसान पशुको कृत्रिम गर्भाधानतर्फ आकर्षित भएका छन् ।

जिल्ला पशुसेवा कार्यालयका अनुसार बर्सेनि पशुमा कृत्रिम गर्भाधान गरी नश्ल सुधार गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।

अहिले गाई–भैँसीमा मात्र होेइन बाख्रामा समेत नश्ल सुधार भइरहेको छ । जिल्लामा गत वर्षको तुलनामा गाईमा कृत्रिम गर्भाधारण गराउने कार्य बढेको छ । यस वर्ष गत वर्षभन्दा एक हजार ४६७ बढी गाईमा कृत्रिम गर्भाधान गराइएको जिल्ला पशुसेवा कार्यालयका प्राविधिक डिकबहादुर कार्कीले जानकारी दिनुभयो ।

आव २०७३÷७४ को मङ्सिर सम्ममा पाँच हजार ९९५ गाईमा कृत्रिम गर्भाधान गराइएको छ । आव २०७२÷७३ सो अवधिमा चार हजार ५२८ गाईमा मात्र कृत्रिम गर्भाधान गराइएको थियो ।

चालु आवको मङ्सिरसम्ममा ३१९ भैँसीमा कृत्रिम गर्भाधान गराइएको छ । गत आवमा १८८ भैँसीमा मात्र कृत्रिम गर्भाधान गराइएको छ । यस वर्ष बाख्रामा कृत्रिम गर्भाधान बढेको छ । चालु आवको मङ्सिरसम्ममा ७० बाख्रामा कृत्रिम गर्भाधान गराइएको छ । गत आवमा ६७ बाख्रामा मात्र कृत्रिम गर्भाधान गराइएको कार्कीले बताउनुभयो ।

केही समय अघिसम्म गाईमा मात्र कृत्रिम गर्भाधारण गराउने गरिएको भए पनि अहिले भैँसी र बाख्राको कृत्रिम गर्भाधान गराउनेको सङ्ख्या बढिरहेको छ । पशुको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान गराउने किसानको सङ्ख्या बढेपछि पशुसेवा कार्यालयले गाविसस्तरमै पशु चिकित्सक खटाउन थालेको छ ।

तीन वर्षदेखि गाविसस्तरमा नश्ल सुधार र एआइ गर्ने ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता कार्यरत रहेकाले पशुमा कृत्रिम गर्भाधान बढेको हो । जिल्लाभर ४२ जना पशु स्वास्थ्य कर्मचारी कार्यरत छन् । कृत्रिम गर्भाधान र नश्ल सुधारका लागि जिल्लाभर मिसन एआइ १३ ठाउँमा रहेको छ । रासस

तपाइँको प्रतिक्रिया ।