अत्यन्त स्वास्थ्योपयोगी अम्बा


यो अम्बाको सिजन हो । जताततै अम्बा विक्रीको लागि राखिएको पाइन्छ । तर हामीमध्ये कतिलाई अम्बा मानव शरिरलाई अत्यन्त उपयोगी हो भन्ने थाहा नहुन सक्छ ।

अम्बा (Guava) स्वादिलो मात्रै हुँदैन । यो फल स्वास्थ्यको दृष्टिले समेत निकै उपयोगी हुन्छ । पौष्टिकता (Vitamins) ले भरिपूर्ण हुने अम्बालाई आयुर्वेदले अमृत फल भनेको छ । यो फल साँच्चै अमृत नै हुन्छ । पाकेको भन्दा काँचो अम्बामा भिटामिन सीको मात्रा बढी पाइन्छ । बिहान भोजन गर्नुअघि अम्बाको नियमित सेवन गर्नाले कब्जियतको समस्या दूर हुन्छ । अम्बा खाइरहने गरे शरीरमा सेरम कोलेस्ट्रोल घट्छ र उच्च रक्तचापको जोखिमबाट टाढै बस्न सकिन्छ । अम्बाको बीउ चपाएर खानाले पनि शरीरमा लौह तत्त्व (फलाम – iron) को पूर्ति हुन्छ ।

अम्बालाई कहिले पनि ताछेर खाने गर्नुहुन्न किनभने यसमा भिटामिन सीको मात्रा धेरै बढी हुन्छ । भिटामिन सी दाँत र गिजाको रोग तथा जोर्नीको दुखाइको उपचारमा निकै उपयोगी हुन्छ । पाकेको एक सय ग्राम अम्बा मात्र खाए पनि हामीलाई १ सय ५२ मिलिग्राम भिटामिन सी, ७ ग्राम पाचन क्रियामा सहायक रेसा, ३३ मिलिग्राम क्याल्सियम र एक मिलिग्राम फलाम प्राप्त हुन्छ । साथै यसमा फस्फोरस र पोटासियम धेरै ठूलो मात्रामा हुन्छ । यी तत्त्व शरीरलाई हृष्टपुष्ट बनाउन आवश्यक हुन्छ ।

पेट दुखेको बेला आरामका लागि अम्बा नुनमा चोपेर खाँदा तत्काल लाभ पुग्छ । रुघाका पुराना रोगीले अब्बा पोलेर तात्तातै नुन र मरिच सँगै खानाले फाइदा मिल्छ । चिनियाँ चिकित्सक अल्बर्ट विङ नङ लियाङले अम्बाको फल र पातको चूर्णको प्रयोगले मधुमेह हटाउन आश्चर्यजनक सफलता प्राप्त गरेका छन् । अम्बाको पात पानीमा उमालेर त्यसमा नुन हालेर अनुहारमा लगाउनाले डन्डिफोरबाट मुक्ति पाइन्छ । अम्बा कति गुणकारी हुन्छ भने यसको जरो, पात, बोक्रा सबै थोक औषधि बनाउन उपयोग गरिन्छ ।

तपाइँको प्रतिक्रिया ।