जातका कुरा
विकसित देशमा जातीय कुराहरू हुने गर्दैनन् । तर अविकसित देशमा जातीय राज्यका नाराहरू गुन्जिने गर्छन् । नेपालमा पनि जातीय राज्यको कुरा चर्किरहेको बेला हो यो । जातीय संघियताको कुरामा जातीय द्वन्द्वमा नेपालको अस्तित्वसमेत दाउमा रहेको विश्लेषकहरुले भन्दै आइरहेका छन् । यहि सेरोफेरोमा जातका बारेमा केहि महत्वपुर्ण कुरा यस लेखमा समेटिएको छ ।
-केशव पाठक
मानव सभ्यताको इतिहास आज पनि गम्भीर खोज र अनुसन्धानको विषय नै बनिरहेको छ। इतिहासविदहरूको अथक मेहनत, खोज र अनुसन्धानले केही तथ्यहरूलाई हाम्रा अगाडि ल्याएको छ। ती तथ्यहरू नै आज हाम्रो अतितलाई हेर्न, बुझ्ने र विश्लेषण गर्ने ऐना जस्ता भएका छन्। प्राज्ञिक मानव समुदायको चिया गफमा प्रायः यो भनाई एउटा कहावतका रूपमा लिने गरिन्छ। “जसले इतिहास जान्दैन, त्यसले वर्तमान बुझ्दैन। जसले वर्तमान नै बुझ्दैन त्यसले भविष्य जान्दैन।” यसले मानव जातिको व्यवहारिक जीवनमा समेत इतिहासले ठूलो प्रभाव पार्दछ भन्ने बताउँछ तर वास्तविकता यो छ कि इतिहासको बुझाई भविष्यको बुझाई वा आँकलन भन्दा कठिन छ।
मानव जातिको इतिहासमा पृथ्वीमा मानवको उत्पत्ति भएपछिको एउटा लामो काल आउँछ। इतिहासविद्हरूले त्यसलाई करिब दश लाख वर्षको अवधिको काल मानेका छन् (१) आदिम कालको लामो अवधिमा पृथ्वीमा रहेका मानवका बीचमा कुनै जातीय विभाजन थिएन। राज्य र त्यसका सीमाहरू पनि थिएनन्। मानव जाति छोटा–छोटा गण, गोत्र, कविला अवस्थामा रहन्थे। (२) मानव जातिको विकास असाध्यै ढिलो गतिमा अगाडि बढेको देखिन्छ। (३) पुरात्वविद्हरूले मानव जातिले प्रयोग गरेका उपकरणहरूको सामग्रीलाई हेरेर युगहरूको विभाजन गरेका छन्। ती हुन्– पाषण युग, कास्य युग र लोह युग। यो विभाजनलाई पर्याप्त मानिदैन किनभने इतिहासको सबभन्दा लामो युग नै आदिम युग थियो। (४) पुरातत्वविद्हरूले आजको मानव सभ्यतालाई नै छक्क पार्ने केही प्राचीन मानव सभ्यताको इतिहास पत्ता लगाएका छन्। जस्तो मिश्रको सभ्यता, मया सभ्यता, इगियन सभ्यता, सिन्धु सभ्यता, होवाङ्हो नदीको सभ्यता, ग्रीक, टाइग्रिस र युफ्रेटिक सभ्यता आदि पर्दछन्। ग्रीकबाट त आजको विश्वनै ऋणी छ।
मिस्र विश्वको सबभन्दा प्राचीन सभ्यताको केन्द्र मानिन्छ। (५) यिनै मानव सभ्यताको विकासक्रमसँगै राज्य, साम्राज्य र जातिहरूको अस्तित्व तथा विकास भएको पाइन्छ। यही राज्य, साम्राज्य र जातिहरूको विकास क्रममा प्राचीन बेबिलोनियाको कक्साइट साम्राज्यको पनि ठूलो महत्व रहेको छ। कस वा कक्साइट खस जातिकै प्राचीन नाम हुन्। (६) पश्चिम एसियाको मानव समाजको विकासमा यो जाति लडाकु, बुद्धिमान, चतुर र बिजेता जातिको रूपमा परिचित भइसकेको थियो। लगभग २९०० ई.पू.मा सुयोग्य सुमेरियोबाट आएको एउटा कविला जातिको स्थापित गरेको सभ्यतामा एकजना हम्बुरावी भन्ने राजा थिए। यो १००० वर्ष ई.पू.को कुरा हो। त्यतिबेलाको प्रचलित हम्बुरावी कानूनमा “जस्तालाई त्यस्तै खुनको बदला खुन” (७) भन्ने विधानमा आधारित न्यायप्रणाली थियो। यिनै हम्बुरानीका उत्तराधिकारी समसुलुनाले खस आक्रमणबाट जोगिन विशाल किल्ला बनाएका थिए। खसहरूको आक्रमण जारी रह्यो। सन् १७०० ई.पू.देखि ११५५ सम्म कसहरूले त्यही बेबिलोनियामा विजय प्राप्त गरेका थिए। ई.पू. १७०० देखि ११५५ सम्म कसहरूले त्यही बेविलोनियामा शासन गरे भन्ने ऐतिहासिक तथ्यहरू पाइन्छन्। यो जाति राज्य सञ्चालनको लामो अनुभवी र विधानमा समाजलाई परिचालन गर्न खोज्ने दक्षिण पश्चिम एसियाको पहिलो जाति मानिन्छ। खासस्तान, बडाखसान, हिन्दकुस, काशगर, कश्मिर खसाला, खसमण्डल, खसान आदि। भौगोलिक नामले खस समुदायका पूर्व प्रयाणका पद चिन्ह दर्शाउँछन्।
इतिहासमा खस
खसहरू आर्य भए पनि वैदिक आर्य होइनन्। (८) यिनीहरू इसापूर्व प्रथम शताब्दीतिर भारत वर्षमा–बिशाल नेपाल– प्रवेश गरेका थिए र इसाको पाँचौं शताब्दीतिर पश्चिम नेपालमा प्रवेश गर्न थालेका थिए। (९) यो तथ्यले नेपालमा अहिले बाक्ला बाक्ला तथा अन्य जातिहरूसित घुलमिल भई बाक्लै बस्तीमा रहेका आर्य खसहरू (बाहुन, क्षेत्री, ठकुरी, सन्यासी, आर्य दलित) बाह्रौ शताब्दीमा मात्र नेपाल आएका जाति हुन्। यहाँका रैथाने जाति होइनन् भन्ने कतिपयको तर्कले इतिहासका यी तथ्य प्रमाणहरूसित मेल खाँदैनन्। बाह्रौं शताब्दीको प्रारम्भतिर त नागराजले सिञ्जालाई (जुम्ला) खस साम्राज्यको राजधानी बनाइसकेका थिए। (१०) पश्चिम नेपालको सिञ्जालाई खस साम्राज्यको राजधानी बनाएर यो जातिले पन्ध्रौं शताब्दीको आरम्भसम्म करिब ३०० वर्ष शासन गरेको कुरा इतिहास बोल्दछ। नागराज क्राचल्ल, अशोक चल्ल, जितारी मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्ल आदि खस राजाहरूले पश्चिम नेपालमा साम्राज्य कायम गरेका थिए।
पृथ्वी मल्लको राज्यकाल (वि.सं. १३९५–१४४५) खस साम्राज्यको इतिहासमा उत्कर्ष र अवसानको दोसाध मानिएको छ। (११) पृथ्वी मल्लको अन्तिम समयतिर विखण्डित हुन थालेको खस साम्राज्य मलाय वर्माको राज्यकाल (वि.सं. १४३५–४६) पछि बिलायो। (१२) यसरी ई.पू. प्रथम शताब्दीतिर बेविलोनिया हुँदै पश्चिम एसियामा विस्तार हँदाहुदै भारत वर्ष छिरेका र इसाको पाँचौं शताब्दीतिर कास्मिरबाट पहाडको कछाडै–कछाडै कुमाउँ,गढवाल हुंदै पश्चिम नेपाल छिरेका खसहरूको साम्राज्य विलाए तापनि नेपालमा हजारौं वर्ष पुरानो रैथाने अस्तित्व खस जातिको पनि छ। खस साम्राज्यका सरकारी दर्जा तथा कर्णाली प्रदेशका गाउँहरूबाट खस जातिका थरहरू उत्पत्ति भएका छन्।
सामाजिक इतिहासमा नेपालका जातहरू
माथि नै बताइसकिएको छ कि खसहरू आर्य हुन् तर बैदिक आर्य होइनन्। एक समय खस साम्राज्यको राज धर्म बौद्ध थियो। राजा भारदार र सामान्य प्रजा समेत बौद्ध धर्ममा प्रवल आस्था राख्थे। (२५) तिब्बती लामाहरूका दृष्टिमा खसहरू बोधिसत्वतार नै थिए भने कुमाउँ र गढवालका हिन्दूहरूका अगाडि खसहरूले आफूलाई संस्कारका भक्तका रूपमा उभ्याउँथे। खसहरूमा कुनै धार्मिक वा रिवाजमा कट्टरता थिएन। त्यसैले अवैदिक आर्य भइकन पनि खसहरूलाई वैदिक आर्य बन्न वा हिन्दूकरण हुन असहज नभएको देखिन्छ। कुनै पनि धार्मिक वा साम्प्रदायिक जड्ता नभएको र संस्काकारमा समेत उदार हुनाले कुमाउँ हुंदै नेपाल पसेको खस जातिले नेपालमा प्रचलित रहेका मंगोलियनहरूलाई दशैं पर्व मान्न सिकायो भने मंगोलियनहरूले कुनै उत्सवमा निधारभरी चामलका अक्षता लगाउने प्रचलनलाई दशैंमा टिकाका रूपमा अनुसरण गर्यो। अहिले वर्णाश्रम र खानपानमा समेत मानव सभ्यताको आधुनिकतासँगै यो जातिले आफूलाई समय सापेक्ष बाटोमा सहजै ढाल्दै लगेको देखिन्छ।
प्राग एतिहासिक कालदेखि नै नेपालमा मानव जातिको बसोबास भएको थियो। नेपालका आर्य खस र मंगोल दुवै बाहिरबाट आएर बसेका जाति हुन्। मंगोलियन जातिको नेपाल प्रवेश मुख्यतः उत्तर र पूर्वोत्तर दिशाबाट भएको देखिन्छ। भने खसहरू पश्चिम नेपाल प्रवेश गरेका थिए। यी मुख्य जाति बाहेक अन्य जातिको अस्तित्व भएता पनि नेपाली समाजको मुख्य धारा निर्माणमा यी दुई मुख्य जातिको भूमिका रहेका देखिन्छ। यी दुई जाति मध्ये पुराणलाई छोड्दा नेपालमा मंगोलियन जातिको प्रवेश पहिले भएको देखिन्छ। (२६) सांस्कृतिक हिसाबले हेर्दा नेपाली संस्कृति मंगोलियन र खस आर्यहरूको मिश्रित संसकृतिको प्रतिमानका रूपमा उभिएको देखिन्छ। नेपाली संस्कृति कुनै जातिको प्रवेशले अर्को जातिको संघर्ष नेपालमा भएन। (२७) खसहरूले नेपालमा पहिले प्रवेश गरेका मंगोलियनहरूलाई लखेटेर जातीय राज्य खडा गर्ने काम गरेनन्। यहाँका आदिबासी, आर्य र मंगोलियनका बीचमा ठूलो मात्रामा जातीय संघर्ष भएन। दुवै जातिले प्रारम्भकाल देखि नै एक अर्काको अस्तित्व स्वीकारर्दै मेलमिलाप गरेर बसेको देखिन्छ। (२८) नेपालका यी जातिहरूका बचिमा र अन्य जातिहरूका बीचमा पनि सांस्कृतिक आदानप्रदान रहनसहनको लेनदेन तथा सद्भाव रहंदै आएको छ। नेपालको सामाजिक इतिहासमा यो सांस्कृति व्यावहारिक तथा मनोवैज्ञानिक संगमलाई नेपाली सामाजिक सभ्यताका रूपमा अरूले पनि मूल्यांकन गर्ने गरेका छन्।