संभावित स्थानीय चुनाव अन्तरपार्टी झडपको खतरामा

कपन अनलाइन, सम्पादकीय/ स्थानीय चुनाव ०७४ सालको बैशाखमा हुने प्रशंग चलिरहँदा चारैतिर स्थानीय निकायमा कुन पार्टीले बिजय हाशिल गर्छ होला भन्ने चासो तथा बहश शुरु हुन थालेको छ । राष्ट्रिय राजनीतिले स्थानीय निकाय चुनावमा पार्ने असर तथा व्यक्तित्वको लडाइँले पार्ने प्रभावका बारेमा पनि छलफल हुन थालेको छ ।

 

स्थानीय निकायको संरचना थोरै बनाइएपछि बढ्दो स्थानीय नेताहरुलाई कसरी भूमिकामा राख्ने भन्ने समस्यामा पनि राजनीतिक दलहरु देखिएका छन् । २० वर्षदेखि रिक्त रहेको स्थानीय निकायमा यति धेरै नेताहरु भैसकेका अवस्थामा उम्मेदवारको टिकटका कारणले पार्टीभित्र हुन सक्ने बगावतले कतिपय अवस्थामा पार्टीको जनाधारभन्दा व्यक्तिको छविले भूमिका खेल्ने अवस्था बढ्दै गएको छ ।

 

ठूला पार्टीहरुमा देखिएको अन्तरपार्टी गुटबन्दीका कारण पनि स्थानीय निकायमा पार्टीको हार र व्यक्तिको जीततिर राजनीति बहकिने सम्भावना देखिन्छ । सबै ठूला पार्टीहरुमा गुटबन्दीका धारहरु सामान्य कार्यकर्तासम्म पुगिसकेको हुँदा स्थानीय निकाय चुनावमा यसले भीमकाय रुप लिने धेरै विश्लेषकहरुले बताइरहेका छन् । पार्टीहरुको महाधिवेशनमा देखिएको गुटगत समस्याको वृहतरुप स्थानीय तथा प्रादेशिक चुनावमा विशाल समस्याको रुपमा आउन सक्ने पार्टीहरुले बेलाबेला उठाउने गरिरहेका छन् ।

 

नेपाली कांग्रेसभित्रका देखिएको ३ वटा राष्ट्रिय धारका साथमा स्थानीय नेताहरुको आफ्नो धारले पार्टीलाई तहसनहस पार्ने कुरा हालै भएको एक केन्द्रिय बैठकमा एजेन्डाको रुपमा उठेको थियो । त्यसैगरी एमालेभित्र देखिएको केन्द्रिय २ धार र स्थानीय नेताहरुको आफू मजबुत छु भन्ने धारका बीच स्थानीय र प्रादेशिक चुनाव ढुंगो चपाए सरह हुने देखिएको छ ।

 

अर्काे ठूलो पार्टी माओवादी केन्द्रभित्र नवप्रवेशीहरुको हालीमुहालीले पूराना दुःख पाएका नेतहरु कमजोर भएको विषय महत्वपूर्णरुपमा उठिरहेको छ । माओवादी केन्द्रको यो विषय स्थानीय निकाय चुनावमा हारजीतका विषय बन्ने निश्चित प्राय छ । त्यसैगरी हालै दुई पार्टी मिलेर बनेको राप्रपाभित्र पनि दुई पार्टीमध्ये कसले उम्मेदावार पाउने विषयमा ठूलो् द्वन्द्व हुने निश्चित देखिएको छ ।

 

स्थानीय निकाय चुनावको संभावना बढ्नु सँगै यसले पार्टीलाईभन्दा व्यक्तिलाई महत्व दिन सक्ने गरी स्थानीय निकायमा चहल पहल बढ्नु आफैमा गलत प्रकृया भए पनि लामो समयदेखि रिक्त रहेको स्थानीय निकायमा आफू सक्षम छुु भनेर हुने अन्तरपार्टी कसरतले पार्ने नकारात्मक असरप्रति पार्टी र ठूला नेता कति चिन्तित छन् आउँदा दिनहरुमा देखिएला ।

तपाइँको प्रतिक्रिया ।