बौद्ध प्रहरी वृत्तका नयाँ डिएसपि र कपनवासीबीच साक्षात्कार कार्यक्रम सम्पन्न
वृत्तमा नयाँ प्रमुखको आएपछि त्यस अन्तर्गत रहेका प्रभागहरुसँग भेटघाट गर्ने परम्परा अन्तर्गत भर्खर बौद्ध बृत्तमा सरुवा भएर आएका डिएसपि मनोज कुमार के.सी.ले कपनमा स्थानीयसँग अन्तक्र्रिया गरेका छन् । कपन प्रहरी प्रभागका प्रमुख नवराज ढुंगानाको अग्रसरतामा आयोजित कार्यक्रममा डिएसपि के.सी.ले हाल उपलब्ध प्रहरीका संयन्त्रबाट अधिकतम सुरक्षाको प्रत्याभूति दिन आफू तल्लिन रहने बताए । दशैं तथा तिहारका अवसरमा हुनसक्ने विविध सामाजिक सुरक्षाका समस्याहरुकासमेत केन्द्रित भएर स्थानीय र प्रहरीबीच तालमेल राम्ररी हुन सक्यो भने आपराधिक गतिबिधि धेरै हदमा न्यून गर्न सकिने बताउँदै उनले कपन प्रभागलाई अझ प्रभावकारी बनाउन के गर्न पर्छ भन्ने बारेमा स्थानीय राजनीति गर्नेहरु तथा सामाजिक संस्थाका प्रतिनिधिहरुसँग सुझाव संकलन गरे ।
कपन प्रहरी प्रभागको निर्माणाधीन दोस्रो तल्लामा आयोजित कार्यक्रममा कपनबाट सहभागिहरुले दुईवटा थप प्रहरी बिट राख्न आवश्यक रहेको विषयलाई महत्वका साथ उठाएका थिए । त्यसैगरी आपराधिक गतिबिधि डेरामा बस्नेहरुबाट हुने गरेकोले त्यसको न्युनिकरणका लागि पनि सजगता अपनाउन गर्न सकिने उपाएहरुका बारेमा पनि अन्तक्र्रियामा छलफल भएको थियो । नवयुवाहरुबाट पनि विभिन्न घटनाहरु हुने भएकोले उनीहरु र प्रहरीबीच तथा उनीहरु र जनताबीच कसरी आपसी सम्बन्ध विस्तार हुनसक्छ भन्ने बारेमा सहभागि युवाहरुले डिएसपिलाई जानकारी दिएका थिए ।
कपन प्रभागको गाडि विग्रिएको अवस्थामा रहेको र यस गाडिलाई इन्धन कपन गाविसले दिँदै आएको विषयलाई महत्वका साथ छलफल गरिएको थियो साथै कपन प्रभागको अन्य भौतिक सुविधाहरुको विषयमा नयाँ डिएसपिलाई जानकारीका साथ सुझाव संकलन गराइएको थियो ।
कार्यक्रममा करिब ३० जना स्थानीय राजनीतिक दलका तथा सामाजिक संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रममा सुझाव प्रस्तुत गर्नेहरुमा शिव बजगाईं, अच्यूत पौडेल, राजाराम बुढाथोकी, ध्रुवराज न्यौपाने, सुवास राई, बद्रि भट्टराई, सञ्जय अर्याल, आशिष गुरागाईं, मिठाराम अधिकारीलगायतका व्यक्तिहरु थिए ।