भैलो खेलेदै तुलसीपुरका पत्रकारले गरे,धर्मशालालाई ४० हजारको सहयोग
कपन अनलाइन , कत्तिक २०, तुलसीपुर ।
तुलसीपुरमा क्रियाशील पत्रकारहरुले भैलोबाट संकलित रकम सामाजिक कार्यमा प्रयोग गरेका छन् । सामाजिक कार्यको पहिलो चरणमा उनिहरुले तुलसीपुरको त्रिशेद्धेश्वरी धर्मशालामा ४० हजार रुपैंया बराबरको आठवटा बेडका सेट हस्तान्तरण गरे । भैलो टोलीका संयोजक सुरेस श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा एमालेकी सांसद अनारकली मियाँ,बिशिष्ट अतिथी प्रजातान्त्रिक उद्योग व्यापार संघका अध्यक्ष जनक खराल र अतिथि इप्रका तुलसीपुरका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाले धर्मशालाका अध्यक्ष देवराज धिताललाई आठवटा बलाङ्केट,आठवटा डसना,आठवटा तन्ना र आठवटा सिरानी हस्तान्तरण गर्नुएको थियो ।
नेकपा एमालेकी सांसद अनारकली मियाँ कार्यक्रममा मन्तब्य राख्नुहुदै फोटो : गणेश आचार्य / कपन अनलाइन , तुलसीपुर
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद मियाँले पत्रकारहरुले भैलो खेलेर संकलन गरेको रकम सामाजिक कार्यमा खर्च गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले परम्परा र संस्केतीलाई जोगाउँदै भैलो खेलेर संकलन भएको रकम सबैले सामाजिक कार्यमा लगाउने बताउनुभयो । सांसद मियाँले संबिधान कार्यान्वयनमा राजनीतिक दलहरुलाई दवाव दिन समेत पत्रकारहरुलाई आग्रह गर्नुभयो । बिशिष्ट अतिथी प्रजातान्त्रिक उद्योग व्यापार संघका अध्यक्ष खरालले सधै समाचार लेखेर जनतालाई सुसुचित बनाउने पत्रकारले संस्कृत जोगाउन भैलो खेलेर संकलन गरेको रकम सामाजिक कार्यमा लगाएर उदारहणीय काम गरेको बताउनुभभयो । त्यसैगरी डीएसपी तिम्सिनाले पत्रकारहरुले धर्मशालालाई सहयोग गरेर सामाजिक रुपमा आफ्नो दायित्व पुरा गरेको बताउनुभयो । भैलो टोलीका सदस्य गणेश आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गोपाल शर्मा भट्टराईले गर्नुभएको थियो ।
२० हजार रुपैंया पत्रकार राहात कोषमा जम्मा गरिने
यसैबिच,धर्मशालालाई सहयोग गरेर बचेको २० हजार रुपैंया नेपाल पत्रकार महासंघ दाङ शाखाले स्थापना गरेको पत्रकार राहात कोषमा जम्मा गर्ने भैलो टोलीले जनाएको छ । टोली संयोजक श्रेष्ठले बचेको २० हजार रुपैंया महासंघको राहात कोषमा जम्मा गर्ने जानकारी दिनुभयो । उहाँले भोली दिउँसो २ बजे घोराहीस्थित महासंघको कार्यालयमा अध्यक्ष सुदिप गौतमलाई उक्त रकम हस्तान्तरण गर्ने कार्याक्रम रहेकाले सबै पत्रकारलाई सहभागी हुन आग्रह गर्नुभएको छ ।