शुभकामनाको छन्दगान ! तिहार/दीपावली- कवि नारायण नेपाल
कपन अनलाइन, कात्तिक १४, २०७३
नारायण नेपाल चिनिएका कवि तथा गलजकार हुन् । उनी गद्य र पद्य दुवैमा कलम चलाउन सक्ने रचनाकार हुन् । उपन्यास तथा काथाकारितामा पनि दख्खल राख्छन् नारायण नेपाल । नेपालीहरूको महान् पर्व तिहारका अवसरमा कवि नेपालले लेखेको यो सान्दर्भिक कविता । अंग्रेजी भाषामासमेत कलम चलाउने कवि नेपालले यस कवितालाई शुभकामना छन्दगान भनेका छन् ।
तिहार/दीपावली
-नारायण नेपाल
नेपाल रम्ने परिवेश आओस्,
सम्पूर्णमा देश विकास पाओस् !
बाजा अनेकौँ तर गीत यौटै,
यो देश बोक्ने सह-प्रीत यौटै !
सँस्कार यस्तो कहिलै नजाओस्,
नेपाल रम्ने परिवेश आओस् !
पाखा-पखेरा-छहरा ठिकै हुन् !
खानी-बुटी-साधन ती निकै हुन् !
भूगोलले भाव यही समाओस्,
संसार ‘नेपाल’ सदैव गाओस् !
सम्पूर्णमा देश विकास पाओस्,
नेपाल रम्ने परिवेश आओस् ।
(यो देशमा नित्य सुशान्ति छाओस्!)
तपाइँको प्रतिक्रिया ।