बालमन्दिर विवाद: विवादित डंगोललाई बचाउन उपाध्यक्ष श्रेष्ठलाई हटाउने प्रपञ्च
कपन अनलाइन, १६ असार, २०७३
देशको महत्वपूर्ण संस्था बालमन्दिरलाई लामो समयदेखि विवादित विषयले घर बनाइरहेको छ । पुरातत्व विभागले स्वीकृत दिएपछि कुनै पनि कार्य गर्न पाउने क्षेत्रमा बालमन्दिरकी अध्यक्ष रिता सिंहले एकल निर्णयबाट २९ रोपनी जग्गा भाडामा लगाएको र सो वापत प्राप्त रु ७५ लाख संस्थामा नदेखिएको विषय गम्भीर बन्दै गएको छ । यो विषयलाई न्यूनिकरण कसरी गर्ने भनेर अध्यक्ष सिंहले विभिन्न व्यक्ति सल्लाह गर्दै आएकी छिन् । भरपर्दाे श्रोतका अनुसार सिंह यतिखेर मनोजकुमार मिश्रसँग १ वर्ष अघि उनले गरेको सो सम्झौतापत्र परिवर्तन गर्ने तयारी गरिरहेकी छिन् । यसका लागि उनी निकटका सबै मानिसहरु प्रयोग गरेकी छिन् ।
अध्यक्ष रिता सिंहको अत्यन्त निकटका व्यक्ति भनेर चिनिने निलम्बित कार्यकारी निर्देशक बालकृष्ण बैद्यको निलम्बन फुकुवा गर्ने तयारी गरिरहेकी छिन् । बैद्यलाई बालमन्दिरका बालबालिका बेचबिखनजस्तो संघीय विषयमा निलम्बनमा परेका छन् । गत बैशाखमा बालमन्दिरका उपाध्यक्ष तुलसी नारायण श्रेष्ठको नेतृत्वमा बनेको समितिले बालकृष्ण बैद्यसहितका कर्मचारीले संघीय अपराध गरेको भन्दै तत्काल कारबाही गरिनु पर्ने प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन पेश गरेको दुई महिना भैसके पनि वैद्य लगायतका सिनियर कर्मचारीलाई कारबाही गर्ने प्रकृया भने भएको थिएन । उनै वैद्यलाई पुनः निर्देशक पदमा ल्याउन अध्यक्ष रिता सिंह जोडघटाउमा व्यस्त रहेको एक बालमन्दिरका सदस्यले कपन अनलाइनलाई बताए । उनका अनुसार वैद्यलाई निलम्बन फुकुवा गर्न निलम्बन गरी बर्खास्त गर्नु पर्ने प्रतिवेदन पेश गर्ने उपाध्यक्ष तुलसी नारायण श्रेष्ठलाई उपाध्यक्ष पदबाट हटाउने तयारीसमेत अध्यक्ष सिंहले गरेको बताइएको छ । आज बैद्यको निलम्बन फुकुवा गर्न श्रेष्ठलाई उपाध्यक्षबाट हटाउने बैठक बस्ने कुरा ती सदस्यले बताए ।