कपन क्याम्पसमा श्याम डोटेलको मनोमानी, नेपाली कांग्रेस तनावमा !!

कपन अनलाइन २०७२/चैत -२२ / कपनको प्रतिष्ठा मानिने कपन बहुमुखी क्याम्पसको पहिलो साधारणसभा पश्चात बनेको नयाँ कार्यसमितिमा नेपाली कांग्रेसले पठाएको सदस्यहरुको विषयलाई लिएर नेका कपनभित्र तीब्र असन्तुष्टि सार्वजनिक भएको छ । बालउद्धार स्कूल व्यवस्थापन समितिका अध्यक्ष श्याम उर्फ डिल्लिप्रसाद डोटेलको एकल मनोमानीले पठाएको कमजोर पात्रहरुका कारण कांग्रेसको साख गिरेको भन्दै डोटेलको तिब्र आलोचना भएको हो ।

 

कपन क्षेत्रमा नेपाली कांग्रेसका शिक्षा क्षेत्रसँग बौद्धिक व्यक्तिहरुको जति पनि रहेको बेला आफ्नो जीवनमा मुस्किलले क्याम्पससम्म नटेकेका व्यक्तिहरुलाई डोटेलले एकलौटी पठाएपछि उनको राजनीतिमा पनि ठूलो घाटा हुने देखिएको छ ।
भर्खर राजनीतिमा भविष्य खोजिरहेको डोटेलले गरेको एकलौटी कदमबाट कमजोर व्यक्ति पठाइएको भन्दै कपन क्षेत्रका  नेपाली कांग्रेसका बौद्धिक व्यक्तिहरुले क्षेत्रीय सभापति राजु श्रेष्ठ तथा सभासद गगन थापासम्म पुगेका छन् । डोटेलले क्याम्पस व्यवस्थापन समितिमा वरिष्ठ व्यक्तिको रुपमा मनोनित गर्ने कोटामासमेत आफ्ना पूराना साथी कार्पेट फिटिङमा ठेक्कापट्टाको काम गर्ने स्थानीय स्तरका नेका नेता टंक सोपकोटालाई ल्याएपछि असन्तोष सतहमा आएको हो । ‘कपन कांग्रेसमा पढेलेखेको मान्छे नै नभएको जस्तो भो यो त’, एकजना कपनका स्थानीय नेका कार्यकर्ताले कपन अनलाइनलाई बताए ।

नेपाली कांग्रेसभित्र यी नियुक्ति गरिएका व्यक्तिहरुलाई फिर्ता बोलाउने बारे पनि कुरा चलेको छ । एमाले, एमाओवादीलगायतका पार्टीहरुले पनि नेपाली कांग्रेसलाई ती व्यक्तिहरु फिर्ता बोलाउन दवाब दिएको बुझिएको छ ।
डोटेलले एकलौटी रुपमा कपन कांग्रेसका तर्फबाट कपन क्याम्पसमा नियुक्ति गरेका व्यक्तिहरुमा पुस्कर चालिसे, किशोर गुरुङ र विनोद चालिसे हुन् । नियुक्ति भएका विनोद चालिसे शिक्षक पृष्ठभूमिका भए पनि नेका क्षेत्रीय सचिवसमेत भएकाले चालिसेले व्यवस्थापन समितिमा र्याल चुहाउँदै आएकोमा समेत तीव्र आलोचना भएको छ ।

कपन क्याम्पसको नियुक्तिका कारण चियापान कार्यक्रमसमेत रोकियो

श्याम उर्फ डिल्लि डोटेललाई बुनपा वडा १२ मा नेकाको इकाई सभापति बनेपछि चरम महत्वाकांक्षी बनेको आरोप लागेको छ । बालउद्धार स्कूल व्यवस्थापन समितिका अध्यक्ष, वडा नागरिक मञ्च १२ वडाका संयोजकसमेत रहेको डोटेलको महत्वाकांक्षाप्रति उनकै वडामा व्यापक बिरोध भएको छ । यही विरोधस्वरुप यस वडामा बैशाख २० गते शनिवार हुने भनिएको बृहत चियापान कार्यक्रमसमेत रोकिएको छ । डोटेलको एकलौटी प्रवृतिको बिरोध धेरै हुन थालेपछि चियापान कार्यक्रम नै बिथोलिने वा बिग्रने देखिएकोले कार्यक्रम रोकिएको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।