संविधान संशोधनको प्रक्रियाबाट समस्या समाधानमा जोड

काठमाडौँ, २ पुस । विभिन्न राजनीतिक दलका नेता तथा अधिकारकर्मीले संविधान संशोधनको प्रक्रियाबाट मुलुकका विद्यमान समस्या समाधान गर्न सुझाएका छन् ।

नेपाल भारतमैत्री समाजले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले अधिकारका लागि मधेसमा भइरहेको आन्दोलनलाई देशभित्रबाट नै समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

केही वक्ताले अहिलेको संविधानले सबै जनतालाई लोकतान्त्रिक अधिकार प्रदान गरेको धारणा राख्दै संविधानप्रति असन्तुष्टि राख्ने पक्ष तथा मधेसी आन्दोलनकारीले राखेका मागमध्ये सम्भव भएका केही माग संविधान संशोधनको प्रक्रियाबाट हल हुने विश्वास व्यक्त गर्नुभयो ।

अधिकारकर्मी दमननाथ ढुङ्गाना, डा सुन्दरमणि दीक्षित, मल्ल के सुन्दरलगायतले मधेसलाई अधिकार प्रदान गर्दा साम्प्रदायिक हिंसा नहुने विचार व्यक्त गर्दै त्यहाँ बसोबास गर्ने मधेसी, पहाडी र हिमाली जो कोहीलाई पनि राज्यको मूलधारमा ल्याउनका लागि उनीहरुको सुरक्षा तथा आवश्यक अधिकार उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसी र डा मीनेन्द्र रिजाल, एनेकपा (माओवादी)का नेता दिनानाथ शर्मा र नयाँ शक्ति अभियानका नेता देवेन्द्र पौडेल, मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव, सङ्घीय समाजवादी राष्ट्रिय गठबन्धनका नेता शरत्सिंह भण्डारीलगायतले थारु, मधेसी, जनजाति सबै नेपाली भएकाले उनीहरु सबैलाई अधिकारसम्पन्न बनाएर मात्र देशको राष्ट्रियतालाई एकताबद्ध बनाउन सकिने धारणा राख्नु भएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।