फूलको जिन्दगी : त्रिलोचन आचार्य ( कविता )
कपन अनलाइन
काठमाडौं, असोज ३ ।
जिन्दगी घामको तातिएरै गयो
जिन्दगी यामको लाटिएरै गयो
बाँड्छ माया मिठो मूलको जिन्दगी
हुन्छ राम्रो सधैँ, फूलको जिन्दगी ।१।
जिन्दगी बोटको उभ्भिएरै गयो
जिन्दगी नोटको दौडिएरै गयो
टाँगिएरै गयो रातको जिन्दगी
छर्छ बास्ना मिठो फूलको जिन्दगी ।२।
मृत्यको गान हो भेलको जिन्दगी
व्दैषको स्थान हो झेलको जिन्दगी
टुट्नु पर्ने चुँडी आशको जिन्दगी
मात्र राम्रो सधैँ फूलको जिन्दगी ।३।
छैन किल्ला कुनै शत्रुको घेरिने
छैन स्वार्थीपना द्वन्द्वले बेरिने
छैन कालो कुना चित्तमा दौडिने
शान्तिको बास हो फूलको जिन्दगी ।४।
चोट के खोट के जिन्दगी रङ्ग हो
छर्नु हाँसो खुसी फूलको ढङ्ग हो
मात्र बाँड्ने बसी प्रेरणा ताजगी
सिर्जना होस् त यै, फूलको जिन्दगी ।५।
बोल्न मात्रै भयो ओठको जिन्दगी
ओड्न मात्रै भयो कोटको जिन्दगी
बित्छ भै छट्पटी भूलको जिन्दगी
फूर्तिलो चम्किलो फूलको जिन्दगी ।६।
बाँच्छ नानीसँगै प्रेमको जिन्दगी
हुन्छ आमासँगै स्नेहको जिन्दगी
चाँदनी साँच्दछे शान्तिको जिन्दगी
देख्न सक्ने बनौँ, फूलको जिन्दगी ।७।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
