चार मुक्तक : बिमला खड्का

चार मुक्तक : बिमला खड्का

कपन अनलाइन

काठमाण्डौ,असार २०।

मुल्य हिन आँसु कति झारेँ जिन्दगीमा
कैयौं रहरहरु नचाहेरै मारेँ जिन्दगीमा
भन्नेले त भन्थे कहिले आउँछ खुसीहरु,
मैले भोलि भोलि भन्दै टारेँ जिन्दगीमा ।

कसैको हातमा खेलाइने तास हैन जीवन
मात्र झुपडी र महलको बास हैन जीवन
यो आफैमा अमुल्य र अनमोल छ हजुर,
रहस्य बुझ्नुपर्छ कसैको दास हैन जीवन ।

सत्य बोल्छु तर चित्त नदुखाउनु है मित्र
मनै दुखेपनि कसैलाई नसुनाउनु है मित्र
समाजको भलो चाहने बिद्रोही हु म त,
मेरा तिता शब्द पढ्न नछुटाउनु है मित्र ।

समय आफ्नै गतिमा चल्छ भन्ने सुनेकी छु
ढुङ्गा पनि माया गरे गल्छ भन्ने सुनेकी छु
यहि माटोमा पसिना पोखे देश हाँस्छ रे,
परिश्रम गरे हिरा नि फल्छ भन्ने सुनेकी छु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।