आत्मदाहको विपक्षमा अपील : त्रिलोचन आचार्य ( कविता )
कपन अनलाइन
काठमाडौं ,साउन २।
१. तुषारोले झरे पात मुना फेरि पलाउँछन्
साँझ अल्पेर के भो र ?घाम फेरि उदाउँछन्
हार्दैन खहरे सुक्दा फेरि बग्दछ कल्कल
लडेर पौरखी मान्छे पर्दैन कहिल्यै तल
२. सक्दैन रातले छोपी हाँस्दै बिहान आउँछ
हाँगामाथि बसी पंक्षी सुरिलो गीत गाउँछ
भाँचोस् बतासले हाँगा अर्को हाँगा पलाउँछ
आँधी हुरी सही फेरि सिर्जना झल्मलाउँछ
३. निराशा रोप्छ काँडाले फूलले दिन्छ प्रेरणा
भत्काउँछ कठै बाढी गर्छ बादलले गुन
शक्तिशाली सबै तारा डुक्रन्छन् चम्किँदै तर
कुल्चिए सबले भन्दै कहाँ हार्छिन् बसुन्धरा ?
४. हामीले नै दियौँ लाखौँ चोट माटो छ कञ्चन
डढाएर डँडेलोले हार मान्दैन त्यो वन
आगो सङ्घर्षमै बल्छ वेगमा बलियो जल
कत्रो सङ्घर्ष टारेर फलेका छन् मिठा फल
५. भत्किएमा बनाइन्छ अनेकौँ पल्ट त्यो कुलो
दुख्ख दिनेहरु दिन्छन् जितेर हिँड्नु हो ठुलो
नदी सागर पुग्दैन दुख्खले नबगीकन
थालको भात खाइन्न हातले नलगीकन
६. खुट्किला यत्नका चढ्दै आमा सङ्घर्षले बनिन्
मुछी रगतका थोपा नेपाल जननी बढिन्
सुखले बाँच्छु भन्नेले जँगार तर्न सक्छ र ?
लुकेर पर बस्नेले उज्यालो छर्न सक्छ र ?
७. कहाँ भाग्ने ?यहीँ हाँसौँ् नाचौँ सङ्घर्ष यैँ गरौँ
सुनौला पसिना थोपा धरामा चम्किँदै छरौँ
परेर हिउँको भारी अग्ला चुली कहाँ गले ?
गरी सङ्घर्ष उठ्नैछ सबैले जोडतोडले
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
