सहयोग कि पाप : बालकृष्ण गजुरेल (लघुकथा)

सहयोग कि पाप : बालकृष्ण गजुरेल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ९ ।

“दाइ मलाई सहयोग गर्नुस् न !” एक अर्ध बैँशे महिलाले अचानक अस्पताल लैजान आग्रह गरिन् ।
म बुढानिलकण्ठको गेटमा अलमल परेँ । आपतमा परेको मान्छेलाई सहयोग गर्नु पर्छ भन्ने सोचेर मैले उनलाई कालीमाटीको एक अस्पतालमा छोडिदिएँ । म हिँड्न खोज्दै थिएँ । उनले जिध्दि गरिन् ।
“मलाई घर जानू छ बैनी म गएँ ।” मैले बाध्यता पोखेँ ।
उनले झण्डै रुन आँटिन् । म बाध्यतामा परेँ । उनले पुनः बिनय गरिन्, “कृपया मलाई जहाँबाट ल्याइदिनु भयो उतै पू¥याइदिनुस् न ! “
“त्यसो भए हिँड ।” म हिँड्न खोजेँ ।
उनले केही क्षणमा जाने निधो गरि गेटभित्र लगिन् । दुइचार जना मान्छे थिए । डरडर लाग्यो । लिफ्टमा चढेर पाँचौ तल्ला पुगियो । बाहिर बच्चा नहुनेहरूको उपचार लेखिए पनि भित्र नानाथरी हुने रहेछ । भ्रुण देखि अन्य खरिद बिक्रीमा ।
एक महिला चिच्याइन्, “ऐया आमा ।”
म झनै डर र त्रासमा रुमलिएँ । ती यूवतीते नर्सले भने झैँ औँठा छाप लगाइन् र भित्र पसिन् । उपचार गर्न कस्तो औँठा छाप ? मन भरी प्रश्न तेर्सिए । आधा घण्टा पछि ती खोच्चाउँदै बाहिर निस्कीन् । एवोर्सन गरेको अड्कल काटेँ । म सोफाबाटै सोचमग्न भएर हेरिरहन बिवश थिएँ ।
पाँचतला झरेर मोटरसाइकल स्टार्ट गरेँ । तीनले भनेकै ठाउँमा बुढानिलकण्ठकै गेटमा छोडिदिएँ । हिँड्ने बेला तीनले दुई हात जोडेर भनिन्, “हजुरको सहयोगको लागि बिबेष धन्यवाद ।”
उनले सहयोग गरेकोमा धन्यवाद त दिइन् । म भनेँ सोचमग्न भएँ । मेरो मनले प्रश्न गर्यो, “मैले सहयोग गरेँ कि पाप ?”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।