एक जोडी ढुकुर, राजा र सुन्दरी : बुद्धिमान महर्जन (कथा)
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ९ ।
आकाशमा कालो बादल मडारिएको छ । रातभरि आफूसँग जोडा मिल्ने अपरिचित ढुकुर्नीको कल्पनामा उज्यालो भएको भाले ढुकुरको आँखामा यतिखेर अँधेरीले ढाकेको छ । हावाहुरी र पानीले आजको दिन ढुकुर्नीसँग भेट नहोला जस्तै देखिँदै थियो । ऊ बारम्बार आकाशतिर हेर्छ । आकाशमा बिजुली चम्कदै थियो, अनि ऊ भित्रको आशालाई धमिलो बनाउँदै थियो । पेटमा भोक पनि बढेको छ । ढुकुर्नीसँग उडान भर्दै, मीठा मीठा निवाला टिपी रमाइलो गर्दै बिताएका दिनको सम्झनाले भाले ढुकुरलाई बारम्बार झस्काइरहेको छ । दिनको शुरूवात यसै पनि रमाइलो थिएन । जहाँ इच्छा त्यहाँ उपाय ।उसले ढुकुर्नीलाई भेट्नु नै थियो । नयाँ ठाउँ, नयाँ पाहुना अनि ढुकुर्नीमा रहेको नयाँ आकर्षण; उनको हालचाल बुझ्नु नै थियो । ऊ ढुकुर्नीको डेरातिर लाग्छ । मौसमको पर्वाह नगरी ।
अर्कोतर्फ कुनै अर्को जंगलबाट आएकी ढुकुर्नी आफ्नो डेराको पातका आँखीझ्यालबाट आकाशको कालो बादललाई नियाल्दै पेटको भोकलाई धैर्यताको सान्त्वना दिएर समयले ल्याएको प्रतिरोधको विवशतालाई स्वीकारेर ढुकुर्नी अपरिचित भाले ढुकुरको अनौपचारिक निःस्वार्थ सहयोगमा आफुले पाएको नयाँ जीवनप्रति अनुग्रहित हुँदै थिई । हरेकदिनको प्रेमील साथपछिको रातका कल्पनाले उसको मनभित्रका हिउँका तहहरू पग्लिदा र जंगली ढुकुरको समीप हुँदा आफूलाई सुरक्षित ठान्थी, नदीजस्तै चञ्चल भई बहन्थी । ऊ तराइको फाँटजस्तै उखरमाउलो गर्मीले तड्पिन्थी ।उसको स्नेही भावनामा चञ्चलता भर्दै झरनाजस्तै टुट्दैथिई प्रेममा पग्लदै । ढुकुर्नीकोलाई यो जंगलको मौसम नयाँ थियो । पेटको भोकले आफूलाई जति चिथोरेपनि ऊ शान्त थिई । ऊ आफ्ना आँखा चिम्लेर अपरिचित भाले ढुकुरको यादमा थिई ।सायद मायाप्रेममा थिई । आकाशमा छिनछिनमा चम्केको बिजुलीको गर्जनले उसको ध्यान क्रमशः भङ्ग हुन्थ्यो । आकाशको बादल नियाल्ने क्रममा यतिखेर उसको आँखा आफ्नो डेरा बाहिर उभिएको जंगली ढुकुरमाथि पुग्यो । उसलाई लाग्यो यतिखेर उसको सम्झना र सपना पूरा हुँदै थियो । सारा संसार उसको सपना पूरा गर्न बल गर्दैथ्यो । उसको मनको पुकार आँखा सामु थियो । ढुकुर्नी निक्कै खुसी भई । एकै समयमा उसको पेटको भोक र मनको प्यास एकसाथ मेटिँदैथ्यो । तर ढुकुर्नीमा अव्यक्त लज्जा थियो, प्रेम प्रकट गर्न असफल ।
ढुकुर्नी मनमा ठूलो उत्साहका साथ आफ्नो डेरा बाहिर निस्की । सत्कारको लागि भान्छामा केही छैन । यताउता गरी डुलेर निवाला जुटाउनुपर्ने आकाश पन्छीको बाध्यता छ । दुबैको आँखा जुधाइमा ढुकुर्नीको आँखामा तैरिएको लज्जाको लालिमाले भाले ढुकुरको मनभित्र उत्साह जगाउंँदै थियो । प्रेमील संवादमा ढुकुर्नी पनि आफ्नो भोक र प्यास भुल्दैथिइन् । मनको तरङ्गले एक अर्कालाई छुँदैथियो । रातको कल्पनामा चम्केको तारा यतिखेर एक अर्काको नजर सामु थियो । दुबै खुसी थिए । तर दुईबीचमा अझै बाटो नभेटिए जस्तै प्रेमको हुरी चलिरहँदा पनि रूखको पात झर्न नसकेजस्तै उनीहरू अलमलमा थिए ।
आकाशमा कालो बादलले ढाकी नै रहेको थियो । तर दुबैजनाको मन उज्यालो थियो । पहिलो भेटमा आफ्नो आँखाले पिएर मनको तृप्ति मेट्ने चाहना बोकेको ढुकुरले यतिखेर ढुकुर्नीको साथ पाएको छ । पेटको भोकले भनौं या प्रेमको ज्वालाले । भाले ढुकुर पराई ढुकुर्नीलाई सधैंको भेटमा जस्तै भोकको निवालामा लैजान खोज्छ र आग्रह गर्दै भन्छ– “आज ठुलै पानी पर्लाजस्तो छ । बरू यतै कतै नजिक निवाला टिप्न निस्कने हो कि ?” पहिलो भेटको गिद्धे नजरमा कामुक जस्तो देखिने भाले ढुकुरप्रति ढुकुर्नी आफूलाई सुरक्षित महसुस गर्छे । आज अपरिचित भाले ढुकुरको सुन्दरता जत्तिकै उसको मोहक स्वर सुन्न पाउँदा ढुकुर्नीको मनभित्रको नौनी एकैसाथ पग्लेजस्तै भान हुँदैछ । ढुकुरको आग्रह स्वीकार गरेर दुवै नजिकको मैदानी जंगलमा टहल्दै भोकले साँघुरिएको पेटमा मीठा मीठा निवाला भर्छन् । भाले ढुकुर सधैंझैँ घरिघरि पराई ढुकुर्नीलाई हेर्दै निवाला टिप्दै थियो । अञ्जान जंगलमा जंगली ढुकुरबाट मनभित्र उत्पन्न भएको डरले जंगलको ठूलो रूखको पातमा आफू सुरक्षित हुन चाहेकी ढुकुर्नी यतिखेर ढुकुरको आत्मीयतामा सहजता पाएझैँ गरि, ऊ पनि त्यस मैदानी जंगलमा ढुकुरलाई हेर्दै निवाला टिप्दै थिई । दुबैजनाको हेराइमा सम्मोहन देखिन्थ्यो । जंगली ढुकुरको सुन्दरता र कोमल मनले ढुकुर्नीको अनुभूतिमा ऊ ढुकुरको एकत्रित निश्चल भावनामा वरको जोडी पीपल बनी प्रेमको एउटा काल्पनिक माला बुन्थी । आज आकाशलाई कालो बादलले ढाँकीरहँदा पनि वर्षात हुन नसकेजस्तै ढुकुरको मनभित्रको ईन्द्रदेव गर्जनाहट वाण ऊतिर नसोझिँदा ढुकुर्नीको मनभित्रको प्रेमको बादल फाँट्न सकिरहेको थिएन । सधैं सधैं भेटे पनि उनीहरू मेलामा भेटेका अञ्जान पन्छीजस्तै अझै एक अर्काको मौलिक परिचयबाट टाढा थिए ।
प्रेमको उचाइले सिमाना नाघिसकेको थियो । प्रेमभाव बढेसँगै ढुकुर्नी आफ्नो परिचयसँगै ढुकुरलाई प्रश्न गर्छे – “मित्र, म सुन्दरी ! मलाई मेरो भाउजुले राखिदिनु भएको नाम । दाजुले भाउजू बिहे गरेर ल्याएदेखि मलाई सबैले यहीँ नामबाट बोलाउने गर्थे । अनि तपाईको नाम के हो नि ?’’
“आहा ! तिम्रो भाउजुले रूपजस्तै सुहाउँदो नाम राखिदिनु भएको रहेछ ।’’ सुन्दरीको हँसिलो मुहार र आकाशमा बादल खुलेजस्तै मुस्कानले भाले ढुकुर गदगद हुन्छ । अनि पुनः कुराको सन्दर्भ बढाउन सुन्दरीको प्रशंसा गर्दै ऊ आफ्नो विगतको वास्तविकता बताउन थाल्छ – “वास्तवमा मलाई मेरो नाम नै थाहा छैन । घरमा हुँदा आमाबुबा सबैको ठाडो बोली नै हुने गर्दथ्यो । नाम लिएर बोलाउने चलन नै थिएन । म सानो छँदा,घर वरिपरिका गाउँलेले – ए माझी औंला भनी बोलाउँथे म त्यही नाममा रमाउथेँ । जसै मैले आफ्नो घर परिवार र गाउँ छाडी म यस जंगलमा आएँ घरको बोझबाट मुक्त भएँ । म यस खुल्ला जंगलमा मैले आफैलाई राजा भएको महसुस गरें,र यहाँका साथीहरूका माझ यही राजा नामबाट चिनिन थालें ।’’
“आहा! कति राम्रो नाम, राजा!’’
राजाको मीठो बोलीको साथै कुरा पनि उत्साहजनक थियो । सुन्दरी राजालाई अझ उत्सुक हुँदै सोध्छे “अनि राजाजी ! तपाईको वास्तविक जन्मस्थान कुन हो नि ? यहाँ कसरी आइपुग्नुभयो ?’’
वार्तालापले चिसो मौसम पनि रोचक बन्दै थियो । ऊसँग मनको बह पोख्ने राजाको धोको यतिखेर पूरा हुँदैथ्यो । राजा उत्सुकताका साथ आफ्नो जीवन कथा बताउन थाल्छ” म विकट गाउँमा जन्मेको हुँ । पाँच दाजुभाई मध्येको साहिँलो म ! त्यसैले पनि होला मलाई माझी औंला भन्ने गरेका थिए । व्यस्त गाउँ बिग्रदै गएको वातावरण अनि ठाउँको खुम्चाइले मलाई सधैं निसास्सिए जस्तो लाग्थ्यो । गाउँमा रहेका साथीहरू आ–आफ्नो परिवारसहित अन्य गाउँतिर लाग्दै थिए । म सानो छँदा नै जुरेली चरो,धोबी चरो,चिबे चरो र अन्य साथीहरू लगायत नदी किनारा छेउको रूख बुट्यानमा लुकी खेल्ने फिस्टे चरोले पनि आफूहरू खेल्ने स्थान मासिँदै गर्दा उसले पनि गाउँ छाडिसकेको थियो । हेर्दाहेर्दै गाउँले आफूलाई परिवर्तन गर्दै गर्दा अग्ला अग्ला रूख बुट्यानहरू फाँडिदै भुइँमान्छेको स्वार्थमा बनेको सिमेन्ट र बालुवाको चिल्ला अग्ला महलले आकाश परी खेल्ने गाउँको खेतीबारी खुम्चँदै थियो । समयले ल्याएको परिवर्तनमा रमाएको गाउँमा गाडी र कल–कारखानाहरूले दिन दिनै उडाएको धुलो र असह्य ध्वनि प्रदूषणले वायुमण्डल विशाक्त भइरहेथ्यो । वातावरणको यो विनाशले पन्छीहरूलाई बाँच्न,रम्न र उड्न निक्कै गाह्रो बनाइरहेको थियो । यस्तै वसन्त ऋतु बोकेर आउने सुगा बस्ने रूख बुट्यानको अभाव र बारीको डिलमा काँडाघारी मात्र बढ्दै थिए । ऐतिहासिक पोखरीलाई आलिसान भवनले ढाकेसँगै टाढा टाढादेखि आफ्नो यात्रा गर्न आउने पानीहाँसको हुलले पनि गाउँलाई बिर्सदै थिए । केही भँगेरा, परेवा अनि तिहारमा देउसी,भैलोलाई स्वागत गर्ने कागजस्ता अन्य केही जातका साथीहरूलाई छोडी अरूले जस्तै मैले पनि गाउँलाई छाडेर खुल्ला आकाशको मार्ग लिई म यो जंगलमा आइपुगेको थिएँ । उता गाउँमा ठूलो भूकम्प आएछ । भूकम्पले पुराना घरहरू भत्कँदा घरको दलानमा रहेको हाम्रो बास पनि भत्केछ । मेरा दाजुभाई पनि कतै सुरक्षित हुने ठाउँको खोजीमा त्यो गाउँबाट निक्कै टाढा पुगेको खबर आको थियो । आफू जन्मेको बासस्थान नै नभएपछि म फर्किन चाहिनँ । थाहा छैन, बाँकी साथीहरू त्यस अव्यवस्थित गाउँको धुलो र धुवाँमा कसरी बस्दैछन् । तिनीहरू मरे या अन्तै सरे ।सायद त्यहाँ समय अझै अन्धकारमय भएको छ होला । अनि सुन्दरी ! सुनाऊ न तिम्रा कथाहरू पनि ।’’
राजाको प्रश्नले एक तमास कुरा सुनिरहेकी सुन्दरी झस्किन पुगी । राजाको वास्तविक कुरा सुनेर लामो श्वास लिँदै भन्छे – झझराजाजी ! मेरो कहानी पनि उस्तै हो । जब त्यहाँ गाउँ थियो ,त्यो समयको चिरबिराहट, प्रकृतिको सुर,संगीत र गीत एकादेशको कथा भएको थियो । म जति सरल र सामान्य देखिन्छु, मभित्रका पीडाहरू गंगाको गहिराइभन्दा पनि जटिल छन् । म पनि कुनै जंगलमा नै जन्मेकी हुँ । सायद तपाईले भनेकै भूकम्प हुनुपर्छ । त्यो भूकम्पमा परी गुँड लगाएको रूख भाँच्चिदा उड्न नसक्ने मेरा वृद्ध आमाबुबाले परलोकको बाटो समाते । मेरो बुढा, आमाबुबालाई एकैसाथमा लग्यो । अनि, केही वर्ष अघिको एक साउनमा एक परदेशीसँग मेरो बिहेको कुरा पनि चल्दैथ्यो । नीलो आकाशजस्तै मेरो मनले कल्पनाको एक कुनामा स्वप्निल माला पनि गाँस्दैथ्यो । तर परदेशमा रहेका मेरो हुनेवाला जीवनसाथीले अकालमा ज्यान गुमाए । सायद कुनै दुर्घटनामा परेका थिए होलान, मसँग श्रद्धाञ्जली बाहेक स्वागतका लागि अर्को फूल थिएन । मैले आँसुका फूल चढाउनु प¥यो । यता बाबू आमाको पीडा र उता हुनेवाला जीवन साथीको अन्त्यको कथा ! तर पनि दाजुभाउजूको सहारामा जिन्दगीको पछ्यौरा बुन्दै थिएँ । पुनः ममाथि अर्को बज्रपात आई प¥यो । विश्वभरी फैलिएको कुनै महामारी रोगले आक्रमण शुरू गरेलगतै हृदयरोगी मेरी आमासमानकी भाउजूलाई घिटिघिटी पार्दै कालले लग्यो । शारीरिक थकान र मानसिक पीडाले कमजोर बनेका दाजुलाई पनि महामारीले भाउजूसँगै लग्यो । समय बित्दै थियो, ममाथि परिआएका भयावह परिबन्धले मलाई जंगल एक मसानघाटजस्तै लाग्दैथ्यो । दिनरात आफन्तको शोक र हुनेवाला जीवनसाथीको यादले मलाई त्यो जंगलमा बस्न दिएन र मनको आनन्दको खोजीमा रित्तो झोला बोकी मैले पनि खुल्ला आकाशको बाटो समाई यहाँ आइपुगें । यो अपरिचित जंगलमा तपाईलाई भेटें राजा जी ! म तपाईप्रति निक्कै आभारी छु ।’’
सुन्दरी आफ्नो वास्तविक जीवन कथा सुनाउँदा भावुक हुँदै थिई । सुन्दरीको मन अझै हल्का भएको थिएन ।उसभित्रको केही दिनदेखि उर्लिरहेको प्रेम सागर बग्न बाँकी नै थियो । ऊ राजाको काँधतिर आफ्नो शिर ढल्काउँदै बोल्न जारी राख्छे – झझराजाजी ! तपाईं राम्रो मिजासिलो स्वभावको हुनुहुँदो रहेछ । रूपरङ्ग मिलेर भनौं या संयोगले जुराएर भनौं,केही नबोल्दा पनि केही नजान्दा पनि हरेक मोडमा मेरो मनोभावनालाई बुझी मलाई साथ सहयोग दिँर्दै यो बिरानो संसार चिनाउँदै मेरो सारथी बन्नु भयो । मलाई तपाईको व्यवहारप्रति गर्व छ । यदि तपाईलाई कुनै आपत्ति छैन भने म तपाईप्रति समर्पित हुँदै छु । सायद म प्रेममा छु । मेरो प्रस्तावलाई स्वीकार गर्नुस् ।’’
सुन्दरीको भावानात्मक र कष्टकर कथाले राजालाई निकै प्रभावित बनायो । राजाले जानीनजानी सुन्दरीलाई दिएको साथसहयोगमा यतिखेर उसले आत्मा सन्तुष्टि प्राप्त गर्दैथ्यो । समयसँगै बग्नुपर्ने जीवनचोला । आज आकाशमा कालो बादल लागेर वर्षात हुन नसक्दा पनि सुन्दरीले आफुभित्र पिएर हिँडेको आँशुको झरीसँगै प्रेम याचनाको वर्षात गरिदिई । सुन्दरीले प्रस्ताव गरेको नयाँ जिन्दगीको मागलाई राजाले नकार्ने कुरै थिएन । सायद ऊ पनि यही प्रेमको प्रतिक्षामा थियो । सुन्दरीको मन जितेर आफ्नो बनाउने राजाको चाहना सुन्दरीको प्रस्तावले पूरा हुँदैथ्यो । राजा आज निक्कै खुसी छ । एकाबिहानै आत्तिएको मन यतिखेर शान्त छ । सुन्दरीको प्रस्तावलाई स्वीकार गर्दै उसले सुन्दरीलाई आफ्नो प्रेमीको रूपमा स्वीकार ग¥यो र आजबाट सुन्दरीले पनि आफ्नो सानो डेरा छाडी राजाको मन जस्तै ठूलो स्थानमा बास पाई । दुबैले मनैबाट एकअर्कालाई जीवनसाथी माने । कुनै भीड र देखावटी तामझाम बिनै ।
समयको दास को नै हुनु पर्दैन र ? समयले जस्तो दुःख या सुख दिन्छ स्वीकार्नुपर्छ । आज यता हो कि उता, भोलि कता भएर बिताउनुपर्ने वनचरीको जीवन । आज उनीहरूको मायाप्रेमको बिस्तार अनन्तसम्म फैलिएको छ । हरेक दिनलाई नयाँ नयाँ आकर्षणमा बदल्दै,हिमशिखरको आँगनमा रमाउँदै,तिर्खाहरूमा प्रेम गंगाको झरना खन्याउँदै, पहराका फूलबारीहरूमा रम्दै, प्रकृतिको डालीबाट काफलगेडी र अमिलचरीको स्वाद लिँदै, दुई आत्माको मनका तरङ्गहरू संसारी मोहबीच फलाउँदै, फुलाउँदै प्रेमील समय व्यतीत गरेसँगै प्रेमले मनको पिडाको आगो निभाउँदै थिए । राजाको लहलह फुलेको प्रेमील बगैंचाबीच सुन्दरी यसैयसै हराएजस्तै हुन्थी । जंगलका अन्य साथीहरू आफ्ना स–साना नानीहरूसँग उडान भर्दै रमाइलो गरेको देख्दा सुन्दरीले पनि आफ्नो मनको आँगनमा सृष्टि र खुसीको संसारी कल्पना सजाउँदै थिई । मौका मिलाएर उसले यस्तै सानो संसार सिर्जना गर्ने रहर राजालाई सुनाउँदै भन्छे – झझ राजाजी ! समयले साथ दिएर हामीलाई यस मोडसम्म पु¥यायो । म देख्दै छु , वरपरका साथीहरू जंगलमा सानासाना नानीहरूसँग उडान भर्दै आकाशमा रमाउँदै आफ्नो खुसीयाली जीवन व्यतीत गरेको देख्दा अब हामीले पनि बेलैमा आफ्नो परिवार बढाउनुपर्छ जस्तो लाग्छ । म आफूलाई आमा बनेको हेर्न चाहन्छु ।
सुन्दरीको सपना सुनेर राजा निकै खुसी हुन्छ र ऊ आफू पनि पतिबाट बाबु बन्न चाहन्छ । सायद यो प्रेमको आधिकारिकता पनि हो । दुबैजनाको सहमतिमा दुई आत्मा एक हुन्छन् । नयाँ आयम,नयाँ संसार सृष्टिको दीप–प्रज्वलनको बीउ राखिन्छ । सुन्दरीभित्रको मायाको सागर दिन प्रतिदिन बढ्दो थियो । राजा हौसला बढाउँथ्यो,सुन्दरी भावुक हुन्थिन् । आफूप्रति उसको जिम्मेवारी नयाँ सृष्टिको आविष्कारमा उसको सन्तुष्टि । हरेक यात्रामा उसभित्र जागेका उत्साह बटुल्दै, हरेक दिन सुखद परिकल्पना बोकेर उनीहरू पुनः डेरा फर्किन्थे ।
आज हो कि भोलि हो ! छताछुल्ल हुन लागेका पहाडहरू । अनेक बिचारसँग जोडिएको सुन्दरीको मनभित्रको तरङ्ग जब बोलीमा झल्कन्थ्यो,ती महवाणी सुन्न राजाको कान सधैं तयार रहने गर्दथ्यो । दिन बिते रात बिते । सुन्दरीको अनुहारमा छाएको कालो बादल समयसँगै सुस्तरी हटे । समयको यो क्षणमा प्रेमको सानो प्रयास फलिभूत भएर दुबै आत्माको पुकारमा दुई सुन्दर बचेराको जन्म भएको छ । खुशीका उमङ्गहरू जंगलको चारैदिशातिर फैलिएको थियो । रूखका हाङ्गाहरू खुशी भएर ती स–साना बचेरालाई आफ्नो काँधमा झुलाउन आतुर देखिन्थे । दूर कैलाश पर्वत झिल्मिलाउँदै देखिन्थ्यो । राजाका खुशीहरू दृश्यमा टाढा टाढासम्म नाच्दै थियो । निक्कै राम्रो र रमाइलो समय थियो ती दम्पत्तिको जीवनमा ।
समय बित्दै गयो । ती दम्पतिले आफ्नो दुई सन्तानलाई हुर्काउँदै गर्दा समय बितेको पत्तै पाएनन् । कति खेर के खाए कति खेर के लगाए ती दुई भान्टाङ्भुन्टुङ्हरू एक आपसमा झगडा गरेजस्तै मैदानमा खेली भुइँका निवाला टिपी वल्लो रूख र पल्लो रूख गरी रूखको काँधमा खेल्दै हुर्किए । राजा र सुन्दरीले आफ्नो बच्चाहरूलाई हाँसले आफ्नो बचेरा डुलाएजस्तै गरी आफ्ना स–साना नानीहरूको ख्याल राख्दै हरक्षण साथ नछोडी अघि र पछि लगाई टाढा टाढासम्म लगी संसार चिनाउँदै दिन बिताउन थाले । त्यो माया र मोहबीच साना साना नानीहरूको उज्ज्वल भविष्यको कल्पनामा उनीहरूले आफूले भोगेको विगतलाई बिर्सदै रमाइरहेका थिए । आज उनीहरूको कथा जति आनन्ददायक छ उति नै पीडादायक उनीहरूको जीवनको विगत पनि थियो ।जन्मस्थानबाट टाढा छन् तर पनि खुशी छन् । उनिहरूलाई सम्झनु छैन त्यो विगत । फेरि जानु छैन त्यो गाउँको जंगल । सायद त्यहाँको समय अझ बढी विकराल र निर्दयी भएको होला । उनीहरू टेक्न चाहन्नन् त्यो गाउँ जंगलमा । यसरी नै केही सुखद वर्षहरू बिते ।
एक लहर खुशीको तहहरू पार भएपछि सायद जीवनमा दुःखले अर्को लहर ल्याउँछ । उनीहरूको एकसाथ रहने चाहना टुट्ने दिन आएको छ । एक ढिक्का दही मदानीमा घोलिएर अलग पातलो भए जस्तै सुख पातलिने दिन आएको छ । अहिले उनीहरूको जिन्दगी दोधारमा आएर उभिएको छ । अनायासै आज हुर्केका दुई बचेराहरू उनीहरूसँग आफ्नो जंगलबाट अर्को जंगल जाने स्वीकृति मागिरहेका थिए । उनीहरूले कतैबाट सुनेका थिए त्यस जंगलको रंगीचङ्गी बयान । बाबुआमा राजा र सुन्दरीले जति सम्झाए पनि उनिहरू मानिरहेका थिएनन् । उनीहरू प्रगति चाहन्थे र बाबुआमा रोक्न असमर्थ थिए हुर्केका सन्तानको रहरलाई । सायद यही हो समयचक्रको स्वभाविक रीत पनि । आखिर अर्कोदिन बिहानै दुबै सन्तान आमाबुबाको आशिर्वाद लिएर आकाशमा नयाँ दिशातर्फ उडे जीवनमा नयाँ रंग भर्ने सपनामा । सुन्दरी र राजाले उनीहरूलाई आँखाबाट ओझल नहुञ्जेल आकाशलाई निहारिरहे । मौन भएर हेरिरहे । हेरिरहे आफू आएकै बाटो बचेराहरू उडेर गएको ।अनि समयले लेख्न शुरू ग¥यो अर्को जोडी आकाश परीको नयाँ कथा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
