प्रहरीको मानसिक स्वास्थ्यमा ध्यान दिँदै तेह्रथुममा “सट्टा बिदा” लागू
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २९।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमले प्रहरी कर्मचारीको दीर्घकालीन बिदा सम्बन्धी गुनासोलाई सम्बोधन गर्दै प्रहरी नियमावली, २०७१ अनुसार “सट्टा बिदा” कार्यान्वयनमा ल्याएको छ। सार्वजनिक बिदाको दिन ड्युटीमा खटिने प्रहरी कर्मचारीलाई कानूनी व्यवस्था अनुसार सट्टा तलबी बिदा उपलब्ध गराउन सुरु गरिएको कार्यालयले जनाएको छ।
प्रहरी संगठनभित्र लामो समयदेखि माग अनुसार बिदा नपाउने, आवश्यक परेको समयमा बिदा स्वीकृत नहुने तथा उपलब्ध बिदासमेत पूर्ण रूपमा उपयोग गर्न नपाइने गुनासो रहँदै आएको थियो। विशेषगरी वर्षमा उपलब्ध ३० दिन घर बिदा र १२ दिन भैपरी आउने बिदासमेत उपभोग गर्न नपाउँदा प्रहरी कर्मचारीको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा नकारात्मक असर परेको विषय पटक–पटक उठ्दै आएको थियो। यही अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तेह्रथुमले प्रहरी नियमावली, २०७१ को परिच्छेद–८ अन्तर्गत नियम ८५ मा उल्लेखित “सट्टा बिदा” सम्बन्धी व्यवस्था व्यवहारमा लागू गरेको जनाएको छ।
उक्त नियमअनुसार सार्वजनिक बिदाको दिन काम गर्ने प्रहरी कर्मचारीलाई एक पटकमा बढीमा सात दिनसम्म सट्टा तलबी बिदा दिन सकिने व्यवस्था छ। कार्यालयका अनुसार लामो समयदेखि बिदा नलिएका वा बिदा उपयोग गर्न नपाएका प्रहरी कर्मचारीलाई अनिवार्य रूपमा बिदा बस्नसमेत निर्देशन दिइएको छ। तीन महिना वा सोभन्दा बढी समयसम्म बिदा नलिने प्रहरी कर्मचारीको विवरण संकलन गरी कारण सोध्ने तथा बिदा उपयोग गर्न निर्देशन दिने कार्यसमेत सुरु गरिएको कार्यालयले जनाएको छ।
यसलाई प्रहरी कर्मचारीको मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ। यसअन्तर्गत प्रहरी चौकी लेगुवा, धनकुटा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय तेह्रथुममा कार्यरत प्रहरी हवल्दार विशाल खड्का पहिलो पटक “सट्टा बिदा” उपयोग गर्ने प्रहरी कर्मचारी बनेका छन्।
हालसम्म जिल्लाभरबाट आठ जना प्रहरी कर्मचारीले उक्त सुविधा उपयोग गरिसकेको कार्यालयले जानकारी दिएको छ। सात दिन वा सोभन्दा कम अवधिको बिदा बस्न चाहने कर्मचारीले सट्टा बिदा उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ। प्रहरी कर्मचारीहरूले कानूनी व्यवस्था अनुसार पहिलो पटक सट्टा बिदा उपयोग गर्न पाउँदा उत्साह, सन्तुष्टि र सकारात्मक मनोबल वृद्धि भएको प्रतिक्रिया दिएका छन्।
यसअघि प्रहरी नियमावलीमा व्यवस्था भए पनि व्यवहारमा “सट्टा बिदा” कार्यान्वयन नभएको भन्दै अर्हत सम्बुद्ध चन्दले उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष उजुरी दिएका थिए। त्यसपछि नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत कानून शाखा, नक्साल काठमाडौंले चलानी नं. १५०८, मिति २०८१ वैशाख १० गतेको पत्रमार्फत सट्टा बिदा कार्यान्वयन गर्न निर्देशन दिएको थियो। यद्यपि व्यवहारिक कार्यान्वयन हुन नसकेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तेह्रथुमले सुरु गरेको यो अभ्यासलाई प्रहरी संगठनभित्र कर्मचारीमैत्री कार्यसंस्कृति विकास, मनोबल अभिवृद्धि तथा पेशागत उत्तरदायित्वलाई थप प्रभावकारी बनाउने सकारात्मक पहलका रूपमा हेरिएको छ।
तपाइँको प्रतिक्रिया ।
