समयको निर्णय : आकाश अधिकारी (लघुकथा)

समयको निर्णय : आकाश अधिकारी (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ६।

“धन ठूलो कि विद्या ?” वादविवादको विषय थियो । विद्यालयको हल खचाखच भरिएको थियो । एकपछि अर्को विद्यार्थीले जोस जाँगर सहित तर्क गरे । धनले संसार चल्छ भन्नेले सुनाउने कथा पनि राम्रै लाग्थे, तर अन्ततः सबैलाई छेडेर हलमा एक सानो तर निर्भीक विद्यार्थीको स्वर गुन्जियो “धनले किताब किन्न सक्छ, तर ज्ञान किन्न सक्दैन । धनले डाक्टर तिर्न सक्छ, तर स्वास्थ्य फिर्ता ल्याउन सक्दैन । धनले घर बनाउन सक्छ, तर संस्कार बनाउन सक्दैन । त्यसैले विद्या नै सबैभन्दा ठूलो हो ।”
सभामा तालीको गडगडाहट गुन्जियो ।
निर्णायकले उसैलाई विजेता घोषणा गरे ।
हलमा खुसीको लहर दौड्यो, विद्यार्थीको अनुहार गर्वले चम्कियो ।
तुरुन्तै उसलाई स्टेजमा बोलाइयो र हातमा थमाइयो “नगद पुरस्कार ।” क्षणभर ऊ नबोल्ने भयो । उसको मुटुमा भने एउटा प्रश्न बजिरहेको थियो । “विद्या महान् भनिएको समाजले विद्याको मूल्याङ्कन गर्न पनि धनकै सहारा किन लिन्छ ?” हल तालीले गुञ्जिरह्यो, तर “समय” मौनै रह्यो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।