चार युगको मजा : महेन्द्र चालिसे

चार युगको मजा : महेन्द्र चालिसे

कपन अनलाइन
काठमाण्डौ ,चैत २२।
कोठामा टेलिभिजन ठूलो स्वरमा बजिरहेछ—जस्तो कि घरमा कोही बहिरो छ र टेलिभिजनले आफ्नो आवाज बढाएर सेवा दिइरहेको हो । त्यसमा धार्मिक प्रवचन चलिरहेको छ । प्रवचनको आवाज यति स्पष्ट छ कि लाग्छ भगवानले आफैं ‘माइक टेस्ट’ गर्दै हुनुहुन्छ—“हेलो, सुनिँदैछ कि छैन ?”
भान्छामा श्रीमती काम गर्दैछिन्, तर ध्यान टेलिभिजनमा छ । आलु तास्दा तास्दै उनी धर्म, कर्म, मोक्ष, पुनर्जन्म सबैको हिसाब किताब मिलाइरहेकी छन् । एक हातले कराही चलाउँदै, अर्को हातले जीवन दर्शन बुझ्दै—नेपाली नारीको बहुप्रतिभा देख्दा कहिलेकाहीँ गूगल पनि लाज मान्ला ।
प्रवचन सुन्दै गर्दा उस्को मनमा एउटा गहिरो—तर अलि टेढो—विचार आयोः “हामी एकैदिन चार युग बिताउँछौं ।” अब यो विचार कुनै साधारण होइन । यो त्यस्तै खालको विचार हो जुन बिहान उठ्ने बित्तिकै आउँछ—अनि चिया नखाएपछि हराउँछ । तर उनको विचार चिया बिना पनि टिक्यो ।
उस्ले सोच्छ—जब हामी पुराण सुन्न जान्छौं, कार्यक्रमको सुरुवातमा जब मंगलाचरण हुन्छ, त्यो सत्ययुग हो । सबै शान्त, सबै अनुशासित, सबैको मुखमा ‘हरे राम’—जस्तो कि संसारमा ट्राफिक जाम, लोडसेडिङ र फेसबुक कमेन्ट कहिल्यै थिएनन् ।
त्यसपछि जब रामायणको कथा सुरु हुन्छ—राम, सीता, लक्ष्मणको आदर्श जीवनको वर्णन आउँछ—हामी त्रेतायुगमा प्रवेश गर्छौं । सबैले मनमनै सोचिरहेका हुन्छन्, “हामी पनि रामजस्तै बनौं ।” तर कथा सकिएपछि घर फर्कँदा बाटोमा कसैले आफुप्रति केही भनिदियो भने त्यही राम भक्त तुरुन्त रावण अवतारमा झर्छ ।
अनि जब कृष्णको लीला सुरु हुन्छ—मुरलीको धुन, गोपी गोपीनीहरूको प्रेम, महाभारतको रणभूमि—त्यतिबेला हामी द्वापरयुगमा हुन्छौं । दर्शकहरू रमाइरहेका हुन्छन्, कसैले आँखा रसाइरहेका हुन्छन्, कसैले मोबाइलमा फोटो खिचिरहेका हुन्छन्—“स्टोरी हाल्नुप¥यो, टिकटक त झन बनाउनै प¥यो नि, भक्तिभाव पनि ट्रेन्डिङमा राख्नुपर्छ ।”
तर असली युग परिवर्तन त अन्त्यमा हुन्छ । जब पुराण सकिन्छ, सबै उठ्छन्, प्रसाद लिन्छन्, अनि आफ्नो जुत्ता खोज्न जान्छन्—त्यतिबेला कलियुगको ‘ग्रान्ड एन्ट्री’ हुन्छ ।
“मेरो जुत्ता कहाँ गयो ?” “यहीँ त राखेको थिएँ !” “यो त मेरो होइन, यो त अरूकै हो !”
एकजना चप्पल लगाएर आएका थिए, बुट लगाएर फर्किन्छन् । अर्कोचाहिँ बुट लगाएर आएका, नाङ्गै खुट्टा फर्किन्छन् । त्यहाँ धर्म, कर्म, मोक्ष सबैभन्दा ठूलो प्रश्न हुन्छ—“मेरो साइजको जुत्ताको कसले मोक्ष ग¥यो ?”
यथार्थता यति तिखो हुन्छ कि कृष्णको गीता पनि सानो लाग्न थाल्छ ।
तर यो चार युगको मजा यतिमै सीमित छैन । हाम्रो दैनिक जीवन नै युगहरूको ‘मिक्स्ड अचार’ हो । बिहान अलार्म बज्दा—“आजदेखि म नयाँ जीवन सुरु गर्छु, व्यायाम गर्छु, चाँडै उठ्छु”—त्यो सत्ययुग हो । पाँच मिनेटपछि ‘स्नूज’ थिच्दा—त्यो त्रेतायुग । दस मिनेटपछि फेरि निदाउँदा—द्वापरयुग । अनि अफिस ढिला पुगेर हाजिरी किताबमा समय मिलाउँदा—कलियुग !
फेसबुक खोल्दा पनि युग परिवर्तन हुन्छ । पहिलो पोस्ट—“जीवन क्षणभंगुर छ, सबै माया मोह त्यागौं”—सत्ययुग । अर्को पोस्ट—“मलाई धोका दिनेहरूलाई भगवानले सजाय दिनेछन्”—त्रेतायुग । तेस्रो पोस्ट—सेल्फीः ९ँभभष्लिन दभिककभम 😎”—द्वापरयुग । अनि कमेन्ट सेक्सन—गालीगलौज, बहस, ट्रोल—सीधा कलियुग !
राजनीतिमा त झन् चार युगको ‘लाइभ शो’ नै चलिरहेको हुन्छ । चुनावअघि नेता भन्छन—“हामी सेवा गर्छौं, देश बदल्छौं”—सत्ययुग । चुनावको बेला—“हामी नै रामराज्य ल्याउँछौं”—त्रेतायुग । सरकार बनेपछि—आफ्ना मान्छे मिलाउने, भागबन्डा गर्ने—द्वापरयुग । अनि पाँच वर्षपछि—जनताले प्रश्न गर्दा—“हामीले के गरेनौं?”—कलियुग !
घरभित्रै पनि युग परिवर्तन चलिरहन्छ । श्रीमतीले भन्छिन् —“आज त म तपाईंको मनपर्ने खाना बनाउँछु”—सत्ययुग । खाना तयार भएपछि—“पहिले हात धोएर आउनुस् त”—त्रेतायुग । खाँदै गर्दा—“नुन अलि बढी भयो जस्तो छ”—द्वापरयुग । अनि तपाईंले सानो टिप्पणी गर्नुभयो—“आज अलि फरक स्वाद छ”—बस ! के चाहियो र भैगयो कलियुग सुरु !
हाम्रो शिक्षा प्रणाली पनि युगअनुसार चल्छ । भर्ना हुँदा—“हामी गुणस्तरीय शिक्षा दिन्छौं”—सत्ययुग । क्लास सुरु हुँदा—“नियम पालना गर्नुपर्छ”—त्रेतायुग । परीक्षाको बेला—“नकल नगर्नुहोला”—द्वापरयुग । रिजल्ट आएपछि—“सबै पास, तर ज्ञान स्यान नास्ती, बुद्धी कहाँ ?”—कलियुग ।
त्यसो भए, हामी चार युगमा बाँचिरहेका होइनौं—हामी त एकैदिन चार युग खेलिरहेका छौं । जीवन एउटा ‘युग चक्र’ मात्र होइन, ‘युग सर्कस’ भइसकेको छ ।
अन्त्यमा प्रश्न उठ्छ—के हामी कहिल्यै सत्ययुगमै बस्न सक्छौं ? शायद सकिन्छ—यदि हामीले अरूको जुत्ता नलगेर आफ्नै जुत्ता पहिचान गर्न सिक्यौं भने । तर त्यो दिन आउनुभन्दा अगाडि—कृपया आफ्नो जुत्तामा नाम लेखेर पुराण सुन्न जानु होला । किनभने धर्मले जति मोक्ष दिन्छ, जुत्ताले त्यति सुविधा दिन्छ ।
छैन त यथार्थता ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।