ध्यान : चिरन्तन आनन्दको आर्जन (भारद्वाज मित्र)
कपन अनलाइन
काठमाण्डौ ,फागुन ३०।
पृष्ठभूमि
ध्यान मानव जीवनको आन्तरिक यात्रा हो । एक यस्तो यात्रा जहाँ बाह्य चञ्चलता हराउँदै जान्छ र भित्री शान्तिको प्रभा घनिभूत हुँदैजान्छ । जसरी प्रत्येक दिनको ब्यस्त जीवन, दैनिकीका दौडधूप र जिम्मेवारीका भारीले थिचिएको मान्छेलाई रातले अर्थात् निन्द्राले धेरै हलुका बनाइदिन्छ । जब मान्छे विहान निद्रादेवीको प्यारो काखबाट उठ्दछ तव उ तरोताजा हुन्छ र विहानीको नयाँ प्रेरणाले उ आफू पनि उर्जावान भएको अनुभूत गर्छ । दिनभरिको व्यस्ताताले स्मरणमा आउन नसकेका विगतलाई, स्मृतिका बिम्बहरूमाथिको पुनरागमन गर्न सहज हुनेहुन्छ र प्रातःकालीन ताजापनसहितको मस्तिष्कले राम्रोसँग केलाउने र आफ्नो तात्कालीक कार्ययोजना निर्माण गर्ने गर्दछ । त्यसर्थ प्रस्तुत आलेखमा वर्णित समयरेखा पनि मुलतः प्रातःकाल नै हो ।
अध्यात्मवादले भनेअनुसार “ध्यान” (चेतना) आत्मा वा आत्मिक तत्वको विशेष गुण हो । त्यस दृष्टिमा पदार्थ (भौतिक संसार) आत्मिक तत्वको उत्पादन वा परनिर्भर रूप हो । चेतना नै मूल र प्राथमिक हुन्छ भन्ने विश्वासका साथ अध्यात्मवादीहरू भन्छन् संसारको वास्तविक आधार पदार्थ होइन, चेतना वा आत्मा हो र त्यही आत्माको मूल रूप परमात्मा, इश्वरआदि यावत नामले चिनिने परमतत्व हो । आत्मालाई परमात्मासँग मिलाउने प्रयासमा अध्यात्मका अनुयायिहरू ध्यानस्थ हुन्छन् । भौतिकवादीहरू पनि आफ्ना जीवनका महत्वपूर्ण जिम्मेवारीहरूलाई क्रमबद्ध रूपमा स्मरण र प्राथमिकीकरण गर्न, दृष्टिकोणहरूमा निखार ल्याउन मस्तिष्क सन्धानका रूपमा यो अभ्यासमा रमाउँछन् ।
परिचय ः
मानव सभ्यताको आरम्भदेखि नै मानिसले “के म मात्र यो शरीर हुँ या केही अझ ठूलो पनि छु ?” भन्ने प्रश्न उठाउँदै आएको छ । यही जिज्ञासाले आत्म–अन्वेषण, मौन–चिन्तन र ध्यानको मार्ग विकास ग¥यो । विभिन्न धर्म, परम्परा र दर्शन अनि पन्थहरूले आफ्नो–आफ्नो तरिकाले ध्यानलाई परिमार्जन गरे र प्रयोग गरे । तर सबैको मूल लक्ष्य भने ’आन्तरिक अन्वेशण, रूपान्तरण, मनको निर्मलता, र परम सत्यसँग एकाकार अनुभव’ नै हो । मानव सभ्यताका सोपानहरूमा अपनाइदै आएका यी ध्यान विधिहरूले मानव मन–मस्तिष्कलाई शान्त र उज्यालो बनाइदिएको अनुभव गरिन्छ । यस आलेखमा अध्यात्मका विभिन्न सम्प्रदायहरूका ध्यानअभ्यासका साथसाथै भौतिक जगतमा आधारित विज्ञान र वैज्ञानिक जीवनदर्शनका आलोकमा गरिने चिन्तन र प्रयोगलाई पनि यहाँ चर्चा गर्न प्रयास गरेको छु । यस आलेखमा मैले त्यस अनुभूतिसँग जोडिएर आउने विचार श्रृङ्खलाका साथसाथै आफ्नो ध्यानको परिशीलन र अभ्यासबाट पाइएको चिरन्तन आनन्दको अनुभूतिलाई बाँडन मन लागेर केही लेख्ने प्रयास गरेको हुँ । पाठकहरूले यस लेखका आधारमा मलाई यस क्षेत्रको गहन अध्येता या आधिकारिक व्यक्तित्वका रूपमा नलिन पनि सादर अनुरोध गर्दछु । यो मेरो वेद, उपनिषदजस्ता वैदिक साहित्य र केही वैज्ञानिक एवं दार्शनिक अभिमतहरूका अध्ययनबाट पाइएका केही छरपष्ट जानकारीहरूका ततननका साथमा पोखिएको मेरो अनुभूतिमात्र हो । यहाँ व्यक्त अनुभूतिहरू मेरा नितान्त निजी हुन्, अध्ययन र अभ्यासका उपज हुन् ।
ध्यान मानव सभ्यताको अत्यन्त पुरानो आध्यात्मिक अभ्यास हो । भाषिकरूपले ‘ध्यान’ शब्द संस्कृत ‘ध्यै’ धातुबाट आएको हो, जसको अर्थ ‘चिन्तन गर्नु’, मन एकाग्र गर्नु’ र आन्तरिक अवलोकन गर्नु’ हुन्छ । भिन्न–भिन्न सभ्यता, धर्म, दर्शन तथा परम्परामा ध्यानको उद्देश्य, विधि, मनोवैज्ञानिक संरचना र लक्ष्य फरक देखिन्छ ।
वैदिक हिन्दू, इस्लाम, क्रिश्चन र बौद्ध परम्परामा रहेका ध्यान चर्चा ः
ध्यानका विविध परम्पराका बारेमा चर्चा गर्दा वैदिक, इस्लाम, क्रिश्चन र बौद्ध परम्परामा रहेका ध्यान अभ्यासहरूको किञ्चित् तुलनाका साथ छलफल गर्नु जरूरी हुनआउँछ । वैदिक–उपनिषद परम्पराले ध्यानलाई आत्माको परमात्मासँग एकाकार गर्ने मार्गका रूपमा ग्रहण गर्दछ । बौद्ध परम्पराले ध्यानलाई प्रज्ञा–उत्पत्ति, दुःख–निरोध र निर्वाण प्राप्तिको उपायका रूपमा लिन्छ । इस्लाममा ध्यान अल्लाहको स्मरण (जÞिक्र) मार्फत हृदयको शुद्धीकरण (तजÞ्किया) को अभ्यासका रूपमा विकसित भयो । क्रिश्चियन परम्परामा येशूमा चिन्तन र त्यसैमा केन्द्रित प्रार्थनामा आधारित अभ्यासका ध्यान देखिन्छन् ।
अध्यात्मका आँगनमा फुलेका र फक्रिएका र अनेकानेक सम्प्रदायका अनुयायीहरूले गर्ने ध्यानका अभ्यासहरूमा पनि चञ्चुप्रवेशको झिनो प्रयत्नस्वरूप वैदिक–हिन्दू परम्परा, इस्लामिक–सूफी अभ्यास, क्रिश्चन ध्यान–प्रार्थना र बौद्ध मार्गमा विकसित ध्यान–पद्धतिहरूको नाम, विधि र दार्शनिक आधारलाई विश्लेषणात्मक ढङ्गले प्रस्तुत गर्न त यस सानो आलेखमा सम्भव नहुने हुनाले यहाँ संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।
आज विश्वमानवको मनोवैज्ञानिक स्वास्थ्य, आन्तरिक शान्ति र चेतनाको उन्नयनका साथसाथै शरीर विज्ञानसँग जोडेर मनोवैज्ञानिक असल प्रभाव खातिर मस्तिष्कसन्धानका निमित्त ध्यानको परिशीलनसम्म पुग्दा ध्यान मान्छेको साझा भाषाजस्तै साधन भएर उपस्थित भएको छ । यस सानो अनुभूतिगत आलेखले पनि वैदिक हिन्दू, बौद्ध, इस्लाम र क्रिश्चियन परम्परामा प्रचलित ध्यानका प्रमुख नाम, विधि, सिद्धान्तिक आधार, अभ्यास स्वरूप र लक्ष्यहरूको तुलनात्मक अध्ययनको सुक्ष्म प्रयास गर्दछ ।
वैदिक–सनातन हिन्दू परम्परामा ध्यान ः
वैदिक संस्कृति, परम्पराले ध्यानलाई ’आत्मा र परमात्मा बीचको मिलनको उपाय ’ मानेको छ । योग, उपनिषद् र तन्त्र–शास्त्रहरूले यसलाई सुनियोजित विधि र प्रयोगको रूपमा विकास गरे । वैदिक हिन्दू परम्परामा ध्यान–विधिहरू अनेकानेक छन् । ती विविध छन्, तर तिनको मूल लक्ष्य एकै हो ’आन्तरिक आत्म–बोध’ नै हो । वैदिक हिन्दू मार्ग अनेक पन्थ, मत र साधना–मार्गहरूको समष्टि हो । प्रत्येक पन्थले ध्यानलाई छुट्टै नाम र विशिष्ट पद्धतिबाट आत्म–परमात्मा ऐक्य, मोक्ष, कैवल्य लगायतका अनेकानेक नाममा परिभाषित गरेको पाइन्छ ।
वैदिक–उपनिषद निर्दिष्ट ध्यान ः
उपनिषदहरूले ध्यानलाई ‘निदिध्यासन’, ‘ध्यानयोग’, ‘समाधि’, ‘अन्तर्मुखी ब्रह्मसाक्षात्कारको मार्ग’ भनेर वर्णन गर्छन् । आत्म–परमात्मा मेलका अपेक्षामा तात्त्विक लक्ष्यको प्राप्ति हेतु गरिने ध्यानका पनि केही उपप्रकारहरू पाइन्छन् । त्यसमाःश्रवण–मनन–निदिध्यासन् भन्नाले श्रवणः ब्रह्म–ज्ञान सुन्ने, मननः तर्कद्वारा विचार गर्ने र निदिध्यासनः गहिरो ध्यानमा डुबेर निरन्तर ध्यानस्थ हुने अवस्था स्थापना गर्ने बुझिन्छ । त्यस्तै सगुण ब्रह्म ध्यान भन्नाले विष्णु, शिव, देवी, सूर्य आदिको प्रतीक–रूपमा लिने र तिनीहरूका भक्तिमा एकाग्रता स्थापना गर्ने भन्ने बुझिन्छ । निर्गुण ब्रह्म ध्यान भन्नाले शरीर धारण गर्ने देवतालाई प्रतिक नमानेर ब्रह्मचिन्तनमा रमाउँदै ‘अहं ब्रह्मास्मि’, ‘तत्त्वमसि’ स्वरूपको चिन्तनमा ध्यानस्थ भएर गर्ने ध्यान भन्ने बुभिन्छ ।
पतञ्जली योगदर्शनमा ध्यान ः
कैवल्य अर्थात् मोक्षका अभिष्ठमा वैदिक हिन्दू परम्पराले चित्तवृत्ति निरोधका माध्यमबाट पतञ्जलीको अष्टाङ्ग साथ ध्यान विधिलाई अत्यन्त व्यवस्थित वैज्ञानिक पद्धतिका रूपमा प्रस्तुत गर्दछ । त्यसरी प्रस्तुत गर्ने अष्टाङ्गयोगका चरणहरूमा ः
यम ः
यम भनेको अष्टाङ्गयोगको पहिलो चरणा हो । यो अरूसँग गर्ने व्यवहारलाई शुद्ध र नैतिक बनाउने नियम हो । जसमा अहिंसा ः कसैलाई चोट नपु¥याउनु, सत्य ः सधैं सत्य बोल्नु, अस्तेय ः चोरी नगर्नु, ब्रह्मचर्य ः इन्द्रियलाई संयमित बनाउनु, तथा अपरिग्रह ः अनावश्यक लोभ नगर्नु लगायतका पाँच वटा मुख्य सामाजिक संयमका सिद्धान्तहरू पर्दछन् ।
नियम ः
नियम अर्थात् व्यक्तिगत अनुशासन । नियम भनेको आफ्नो शरीर, मन र जीवनशैली सुधार्ने व्यक्तिगत नियम हो ।
आसन ः
आसन भन्नाले ध्यान र प्राणायामका लागि शरीरलाई तयार पार्ने शरीरको अभ्यासका रूपमा सम्पन्न गरिने योगका शारीरिक मुद्राहरू हुन् । जसबाट मानसिक सुद्धता सँगसँगै शरीर स्वस्थ, लचकदार र बलियो बनाउने अभ्यास हुन्छ ।
प्राणायाम ः
प्राणायाम भन्नाले श्वासप्रश्वासको नियन्त्रण अर्थात् सास लिने, रोक्ने र छोड्ने प्रक्रियालाई नियन्त्रण गर्ने अभ्यास हो । श्वासप्रश्वासमा आधारित प्राणायमका व्यवस्थित अभ्यास भनेको प्राकृतिक चिकित्साको अनुपम विधिका रूपमा वैश्विक स्तरमै स्थापित र विकसित हुँदैछ ।
प्रत्याहार ः
प्रत्याहार प्राणशक्तिको नियन्त्रण अर्थात् मस्तिष्कको संयमित निर्देशनद्वारा पाँच कर्मेन्दीय र पाँच ज्ञानेन्द्रीयलाई नियन्त्रित र सन्तुलित राख्ने साधना हो ।
धारणा ः
यो एक विषयमा चित्त स्थिर गर्ने ध्यानको अभ्यास हो ।
ध्यान ः
ध्यानको उच्चतर अवस्था भनेको अखण्ड प्रवाहमा रहेको चित्त या मानसिकताको नियन्त्रणमा निरन्तरता दिनु नै हो ।
समाधि ः
ध्यानको उच्चतम अवस्थामा प्राप्त हुने समाधिमा मन पूर्ण रूपमा एकै विषयमा लीन भएकाले आफू ‘ध्यान गरिरहेको छु’ भन्ने अनुभूति पनि हराउँछ र केवल शुद्ध चेतनाको अनुभव बाँकी रहन्छ । अर्थात् तन्मयतासहितको पूर्ण आत्मएकताको अवस्था हो ।
शैव, शक्त, वैष्णव, तान्त्रिक परम्परामा ध्यान ः
वैदिक सनातनी हिन्दू धर्मका पन्थहरूले ध्यानलाई आफ्नै पद्धतिमा विस्तार गरेका छन् ।
शैव सम्प्रदायमा ध्यान ः
यस सम्प्रदायमा श्वासमा एकाग्रता, आकाश ध्यान, नाद ध्यान, रिक्तता ध्यान र देह–अनुभूति विघटन ध्यानलगायत भैरव तन्त्रका ११२ ध्यान विधिहरू छन् भनिन्छ । त्यस्तै शैवमै शिव–चैतन्यको प्रत्यक्ष अनुभूति गर्ने लक्षका साथ शम्भवोपाय, शाक्तोपाय, आनवोपाय जस्ता बिधिहरूको व्यवस्थासहित त्रिक–कश्मीरी शैववाद पनि पुरानो प्रचलनमा रहेको पाइन्छ ।
शक्त सम्प्रदायमा ध्यान ः
यस सम्प्रदायमा (तन्त्र, योगिनी परम्परा) मा शक्ति प्राप्ति र चैतन्य विस्तारको लक्ष्य सहित कुण्डलिनी ध्यान, चक्र ध्यान, नवदुर्गा ध्यान, श्रीविद्या त्रिपुरसुन्दरी ध्यान लगायत मन्त्र–जप ध्यानको प्रथा रहेको पाइन्छ ।
वैष्णव–भक्तिपरम्परामा ध्यान ः
यस परम्परामा परम–प्रभुको प्रेम (भक्ति), आत्मसमर्पण हेतु नारायण–स्मरण ध्यान, जप ध्यान, नाम–स्मरण, नाम–सङ्कीर्तन, लीला–ध्यान लगायतका सगुण ध्यानका अभ्यासहरू रहेको पाइन्छ ।
बौद्ध परम्परामा ध्यान ः
बुद्धले ध्यानलाई दुःख–निरोध, प्रत्यक्ष–अनुभूति र निर्वाण प्राप्तिको वैज्ञानिक मार्गका रूपमा प्रस्तुति गरे । बौ४ ध्यानका नाम र विधि बौद्ध शाखाहरूमा व्यापक छन् । त्यसको यहाँ संक्षेपमा मात्र चर्चा सम्भव छ । ज्ञान प्राप्ति र एकाग्रताको लक्ष्यका साथ गरिने थेरवादी ध्यान परम्परामा शून्यताको अनुभूति गर्दै दुई मुख्य शाखाहरू रहेका छन् ः
थेरवादि समथ ध्यान अथवा शान्ति ध्यान ः
शान्ति ध्यानमा रूपमा श्वास, कसाय वस्तु, कासिना नामक विषयहरू समाहित भएको पाइन्छन् । त्यस परम्पराका बारेमा नेपालीमा लेखिएका पुस्तकहरूको केही अभाव रहेकाले सार्थक चर्चा गर्न सकिएन ।
विपश्यना ध्यान या अन्तर्दृष्टि ध्यान ः
निर्वाण प्राप्ति अभिष्ठमा शरीर, वेदना, चित्त र धर्मको प्रत्यक्ष अवलोकन गर्नु, लाक्षणिक अनुभव, अनिच्च, दुख्ख, अनत्ताको अवस्थामा पुग्नका निमित्त लामो र कष्टसाध्य मौन विधिको अभ्यासबाट विपश्यना या अन्तर्दृष्टि ध्यान गर्ने गरिन्छ । गौतम बुद्धबाटै प्रारम्भ गरिएको र धेरै पछि गोयन्काले पुनरूत्थानमा ल्याएको यो विधि अरू परम्परागत ध्यानबिधिहरूभन्दा विज्ञानसम्मत बिधिहरू अपनाइने कुरा समाजमा विश्वास र व्यापकता पनि रहेको पाइन्छ ।
महायान परम्परामा ध्यान ः
सर्वहितको करुणा–संकल्पसहित गरिने बोधिचित्त ध्यान, ममैता–करुणा ध्यान एवं सर्व धर्म शून्यको माध्यमिककालीन दर्शन अपनाइने शून्यता ध्यान लगायत महायान परम्परामा तीन प्रकारका ध्यान बिधिहरू प्रचलनमा रहेको पाइन्छ । यस परम्परामा अरू धेरै अभ्यासहरू पनि हुन सक्दछन् ।
वज्रयान–तान्त्रिक बौद्ध परम्परामा ध्यान ः
खास गरी तिब्बेतीयन बौद्ध परम्परामा आधारित बुद्धत्व, लौकिक–अलौकिक सिद्धि र चेतनाको सर्वोच्च मुक्त अवस्थाको लक्ष्यसहित गरिने वज्रयान–तान्त्रिक बौद्ध प्रथामा देव–योग ध्यान (देवता–साधना), अवलोकितेश्वर, तारा, वज्रयोगिनी, चक्रसम्वर आदिका ध्यानमा ’ॐ मणि पद्मे हुँ’ जस्ता मन्त्रहरूको जप, योग–निद्रा जस्तै प्रकारको स्वप्न–योग, तुम्मो भनिने आन्तरिक उष्णता ध्यान, महा–मुद्रा ध्यानका साथै मानिसका स्वाभाविक अवस्थाको प्रत्यक्ष पहिचानखातिर गरिने जोगचेन जस्ता वज्रयानी–तान्त्रिक बौद्ध ध्यान परम्पराहरू रहेका पाइन्छन् ।
इस्लामिक परम्परामा ध्यान ः
इस्लाममा ‘ध्यान’ शब्द प्रत्यक्ष नआए पनि ‘जÞिक्र’, ‘तफÞक्कुर’, ‘मुहासिबा’, ‘तजÞ्किया’ आदि ध्यानका इस्लामिक रूपहरू विद्यमान छन् ।
कुरान (अल–कुरआन अल–करिम) को नेपाली अनुवादमार्फतको जानकारीका आधारमा तक्वा (धर्मपरायणता), हृदय शुद्धीकरणका लक्षयसहित गरिने सामान्य सुन्नी–इस्लामिक ध्यान अभ्यासमा अल्लाहको निरन्तर स्मरणसहितको “अल्लाह”, “सुभानल्लाह”, “अल्हम्दुलिल्लाह”, “अल्लाहु अकबर” लगायतका जÞिक्र, दुआ–ध्यान, मनन, चिन्तनमा आधारित तफÞक्कुर, तिलावत–उल–कुरान जस्ता कुरान पाठलाई हृदयमा अवतरण गराउने ध्यान प्रक्रियाहरू पाइन्छन् ।
इस्लाम–सूफी परम्परामा हृदय–केन्द्रित ध्यान ः
सूफी ध्यान कल्ब केन्द्रित आध्यात्मिक अभ्यास हो । यस अभ्यासमा हृदयलाई परमसत्ता अल्लाहको स्मरण र प्रेमको केन्द्र मानिन्छ । यसमा “जिक्र”—अल्लाहको नाम वा वचनको निरन्तर जप—मुख्य उपकरण हो, जसले हृदयको अशुद्धता हटाई आन्तरिक शान्ति र दिव्य उपस्थितिको अनुभूति जगाउँछ । सूफीहरू हृदयलाई सत्य पहिचान “आध्यात्मिक नेत्र” मान्छन् । मौनता, नियमित श्वास–अनुशासन, र गुरु–परम्परा (मुरसिद) को मार्गदर्शनसहित गरिने यो ध्यानले “तौहीद” साधकलाई प्रेम, करुणा, विनय र ईश्वर–एकत्व बनाउने अभ्यासको अनुभूतितर्फ उन्मुख गराउने विश्वास गरिन्छ ।
सूफीवादमा अल्लाह आफ्नो हृदयमा उपस्थित हुनुहुन्छ भन्ने अनुभूतिका साथ सम्पन्न गरिने ध्यान “मुराकÞबा” गहिरो मौन ध्यान ध्यान अत्यधिक व्यवस्थित छ । व्यक्तिगत अहंको पूर्ण विलयका अपेक्षामा यस परमपराले अपनाइने मुख्य मुख्य ध्यानका रूपहरू :
धिक्र–ए–खाफी मौन जप
धिक्र–ए–जली उच्च–स्वरमा गरिने जप
समाअ सङ्गीत÷कव्वाली ध्यान
रकस ÷घुमाउने ध्यान मेवलवी परम्परा
फना–फिल–लाह
बाकस –बिल–लाह
दिव्य चैतन्यमा स्थापन हेतु अल्लाहको–प्रेम र अहंकारको विलयका लक्ष्यसाथ सम्पन्न गरिने माथि चर्चा गरिएका ध्यानका प्रकारहरूका नाममात्र यहाँ राख्न सकियो । थप अध्ययनपश्चात् भावि दिनहरूमा आउने अन्य आलेखमा यस सन्दभर्मा विस्तृत छलफल हुनसक्ने छन् ।
क्रिश्चियन परम्परामा ध्यान ः
आत्म–परिवर्तन, ईश्वर–प्रेम, पवित्रताका लक्ष्यका साथ ध्यान गर्ने परम्परा पाइन्छ । क्रिश्चियन मिस्टिसिज्ममा ध्यान महत्वपूर्ण परम्परा हो । प्रारम्भिक क्रिश्चियन अभ्यासमा मौन ध्यान र एकान्त अभ्यासका साथै कैथोलिक र ओर्थोडक्स परम्परामा श्वास र मौनमा एक–शब्द प्रयोग, निरन्तर जप, धार्मिक पाठमा ध्यान, ईश्वरको अनन्त प्रेममा मौन–भक्तिका प्रथा पाइन्छन् ।
ध्यानलाई मौनताका को अभ्यासबाट क्रिश्चियन परम्परामा आत्मालाई शान्त बनाउँदै व्यक्तिलाई आत्म–अनुशासन, पश्चात्ताप र अन्तर्यात्रातिर डोहो¥याउने कर्मका रूपमा लिने गरिन्छ । मौनता अर्थात् ध्यानलाई परमेश्वरको उपस्थितिलाई सुन्ने या अनुभूत गर्ने अभ्यास मानिन्छ । त्यस्तै, पाठ–चिन्तन बाइबलको वचनलाई ध्यानपूर्वक पढी, जीवनमा यसको अर्थ र मार्गदर्शन खोज्ने कार्यका पनि ध्यान क्रियामार्फत सम्पन्न हुन्छ । यी अभ्यासले क्रिश्चियनलाई परमेश्वरसँग गहिरो सम्बन्ध बनाउन, आध्यात्मिक विवेक वृद्धि गर्न र चरित्र निर्माणमा सहायतापूर्ण भूमिका खेल्छन् भन्ने कुराको विश्वास गर्ने गरिन्छ ।
भिन्न पन्थहरू, सम्प्रदाय तथा मतहरूमा ध्यानको उपयोगितात्मक साम्यता ः
सबै परम्परामा मौन–स्थिति र आन्तरिक अवलोकनको अभ्यासका रूपमा ध्यानलाई अनिवार्य मानिन्छ । जप ÷ स्मरण जस्ता ध्यानका बहुदा रूपहरूलाई सबै सम्प्रदायमा समान रूपमा अपनाइन्छ । जस्तै वैदिक र बौद्धमा मन्त्र, इस्लाममा जÞिक्र भनेजस्तै क्रिश्चन मतमा जेसस प्रेयर नामबाट गरिने मौन प्रयोगलाई महत्व दिने गरिन्छ । ध्यानलाई अहिले मनोविज्ञानले पनि तनाव घटाउने विश्वव्यापी विधिका रूपमा स्वीकारेको छ । आधुनिक चिकित्सकीय अध्ययनहरूले पनि ध्यानले पनि रक्तचाप घटाउने, स्लीप–क्वालिटी बढाउने, डिप्रेसन कम गर्ने जस्ता उपयोगी अभ्यासका रूपमा ध्यानलाई अपनाउने गरेको पाइन्छ ।
ध्यान परम्परामा रहेका भिन्नता :
वैदिक हिन्दूहरूमा अनेक देव–योग, तन्त्रलगायतका बहुधा योग–प्रणाली तिनीहरूका फरक फरक ध्यान प्रणाली छन् । त्यस्तै क्रिश्चियनमा भक्ति–विश्वास केन्द्रित मौन–प्रार्थना हुन्छ । इस्लाममा भने केवल एकेश्वरवादमा आधारित ध्यान हुने गर्दछ । बौद्ध परम्परामा ईश्वरको कुनै अस्तित्व नभएको ध्यान गर्ने गरिन्छ । त्यो ध्यान अरू पन्थ र परम्परा भन्दा भिन्न पाइन्छ । अरू मत या पन्थका अनुयायीहरूले अपनाउने आस्था र विधिलाई हेर्दा बौद्ध परम्परामा रहेका बहुधा ध्यान विधिहरू तुलनात्मक रूपमा आदर्शमा आधारित र विज्ञानका सन्निकट पाइन्छन् ।
ध्यानप्रतिको समकालीन मनोवैज्ञानिक दृष्टिकोण :
मानवसभ्यताको पुरै इतिहास अध्ययन गर्दा ध्यान एक साझा आध्यात्मिक र मनोवैज्ञानिक अभ्यास हो । यद्यपि ध्यानका नामहरू, विधिहरूका, सैद्धान्तिक आधार र लक्ष्यहरू फरक देखिए पनि प्रत्येक परम्पराले अन्ततः मानव चेतनाको उन्नयन, अहंकारको शमन, शान्ति, करुणा र आत्म–अनुभूतिको प्राप्तिलाई मुख्य केन्द्र बनाएको हुन्छ भन्ने सन्दर्भ माथी नै पर्याप्त चर्चा भइसकेको छ । अत्यन्त संक्षेपमा भन्दा वैदिक परम्परामा आत्म–परमात्मा ऐक्य; बौद्ध परम्परामा निर्वाण; इस्लाममा अल्लाहका स्मरणद्वारा हृदय शुद्धीकरण; क्रिश्चियन परम्परामा ईश्वरप्रतिको प्रेम यी सबैले मानव अस्तित्वलाई उच्चस्तरको चेतनातर्फ उन्मुख गराउँछन् । ध्यानका लक्ष्यहरू अलग भए पनि अहंकारको विलय, करुणाको उद्भव, आन्तरिक शान्तिका लागि अत्यन्तै प्रभावकारी अभ्यासका रूपमा धेरै मतहरूले, संस्कृतिहरूले र बहुधा भूगोलका मान्छेहरूले ध्यनलाई बहुउपयोगी मानसकृया मानेर र जीवन उपयोगी साधना ठानेर समान रूपमा सम्मान र स्थान दिइएको पाइन्छ । अन्ततः ध्यान, विशेष धर्मको मात्र सम्पत्ति होइन अध्यात्मको औजारमात्र पनि होइन । यो त मानव चेतनाको स्वभाविक विकास–मार्ग हो ।
समग्रमा अध्यात्मले ध्यानलाई ईश्वर, अल्लाह, यशु या बुद्धका नाममा उनीहरूलाई खुसी पार्न या तिनीहरूका कृपापात्र बन्न अनि तिनीहरूका जस्तै असल बाटोबाट जीवनयात्राको माध्यममा लीन हुने अभ्यासका रूपमा लिन्छ । अर्थात् पदार्थ चेतनाबाट उत्पन्न हुन्छ, चेतना पदार्थबाट होइन । ध्यान (चेतना) आत्मामा निहित हुन्छ; शरीर मरेपछि पनि आत्मा र चेतना अमर रहन्छ भन्ने विश्वास उनीहरूको हुन्छ । शरीरलाई आत्माले प्रयोग गर्ने उपकरण वा साधनका रूपमा लिइन्छ । शरीर मरे पनि आत्मा अर्को शरीरमा प्रवेश गर्न सक्छ भन्ने पुनर्जन्म र पूर्वजन्मको धारणा उनीहरूमा विश्वास बनेर जमेको हुन्छ । यो विश्वास दिव्य वा सार्वभौम चेतनाका रूपमा अध्यात्मवादी परम्परामा बलियो गरी टाँसिएको हुन्छ । वेदान्तले ’ब्रह्म सत्यम् जगत मित्थ्या’ ब्रह्म नै सत्य हो, यो जगत माया हो अथवा झुट्टा हो भन्ने गर्दछ र अध्यात्मवादीहरूका अनुसार ध्यान (चेतना) कुनै भौतिक प्रक्रिया होइन, तर आत्मा वा परम चेतनाको दैवी गुण हो । चेतना नै विश्वको मूल स्रोत हो, र पदार्थ त्यसको प्रकट रूप वा परिणाम हो । त्यसैले ध्यानलाई पनि अध्यात्मले आत्मशुद्धि र ब्रम्हचिन्तनको साधनका रूपमा मात्र लिने गर्दछ ।
ध्यान भौतिक परिशीलन पनि हो र मस्तिष्क अभ्यास हो ।
द्वन्द्वात्मक भौतिकवादीहरूका परिभाषाामा “ध्यान” भौतिक संसारबाट स्वतन्त्र रूपमा अस्तित्वमा रहेको कुनै आत्मा वा अदृश्य शक्तिको चिन्तनामा लीन हुनु होइन, बरु उच्चतर रूपको भौतिक संगठनकार्य, अर्थात् मस्तिष्कको कार्य हो । द्वन्द्वात्मक भौतिकवादका अनुसार विश्वको आधारभूत तत्व “पदार्थ” हो । पदार्थ नै वास्तविक छ र चेतना त्यसको उत्पादन हो । पदार्थको छेदन र भेदन गर्दै अणु, परमाणु हुँदै न्युट्रोन, प्रोटोन, इलेक्ट्ररोनदेखि क्वार्जसम्मको बाटो हुँदै विज्ञानले जब पदार्थ विकासबाटै जटिल जैविक रूपमा मानव मस्तिष्कमा पुग्छ, तब त्यसले विचार, संवेदना, निर्णय, स्मृति आदि उत्पन्न गर्दछ । त्यसैले चेतना भौतिक मस्तिष्कको उच्चतम कार्य हो, यो कुनै अलौकिक आध्यात्मिक वस्तु होइन । मानव चेतना केवल व्यक्तिगत जैविक मस्तिष्कको परिणाम मात्र पनि होइन । यो त समाज, श्रम, अनुभूतिका साथ भाषा तथा संकृतिको विकाससँग घनिष्ठ रूपमा सम्बन्धित छ । मानिसको भौतिक जीवन–स्थिति अर्थात् मान्छेको आर्थिक, सामाजिक अवस्थाले नै उसको चेतनालाई निर्धारण गर्छ भनेर माक्र्स र एङ्गेल्सले भनेजस्तै मेरो विश्वासमा पनि चेतना पदार्थका उच्चतम अवस्थाबीच अन्तःक्रिया हुन्छ । चेतना भौतिक अवस्थाबाट उत्पन्न भएर नै मानिसको व्यवहार र भौतिक संसार परिवर्तन गर्न सक्षम हुन्छ । तसर्थ मानवीय चेतना पनि उसको साँस्कृतिक, समाजिक र ऐतिहासिक विकाससँग सम्बन्धित हुन्छ । चेतना कुनै दैवी वा आत्मिक शक्ति होइन, यो त भौतिक संसारको उच्चतम विकासको रूप हो भन्ने अभिभावनाका आधारमा म दृढ छु । त्यसै विश्वासका मचानमा टेकेर विचार, चिन्तन र ज्ञानको स्रोतलाई समेटेर शुत्रिकृत गर्ने भौतिक मस्तिष्क सन्धान कृयाका रूपमा ध्यानलाई लिने गर्दछु ।
अन्तमा,
प्रातःकालको व्यायाम, योग र प्राणायामपछि शरीर र मन दुवै हलुका हुन्छन् । त्यसपछि त्यसै आशनमा जब आँखा बन्द गरेर म ध्यानमा बस्छु, आफू र यो विश्वबीचको सम्बन्ध सरल रूपमा केलाउन थाल्छु । म सोच्न थाल्छुः “म को हुँ ? म के गर्दैछु ? मेरो जिम्मेवारी के हो ?” यी प्रश्नहरूका सहज र गम्भीर उत्तरका साथमा म गहिरिँदै जान्छु ।
ध्यानको गहिरो नीरवतामा म आफ्नो जीवनका क्रियाकलापहरूको समीक्षा गर्न थाल्छु— के मैले आफ्नो सरीर, आफ्नो परिवार, आफ्नो समाज, देश, धरती र विश्वप्रति सम्यक दृष्टि राखेको छु ? म कत्तिको कर्तव्यनिष्ठ छु ? मेरा सूचना जानकारी, सोच, र समझदारीलाई कति न्याय गरेको छु ? मैले पाएको अवसर र समयलाई कति सार्थक बनाएको छु ? यसरी आफ्नो जीवनका क्रियाकलापहरूको समीक्षालाई ध्यानको विषय बनाउने गरेको छु । त्यस क्रममा एक दिन एउटा सानो सन्दर्भलाई लिएर त्यसैमा केन्द्रित हुन प्रयास गर्दछु । त्यस सन्दर्भ र त्यससँग सरोकार राख्ने र त्यस सन्दर्भसँग जोडिएर उपस्थित हुने सवालहरूमा केन्द्रित भएर छोटो मनोवाद गर्दछु । मेरो जीवनको बाटो कस्तो छ, र मृत्यु पछि मेरो अस्तित्वको अर्थ के रहला ? अर्थात् मेरो सुकीर्ति या दुश्कृति यो धराधाममा छाड्ने सन्दर्भ के कस्ता होलान् ? यी प्रश्नहरूले आत्ममूल्याङ्कन गर्न प्रेरित गर्छन् । एक किसिमको निर्मलता, निस्कपटता पल्लवित हुन्छ र अन्तर–साक्षात्कारको यथार्थ अवस्था उत्पन्न हुन्छ । त्यो क्षणमा म आफ्नै अस्तित्वका मूल स्रोतहरूसँग उडान भरेको महसुस गर्छु । ध्यानका ती केही क्षणहरूमा आत्मनिरीक्षणको गहिरो अनुभूति हुन्छ र यही अनुभूतिको परिशीलन र नियमित अभ्याससँगै पल्लवित हुँदै गरेको भावनात्मक अवस्थाको परिणति नै आनन्दको स्रोतका रूपमा म पाउने गर्दछु ।
ध्यान गर्दा हाम्रो व्यस्त र अनुशासनमा बस्न नचाहने मस्तिष्कले अनेक तस्बिरहरू, यादहरू, योजनाहरू ल्याउँछ, तर अभ्यास बढ्दै जाँदा ती सबै स्मृतिका झोक्काहरू, हल्लापुञ्जहरू शान्त हुँदै जान्छन् । अन्ततः एउटा स्थिरता र सन्तुलन महसुस हुनथाल्छ । त्यो शान्त अवस्था क्रमशः अनुभूतिमा झाँगिँदै जान्छ । त्यो अमोघ प्राप्तिलाई शब्दमा बाँध्न कठिन हुन्छ । त्यो अवर्णनीय शान्ति र आनन्दले मनमा त्याग, समर्पण, करुणा, सहिष्णुता र प्रेमको भाव बढाउँछ । यो अभ्यास निरन्तर दोहो¥याउँदा बानीमा परिणत हुन्छ । ध्यानले सोचलाई निर्मल बनाउँछ, निर्णयलाई गहिरो र कर्मलाई सजग बनाउँछ । म महसुस गर्छु, यो अभ्यासले मलाई गलत कर्म र नकारात्मक भावनाबाट टाढा राखिरहेको छ । रिस, ईष्र्या, चिन्ता वा लोभ जस्ता भावनाहरूको प्रभाव घट्दै गएको महसुस हुन्छ ।
आज म बुझ्न थालेको छु— ध्यान कुनै तान्त्रिक रहस्य होइन । यो त हाँसेर जीवन बाँच्ने एक कला हो ।यसले शरीर, मस्तिष्क र भावनाको त्रिकोणात्मक सम्बन्ध कायम गर्छ । ध्यानपछि म दैनिक काममा अझ केन्द्रित, स्थिर र सकारात्मक बन्छु । जब म हरेक दिन केही समय ध्यानमा बिताउँछु, त्यो क्षण मेरो जीवनको सबैभन्दा चोखो र आनन्ददायी पल बन्छ ।
ध्यानले मलाई सिकाएको छ— शान्ति बाहिर मात्र होइन, आफैँभित्र छ । अनि त्यो शान्ति पाउन न कुनै ठूलो प्रयास चाहिन्छ, न कुनै अदृष्य शत्ताको भजन कीर्तन या पूजन, न कुनै तिर्थयात्राको खाँचो पर्छ; केवल समर्पण र ईमानका साथ अन्तरसंवाद चाहिन्छ । अन्ततः त्यही ध्यानको असली आनन्दको मुना अङ्कुरित हुँदै हुँदै निरन्तरताबाट मस्तिष्कसाधना र आत्मकेन्दित जागरणको प्रतिफलका रूपमा भावनाको कल्पबृक्ष बन्ने हो । फेरि पनि त्यही साधना नै कल्पबृक्षको पीयुशमय शीतलताका साथ चिरन्तन आनन्दप्राप्तिको सहज र सुललीत बाटो हुने हो । यसै आलोकमा उभिएर म अन्तर अनुभूतिमा भन्दछु— ध्यान चिरन्तन रूपमा स्थापित, हाम्रो अनुपम आय हो । अझ यो त अविरल आनन्दको अमोघ यात्रा अनि जीवनको अकूत आर्जन हो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
