चार मुक्तक : रामप्रसाद पुरी
कपन अनलाइन
काठमाण्डौ ,फागुन ९।
कसैको केही लाग्दैन अचानक धर्ती फाटेपछि
अरूको छैन आशा गर्ने भन्ने नै आफैँ चाटेपछि
क्षणिक जोसले जीवनमा मात्रै नोक्सान ल्याउँछ
चढ्न सकिदैन सिँढी आधार भर्याङ काटेपछि ।
जहाँतहाँको पानी नपिउनु होला जहर पसेको छ
उमेर गयो बल्ल केही गरौँ भन्ने रहर पसेको छ
कुखुरा चोर्ने स्यालले सुन, धनमनपरि चोर्छ रे
झ्याल ढोका राम्ररी थुन्नुहोला स्याल सहर पसेको छ ।
मुलुक परिवर्तनका लागि चुनावमै जादु बनाउँछन्
सत्तामा पुगेपछि, सर्वसाधारणलाई काबु बनाउँछन्
छिट्टै देश बनीहाल्ने समय भनेको सधैँ निर्वाचन हो
बहुमतले जितेपछि जनतालाई नै आलु बनाउँछन् ।
अश्लील दृश्य, खराब लतले हाम्रो मानसिकता बिगार्न सक्छ
स्वच्छ वातावरण र उपयुक्त शिक्षाले जीवन स्वीकार्न सक्छ
ज्ञान थप्छ आधुनिक प्रविधिको युगमा पनि पुरानो दर्शनले,
बौद्धिकतामा गहन अध्ययनले सिञ्चन गरि निखार्न सक्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
