नेपाली लघुकथाः हिजो र आज : लता के. सी.

नेपाली लघुकथाः हिजो र आज : लता के. सी.

कपन अनलाइन

काठमाण्डौ,फगुन २।

नेपाली लघुकथा कहिलेदेखि लेखिए ? भनेर ठोकुवा गर्ने अवस्था छैन । परापूर्वकालदेखि नै यसको प्रयोग भएको देखिन्छ । उपनिषद, महाभारत जस्ता धार्मिक ग्रन्थमा, कथाकुथुङ्री र जनबोलीको उखान टुक्कामा लघुकथाको झलक पाउन सकिन्छ । लघुकथाको इतिहास आजका लागि खोजको विषय बनेको छ । प्रा. डा. दयाराम श्रेष्ठको अनुसन्धान अनुसार १९९२ साल जेठ ३२ गतेको गोरखापत्रमा प्रकाशित युगकवि सिद्धिचरण श्रेष्ठको प्रतिहिँसा शीर्षकको लघुकथा पहिलो नेपाली लघुकथा हुन सक्छ भनेर मधुपर्क, २०८० कार्तिक अङ्क, पूर्णाङ्क ६४९ मा लेख्नु भएको छ ।
(साभार – घुयँत्रो द्वैमासिक ः युगकवि सिद्धिचरण श्रेष्ठ विशेषाङक, वर्ष – ३, अङ्क –३, पृष्ठ – ११–१२)
२००७ सालमा नेपालमा जसै राजनैतिक परिवर्तन भयो, साहित्यको क्षेत्रमा पनि परिवर्तनका संभावनाहरू देखिन थाले । २००७ सालपूर्व राणाकालीन समयमा दबिएर बसेका नेपालीहरूले गोप्यरूपमा शासन व्यवस्थाविरूद्द केही लेख्थे तर ती बाहिरिन कठिन थियो । शासन व्यवस्थाको कठोर ब्यबहारको प्रभावले जनमानस खुम्चिएको अवस्थामा थियो । यसैले पनि होला, लघुकथाको इतिहास पर्याप्त मात्रामा कोरिन सकेन ।
हुन त सात सालपूर्व पनि भिमनिधि तिवारीको दान, सिद्धिचरण श्रेष्ठको प्रतिहिँसा नेपाली लघुकथा लेखिएका तथ्यहरू आज फेला परेको अवस्था छ । लघुकथाहरू समेटिएको पुस्तक २००७ सालमा प्रकाशित पूर्णप्रसाद ब्राह्मणको झिल्का लघुकथासङ्ग्रहलाई पहिलो मानिएको छ । लघुकथाको विकास र बिस्तारकै लागि भनेर २०६५ सालमा संगठित भएको संस्था लघुकथा समाज नेपालले झिल्का लघुकथासङ्ग्रहलाई संरक्षण गर्न २०७८ साल भदौमा त्यसैको नवीन संस्करण प्रकाशनमा ल्याएको छ । यसै पुस्तकमा प्रा. डा. लक्ष्मणप्रसाद गौतम लेख्नुहुन्छ, “२००७ सालमा उनको झिल्का लघुकथासङ्ग्रह प्रकाशित भयो र यस कृतिले नेपाली प्रथम लघुकथासङ्ग्रह हुने अधिकार राखेको छ । यो नेपाली साहित्यमा त्यसभन्दा पूर्व कहिल्यै नभएको कार्य थियो र नै ब्राह्मण नेपाली लघुकथाका प्रवर्तक बने ।” यसरी हेर्दा लघुकथाको किताब प्रकाशन गर्ने इतिहास भने ब्राह्मणले नै रचेको मान्नु पर्छ ।
२००७ साल पछि २०३०सम्म लघुकथा र लघुकथासङ्ग्रहहरू फाट्टफुट्ट लेखिए । लघुकथाको विस्तारक्रममा यो समय सुषुप्त अवस्था रह्यो, मान्न सकिन्छ । तीसको दशकमा आएर लघुकथाको क्षेत्र केही बिस्तार भयो । यो दशक लघुकथाको उर्वर काल रह्यो । धेरै साहित्यकारहरूको प्रयासले लघुकथाको फाँट मौलाउने असर पायो । कागज र पानामा लघुकथा छापिने क्रम ह्वात्तै बढेर गयो । हवाइपत्रमा लघुकथा लेखिने र यसको प्रसार हुने चलन पनि यसै समयमा देखियो ।
पूर्वार्धमा लघुकथालाई तात्कालीन समय र समाजले खासै महत्वको दृष्टिले हेरेको पाइदैन । हेपाइको खप्की खादै भए पनि लघुकथा लेखिन भने छाडिएन । साठीको दशकमा आएर यसको बिस्तारक्रम फराकिलो हुन थाल्यो । छापा र पुस्तकमा मात्र सिमित नभएर लघुकथाको वाचन र प्रशिक्षण, अन्तरक्रिया र गोष्ठि आदि क्रियाकलाप पनि हुन थाले । यसै दशकबाट आजसम्म आइपुग्दा अब लघुकथाको क्षेत्र धेरे नै फराकिलो अवस्थामा आइपुगेको छ । अडियो, भिडियो र युट्युबमा प्रसस्तै लघुकथाहरू बज्न थालेका छन् । प्रविधिको प्रयोगले अब नेपाली लघुकथा संसारभरि पुग्न सकेको छ । यस क्षेत्रमा दिनानुदिन नयाँ प्रयोग र बिस्तारको रफ्तार बढेको छ । नेपाली लघुकथाको पहुँच आज विश्वविद्यालयसम्म पुगेको छ । लघुकथाहरू स्कुल कलेजका पाठ्यपुस्तकहरूमा समेटिन थालेका छन् । लघुकथाको चिन्तन, मनन, प्रयोग र अभ्यास गर्न सकिने सैद्धान्तिक पुस्तकहरू बाहिरिएका छन् । लघुकथालाई छोटा चलचित्र, मञ्चन र वृत्तचित्रमा पस्किने कदम ह्वात्तै बडेको छ । लघुकथासङ्ग्रह प्रकाशन र विमोचन कार्यमा त भेल नै आएको छ । गीतको माध्यमबाट पनि लघुकथाको बिस्तार गर्न सकिन्छ भन्ने सोचले हाम्रो लघुकथा पाठशाला फेसबुक पेजले लघुकथा गानको अडियो भिडियो निर्माण गरेर २०७८ साल जेठ १९ गते सार्वजनिक गरेको छ । लघुकथाको परिचय, विशेषता र इतिहासलाई समेटेको यो गान ऐतिहासिक कदम मान्न सकिन्छ । लघुकथासम्बन्धि गतिविधि समेटेर हाम्रो लघुकथा केन्द्रले २०७८ साल भदौ महिनादेखि मासिकरूपमा लघुकथाको समाचार प्रसारण गरिरहेको छ । हिजो लघुकथालाई साहित्यको अंश नै होइन भनेर कराउने व्यक्तिहरू आज लघुकथाकार बन्ने होडमा लागिपरेका छन् । यसरी हेर्दा साहित्यको आकासमा वर्तमान समय लघुकथाको समय हो भन्नु पर्ने अवस्था बनेको छ । छापा, पत्रिका र पुस्तकबाट सुरू भएको लघुकथाको बिकासक्रम आज डिजिटल प्रविधिमा छाउन पुगेको छ । समय अनुसार नेपाली लघुकथाको विकासक्रम द्रुत गतिले बढिरहेको छ भन्ने प्रतीत हुन्छ ।
उसो त लघुकथा हिजो पनि लेखिए, आज पनि लेखिँदै छन् र भोलि पनि लेखिइ नै रहनेछन् तर कुरामा कुरा गर्दा लघुकथा के हो ? र कसरी लेख्ने भन्ने प्रश्न अहम् छ ।
शब्द र परिभाषामा जसले जसरी व्याख्या गरेपनि लघुकथा आख्यानको कान्छो विधा÷प्रविधा भएकोले आख्यान तत्व मिसाएर लेखिएको छोटो सिर्जना नै लघुकथा हो ।
हिजोका दिनमा लघुकथा लेख्दा सर्जक स्वतन्त्र थिए । छोटा कथा वा अलघुकथा भयो कि ? भनेर सोचिरहनु पर्दैनथ्यो तर लघुकथाको पहिचानको लागि भनेर वर्तमान समयमा जसै जसै सिद्धान्तको चर्चा हुन थाल्यो तसै तसै लघुकथा लेखन क्रिया अलि यान्त्रिक र जटिल पो भयो कि ? स्रष्टाको कल्पनाशीलता र भावनामा अङ्कुश पो लाग्यो कि ? भन्ने प्रश्नहरू पनि नउठेका होइनन् ।
सिमित पात्र, सिमित शब्द, एक परिवेश, एक वा दुई घटना, सशक्त विषयवस्तु र बुनोट, प्रयोजन, दृष्टिविन्दु, भाषा र शैली आदि यसका खास सैद्धान्तिक पक्ष हु्न् । हिजो सिद्धान्त नबनेको अवस्थामा पनि लघुकथामा यी तत्वहरूको प्रयोग भएकै थियो । फरक यत्ति मात्र हो कि आज लघुकथाको समीक्षा गर्ने क्रम बढेको छ र ती सैद्धान्तिक पक्षहरूको बहसको विषय बन्न थालेको छ ।
स्रष्टाले लघुकथा लेख्दा यिनका आङ्गिक पक्षलाई आत्मसात गर्ने कि बेवास्ता ? यसमा स्रष्टा स्वतन्त्र हुन्छ । कुनै पनि विषयका दुई पाटा हुन्छन् नै, सकारात्मक र नकारात्मक ! जुन लिने व्यक्तिमा भर पर्छ । मेरो आग्रह के हो भने सिद्धान्त लघुकथा लेखनका लागि मार्गदर्शक मात्र हो, बाधक होइन भन्ने कुरा बुझौँ । लघुकथा लेख्दा सीमित शब्द राख्नु पर्ने बाध्यता, आयाम र कालखण्ड दोष आदिका विषयमा चिन्ता गरेर होला कि ? हिजोआजका लघुकथामा कथानकको कमी देखिन थालेको पनि प्रष्ट छ । साह्रै छोटो लघुकथाले भन्न वा दिन खोजेको भाव र सन्देश नै अपुरो पो भयो कि ? सोच्न जरूरी छ ।
लघुकथाकृति प्रकाशन र विमोचनको तीव्र अवस्थामा आज नेपाली लघुकथाको गुणस्तर कायम गरेर यसलाई संसारभरि पुर्नुयाउनु  हामी सबै लघुकथाप्रेमीहरूको दायित्व र चुनौति पनि भएकोले यसप्रति गम्भीर हुनै पर्ने बेला आएको छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।