चार मुक्तक : नानु राना थापा

चार मुक्तक : नानु राना थापा
कपन अनलाइन
काठमाण्डौ ,माघ १७ ।
साथ दिन्छु भन्दै तिमीले झनै ढलाएर गयौ
तातो बनाउँछु है भन्दै उल्टै जलाएर गयौ
निश्चल र स्वच्छ थियो यो मन तलाउ जस्तै,
अचानक आयौ र अचानकै चलाएर गयौ ।

आफ्नैले पराई बनायो मिलेन भन्दै एकै मत
खोला तरिसकेपछि लौरोको परेन जरूरत
भावनाको कुरा गर्दै रेट्नु रेट्यो कोखाबाट,
आफ्नैले दिएको चोटको कसरी देखाउँ खत ?

भए पनि सक्नुपर्छ मनमा पिर लिएर बाँच्न
सिक्नुपर्छ पिडा मनमै लुकाएर बाहिर हाँस्न
मलिन अनुहार देख्ने बित्तिकै खुशी हुन्छन् शत्रुहरू,
केही गरेर देखाउँनुपर्छ शत्रुको अगाडि हुँदैन थाक्न ।

बाचा पूरा गर झिंगे माछा झैं पछाडि सर्नु हुँदैन
कर्तव्यबाट पछाडि सर्दै कसैको अपमान गर्नु हुँदैन
खुट्टा भए जुत्ता त पाईन्छ कति हो कति यहाँ,
कसैले धोका दिदैमा बाआमालाई भुलि मर्नु हुँदैन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।