मतपेटिकाको पीडा : अञ्जु चालिसे रूपाञ्जली (कविता)

मतपेटिकाको पीडा : अञ्जु चालिसे रूपाञ्जली (कविता)
कपन अनलाइन
काठमाण्डौ ,माघ १७ ।
फेरि पनि आयो चुनाव —
नारा र झण्डा सँगै,
वाचा र सपनाको भारी बोकेर
गाउँ–सहर ढाकियो ।
भोका पेटलाई स्वर्णिम भविष्य,
खाली हातलाई सुनौलो सपना देखाइयो ।
एक मतको मूल्य
रक्सी, मासु र नोटमा तोकियो,
आस्था बिक्यो, विवेकले प्राण तोड्यो ।,
अन्तरात्मा मौन बस्न बाध्य भयो ।
विद्यालय बन्द भए,
अस्पतालको बाटो छेकियो,
विकासको नाममा
दैनिक जीवन रोकिन थाल्यो ।
भोट खस्यो तर मतपेटिकामा होइन,
जनताको आशामा चोट प¥यो ।
जित्ने हार्ने दुवै मुस्काए,
जनता फेरि पर्खाइमा बाँचिरह्यो ।
चुनाव सकियो—नारा हराए,
पोस्टर च्यातिए,
भाषणको आवाज सकियो ।
हिजो “आफ्नै” भनिनेहरू
आज फोन नउठाउने भए ।
कर बढ्यो, सुविधा घट्यो,
मूल्यवृद्धि चुपचाप आयो ।
जनताको पसिना
सत्ताको सुविधाको लागि मलजल बन्यो ।
विकास कागजमै सीमित रह्यो,
जवाफदेहिता भाषणमै हरायो ।
अरब खर्चिएर
गरिबी जित्ने नाटक भयो,
देशले तिर्ने ऋण बढ्यो,
जनताले पाउने दुःख थपियो ।
लोकतन्त्रको उत्सव मनाइयो ।,
तर पीडा जनताकै भागमा थपियो ।
फेरि पाँच वर्षपछि
उही नारा, उही अभिनय,
उही भीड, उही भ्रम—
मतदाता फेरि भरोसामा उभिन्छ ।
देशको दुर्भाग्य, जनताको विवसता
न भाग्य जोड्ने कसी न सुख लेख्ने मसी
मतपेटिकाको अव्यक्त पीडा
चुनाव जनतामाथिको
युगौँ देखिको दुखद कथा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।