काव्य : गङ्गा आचार्य सापकोटा ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ १७ ।
काव्यआनन्दको भव्य भण्डार हो
काव्य नै शान्तिको मुख्य आधार हो
जिन्दगीका व्यथा काव्यमा पोखिदा
बन्दछन् ती कथा भावना घोलिदा ।१।
भावना कल्पना काव्यका सार हुन्
व्यञ्जना लक्षणा काव्यका हार हुन्
काव्य राम्रो कला हो कलाकारको
काव्य चैतन्यको हो चमत्कार यो ।२।
काव्य सङ्गीत हो काव्य नै गीत हो
शब्द खेलाउने काव्यको रीत हो
काव्य नै हो घडा भाव पीयूषको
काव्य नै हो छटा दिव्य सौन्दर्यको ।३।
काव्य नै हो सिधा मार्ग देखाउने
काव्य नै हो उषा ज्योति फैलाउने
गर्दछन् जो यहाँ काव्यको साधना
डुब्दछन् ती सदा काव्यका रागमा ।४।
काव्य नै ध्यान हो काव्य नै ज्ञान हो
मानवी चेतको काव्य उद्यान हो
काव्यले गर्छ चौतर्फको चित्रण
काव्य हो आखिरी विश्वकै दर्पण ।५।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
