हाँस्नु कसरी ?? त्रिलोचन आचार्य

हाँस्नु कसरी ??  त्रिलोचन आचार्य
कपन अनलाइन
काठमाण्डौ ,माघ १७ ।

गरेँ खेतीपाती कृषक म बनी, खेत दगुरी
पुरानो भैहाल्यो तर घर स्वयं, हेर न धुरी
बनौँ ज्ञानी भन्दै पर पर पुगे सन्तति झरी
भएँ बूढो आफैँ सकस छ सधैँ, हाँस्नु कसरी ?

न बारीमा कुद्ने वय छ नि छरौँ बीजन भने
न भारीमा हिँड्ने लय छ नि गए बर्कत हुने
भए बेँशी खोला अनि वन बुटा दुर्गमसरि
बसी यै पाखामा विकल तनले, हाँस्नु कसरी ?

गए छोरा छोरी पर पर चरौँला कि त भनी
कहाँ सक्ने रोकी बस घर भरौँला नि त भनी
दिने पानी छैनन् विकटसरि यै आँगन पनि
उडायो चिन्ताले मन दश दिशा, हाँस्नु कसरी ?

त्यतै मिल्ने होला सहजसँग त्यो चामल पिठो
भनी बस्ती छोडेँ शहरतिर त्यो पाउन मिटो
लिएँ कोठा भाडा नगद नहुँदा रोप्दछ छुरी
भएँ हावा कावा मलिन मुुखले, हाँस्नु कसरी ?

सबै नानी बस्ने पर पर कता भेट नहुने
त्यतै गर्छन् आफ्नो दुखसुख छ को पेट नहुने ?
बिमारीले छोयो न नगद बचौँ औषधि गरी
व्यथाले च्याप्ने भो हल न चल भै, हाँस्नु कसरी ?

कहाँ बस्ने होला मन मन छ वृध्दाश्रम पुगौँ
हिजोको जोधा यो कृषक मन भन्दैछ नकुदौँ
सुतौँ भोकै नांगै कि त हित हुने हो कि त मरी ?
भनेँ छाती चिर्दै चरर भन हे ! हाँस्नु कसरी ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।