चार मुक्तक : चन्द्रा न्यौपाने

चार मुक्तक : चन्द्रा न्यौपाने

कपन अनलाइन

काठमाण्डौ ,पुस २६।

मुक्तक १
‘डम्पिङ साइट’ सोचेर दिए उपहार मलाई
खिया लागेका सामानले दिंदै छन् प्रहार मलाई
यतिविधि हेपाइ अनि दिएर अनगिन्ति चोट,
कसरी भन्न सकेका ? “बन्नू सदाबहार” मलाई ।
मुक्तक २
सकल स्वतन्त्र भई दुःख सुख गरी खान पाऊन्
उच र नीच हटेर यहाँ सबले सम्मान पाऊन्
खाली हात आयौँ आखिर जाने पनि त खाली हातै,
सत्कर्म गरी अन्त्यमा इज्जतले मरी जान पाऊन् ।
मुक्तक ३
घरमा लागेको माकुराको जालो म सारा झारिदिन्छु
सुख र सयल सकल आमाकै पोल्टामा पारिदिन्छु
सजिलो कत्ति नभए नि यहाँ अनेक जञ्जीर तोड्न,
परी आयो भने आमा बचाउन म स्वयं हारिदिन्छु ।
मुक्तक ४
च्यातिएको छ, मेरी आमाको चोली खै कताबाट सिऊँ ?
पुछिएका कलिला सिउँदा खै कुन रङ्गले पोतिदिऊँ ?
स्वर्गसरिको यो घरमा बढ्दा आज दानवी रजगज
अमृतको कलशमा कालकूट रैछ खै कसरी पिऊँ ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।