मेरो बाबा : एलिना बुढा ( कविता )

मेरो बाबा : एलिना बुढा ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,पुस २६।

पैसा माग्दा
कहिल्यै “छैन” भनेनौ तिमीले – बाबा,
गोजी रित्तो हुँदासमेत
“एैया” भन्ने शब्द
कहिल्यै तिम्रो मुखबाट सुन्न परेन बाबा ।
मनभित्र कति पीडा, कति कष्ट थन्क्याएर
हामीतिर मात्र मुस्कान बाँड्यौ बाबा ।

हाम्रा इच्छा र आवश्यकताहरू पूरा गर्न
तिमीले आफ्नै सपनाहरू त्याग्यौ बाबा ।
आज बल्ल बुझ्दै छु,
तिम्रो मौनताभित्र
कति गहिरो पीडाको समुद्र लुकेको रहेछ बाबा ।

तिमी सधैँ यही चाहन्थ्यौ—
तिम्रा छोराछोरी
तिमीभन्दा पनि योग्य बनून् बाबा ।
अब बुझ्दै छु,
“पछाडि तान्नलाई
यो दुनियाँ नै काफी छ”
भन्नुको अर्थ बाबा ।

यो समाजलाई हेर्दै जाँदा,
यसैमा मिसिँदै गहिरिँदा,
लाग्छ ,
तिमीले हरेक चोटि
हामीलाई ढाल बनेर जोगायौ बाबा ।

बाबा नहुनेहरूको जीवनमा
दुःखका बादल मडारिन्छन्,
तिमी भएका कारणले नै
मैले आफ्ना सपना
आकाशजस्तै फराकिला देख्न पाएँ बाबा ।

सधैँ किन पुराना, टालिएका कपडा लगाउँछौ
भनेर सोच्थेँ म,
आज पछुतो लाग्छ
कपासजस्तै नरम तिम्रा शब्दलाई
छुराजस्तै ठानी
तिमीसँग झगडा गरेकोमा बाबा ।

तिम्रा अधुरा सपनाहरू बटुलेर
निलाम्बर आकाशमा
पङ्ख फैलाएर उड्ने चरा म बन्नेछु बाबा ।
तिम्रो सन्तान भएर जन्मिन पाउँदा,
म कोटी–कोटी धन्य छु बाबा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।