आमा लुकाऊँ कसरी म दुख्ख ? त्रिलोचन आचार्य ( कविता )

आमा लुकाऊँ कसरी म दुख्ख ?  त्रिलोचन आचार्य ( कविता )

कपन अनलाइन

काठमाडौं,पुस ५।

छाया छरी जीवनमाथि फेरि
ल्याएर राख्यो कसले अँधेरी ?
हो आज छाती कति छैन ढुक्क
आमा लुकाऊँ कसरी म दुख्ख ?

कोही असाध्यै सुख चैनमा छन्
कोही अझै त्यो पथमा रुँदैछन्
सुन्दैछु मैले कति सुँक्क सुँक्क
आमा लुकाऊँ कसरी म दुख्ख ?

राम्रा गरामा घर मात्र फल्छन्
सक्ने युवा ती परदेश चल्छन्
मागेर खाने कति लाग्छ दिक्क
आमा लुकाऊँ कसरी म दुख्ख ?

लुट्ने सधैँ लुट्न जुटी रहेछन्
अन्यायमा हात उठी रहेछन्
हेरौँ सधैँ यो कति ठाक्कठुक्क
आमा लुकाऊँ कसरी म दुख्ख ?

टेक्छन् पराई जन काँध तिम्रो
मिच्छन् अनेकौँतिर साँध तिम्रो
चर्को छ आँधी किन फुल्नु पुक्क ?
आमा लुकाऊँ कसरी म दुख्ख ?

बोकेर त्यो बन्दुक शान्ति हुन्न
पोलेर त्यो सन्दुक कान्ति हुन्न
भन्ने नबुझ्ने अघि छन् सुरुक्क
आमा लुकाऊँ कसरी म दुख्ख ?

यो द्वन्द्व त्यो द्वन्द्व सधैँ छ द्वन्द्व
को गर्छ आई गतिलो प्रबन्ध ?
के बन्नु यस्तो भयमा फुरुक्क?
आमा लुकाऊँ कसरी म दुख्ख ?

टप्किन्छ जैल्यै गहभित्र आँसु
देखिन्छु रुन्चे कति भन्छु हाँसु
निर्धो छु उठ्ने कसरी जुरुक्क ?
आमा लुकाऊँ कसरी म दुख्ख ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।