नयाँ पुस्ताका आँखामा मेरो देश नेपाल : पुष्पा दाहाल ( कविता )

नयाँ पुस्ताका आँखामा मेरो देश नेपाल : पुष्पा दाहाल ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २२।

नयाँ आखामा मेरो देश नेपाल
सुन्दर, शान्त विशाल
सुनौला नयाँ दृष्टिहरूले
जोस, जागर सीपका पाखुरीहरूले
देशको स्वर्णिम चित्र कोर्नु छ यहाँ
आहा ! नयाँ पुस्ताको आँखामा मेरो देश नेपाल ।
सुरम्य हिमश्रृङ्खला नियाल्दै
कठिन पहाडका ढिस्काहरू छिचोल्दै
विकाशका मूलढोकाहरू खोल्दै
मन, मुटुमा, आँखाको नानीमा
पुर्खाको असिम धरोहर, पौरखी हातहरूमा
देशको झण्डा स्वाभिमानले फर्फराउनु छ
नयाँ आँखामा मेची काली समान
भोकाएकाहरूको अगेनीमा आगो भर्भराउनु छ
विश्वासको दरिलो खम्बा बनेर देशकै लागि बाँचेको प्राण
नातावाद,कृपावाद अनि कुशासनका विरुद्ध जुर्मुराउनु छ
आहा ! नयाँ पुस्ताका आँखामा मेरो देश नेपाल ।
नयाँ पुस्ताको नेपालमा
लक्ष्यमा अडिग पाईलाहरूले
भ्रष्टताको पर्खाल ढल्ने छ जरुर
अन्धकार रातहरूलाई छिचोल्दै
हरेक सङ्घारमा, हरेक विहानी
शान्तिको दीप बल्ने छ जरुर
आहा ! नयाँ पुस्ताको आँखामा मेरो देश नेपाल ।
सारङ्गीको धुनसँगै, आकाशको जूनसँगै
भीर, पाखा, पखेरा अनि समथर फाँटहरूमा
श्रम, र सिपले बुट्टा कोरिन्छ अब
पौरखी पाखुरीले आफ्नै आँगन पोत्नु पर्छ
आधुनिक प्रविधिले बाजो खेत र बारी जोत्नु पर्छ
हातमा हात मिलाई खुसीले भकारी भरिन्छ अब
पसिना आफ्नै माटोमा पोख्नु पर्छ
युवाले देश नछोड्ने सम्झौता गरिन्छ अब
आहा ! नयाँ पुस्ताको आँखामा मेरो देश नेपाल

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।