सधैँ जिन्दगी : त्रिलोचन आचार्य (कविता )

सधैँ जिन्दगी : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २२।

सधैँ जिन्दगी घामझैँ चम्किने होस्
सधैँ जिन्दगी यामझैँ लम्किने होस्
सधैँ जिन्दगी दिव्य आनन्द भेटोस्
सधैँ जिन्दगी रम्यता मात्र देखोस्

सधैँ जिन्दगी शान्तिमा बाँच्न पाओस्
सधैँ जिन्दगी मस्तले हाँस्न पाओस्
सधैँ जिन्दगी चेत उत्कृष्ट पाओस्
सधैँ जिन्दगी खेतझैँ उर्बरा होस्

सधैँ जिन्दगी हातझैँ होस् स्वतन्त्र
सधैँ जिन्दगी पातझैँ होस् स्वतन्त्र
कतै जिन्दगी रात जस्तो नहोओस्
कतै जिन्दगी घात भन्ने नपाओस्

सधैँ जिन्दगी मूल जस्तै सफा होस्
सधैँ जिन्दगी पूmल जस्तै सफा होस्
सधैँ जिन्दगी बुध्दझैँ मानिने होस्
कतै जिन्दगी युध्द जस्तो नहोओस्

सधैँ जिन्दगी विश्व बन्धुत्व मानोस्
सधैँ जिन्दगी प्रेमले उठ्न जानोस्
भुलोस् जिन्दगी नित्य गाली प्रशंसा
भनोस् जिन्दगी हुन्न हत्या र हिँसा

कतै जिन्दगी लोभ बोकी नबाँचोस्
कतै जिन्दगी गर्न सेवा नसाँचोस्
कतै जिन्दगी थप्न बैरी नरोजोस्
सधैँ जिन्दगी कर्मको मार्ग खोजोस् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।