जेनजी मन्त्री : महेन्द्र चालिसे (लघुकथा)
कपन अनलाइन
काठमाडौं ,मंसिर १८।
वातावरण उकुसमुकुसको छ । यति प्रदुषित छ कि जेनजे पुस्ताले सास फेर्न सकिरहेको छैन । तर यो प्रदुषण वातावरणको नभएर राजनीतिले ल्याएको भ्रष्टाचार, कुसाशन, नातावाद, बेरोजगारी र बेथितिको थियो । यस पृष्ठभूमिमा समाजमा एउटा ठुलै बिष्फोटले बाटो हेरिरहेको थियो । तर त्यो पुस्ताले नेतृत्व भेटिरहेको थिएन । सर्वसाधारण नागरीकलाई यहिं आभास भैरहेको थियो । तर नागरीकको आभास गलत रहेछ किनकि जेनजे पुस्ताबाट भित्र भित्रैबाट सलाइ कोरिसकेछन् ।
प्रविन, रविन, मिथिला, रविना, मिथेश जस्ता जेनजेहरूले अघोषित समुह तयार पारेर आन्दोलनको तयारी गरी तिथि मिति पनि त तोकिसकेछन् ।
आन्दोलन त गर्ने तर त्यस्को समाधानको बाटो पनि पहिल्यै निक्र्योल हुनुपर्छ है – उनीहरू बिच सल्लाह हुन्छ ।
“समाधानको बाटो के हुनु नी उहीँ सम्बन्धित निकायबिच वार्ता त हो ।” प्रविन भन्छ ।
उनिहरू निर्णय गर्छन् आन्दोलनलाई शान्तिपूर्ण बनाउने ।
“आन्दोलन भन्नासाथ शान्तिपुर्ण हुन्छ र ? किनकि त्यहाँ भिडहुन्छ, भिड जहिले पनि अनियन्त्रित हुन्छ । अनि त्यहा विभिन्न विचार समुहका मान्छेहरू छिरेका हुन्छन् । के त्यो हामिले सोचेजस्तो शान्तिपूर्ण होला ? अविन शंकालु स्वरमा आफ्नो धारणा व्यक्त गर्छ ।
“हुन त हो, फेरि हाम्रो आन्दोलनको कुनै एक घोषित नेता पनि त छैन । जोकोहि पनि घुसेर गलत मनसायले नेतृत्वको दावी पनि त गर्न सक्छ” रविना पनि चिन्ता ब्यक्त गर्छे ।
“हेर है साथी हो, यी सबै कुराको चिन्ता गर्न थाल्यो भने त आन्दोलन नै गर्न सकिदैन नी । त्यसैले जतिखेर जे पर्छ त्यतिखेरै आवश्यक निर्णय गर्ने”– प्रविन निश्कर्षको स्वरमा भन्छ ।
“ल प्रविनदाइ, अरु त सबै दाइले भने अनुसार नै गरौँला । तर वार्ता हुनेभयो भने कसलाई पठाउने त्यो चाहिँ अहिले नै टुङ्ग्याई हाल्नुपर्छ । किनभने वार्तामा तुरुन्तै पठाउनुपर्ने हुन्छ, त्यतिखेरको स्थिति के कस्तो हुन्छ, सबै तितरबितर भएको अवस्था पनि हुनसक्छ ।” मिथेश आफ्नो धारणा राख्छ ।
“मिथेशको कुरा सही हो । फेरि वार्तामा जाने मान्छे सबै क्षेत्रको जानकार पनि त हुनुपर्छ र त्यसमा पनि धेरै त उसले कानुन बुझेको हुनुपर्छ । जो हामिमध्ये कोहि पनि छैनौ । अनि हाम्रा शर्त र बार्ताका एजेण्डाहरू पनि बुँदागत रूपमा लेखेर त्यो वार्तामा पठाउने हाम्रा प्रतिनिधिलाई दिईराख्नु पर्छ नी ।” अविन मिथेशको धारणालाई समर्थन गर्दै प्रस्ताव गर्छ ।
सोही अनुसार जेनजेका त्यहा उपस्थित प्रतिनिधीहरूले आफ्ना मागहरूलाई बुँदागत रुपमा लिपिबद्ध गरे र केही समय अघिदेखि कार्यरत एउटा कानुन्ची अभियन्तालाई जेनजेको तर्फबाट वार्ता गर्न पठाउने निधो गरेर उसलाई जेनजेका सर्तहरू लिखितरुपमा दिईराख्ने सल्लाह गरेर जेनजेहरू भोलिपल्टबाट आन्दोलनमा होमिए ।
तर पहिलो दिनको आन्दोलन नै मध्यान्न पछि देश्रो दिन वार्ताका लागि आव्ह्वान नहुनेजेलसम्म आन्दोलन अपेक्षाकृत शान्तिपूर्ण नभएर घुसपैठीयाका कारण रणसंहारमा बद्लियो ।
अन्त्यमा वार्ता हुने भयो । जेनजेको तर्फबाट उनीहरूले पठाएको व्यक्ति वार्तामा सहभागी भयो । वार्ता के भयो, कसो भयो त्यसको कुनै जानकारी आएन । तर भोलिपल्ट टेलिभिजनमा समाचार आयो– आन्दोलनको बलबाट नया सरकार गठन भयो र त्यस्मा जेनजेको तर्फबाट फलानो व्यक्ति नियुक्ति भएकाछन् । जेनजे भनेर नियुक्ति हुने व्यक्ति अरू कोही नभएर उही वार्ता गर्नलाई छानेको व्यक्ति आफै थियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
