चस्मा अनेकौँ थरी : त्रिलोचन आचार्य (कविता)
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १६।
कोही भन्छ गरेँ अनेकन कुरा मान्दैन अर्को त्यही
स्याब्बासी छ कतै विरोध त्यसकै देखिन्छ चर्को त्यही
मान्छेले किन गर्छ नाटक सधैँ देख्दै नदेखेसरि
हेर्ने त्यै तर दृश्य भिन्न छ भए, चस्मा अनेकौँ थरी
कोही भन्दछ साम्यवाद समता आफैँ थुपार्दै धन
कोही भन्दछ राष्ट्रवाद जनता लुट्पाट गर्दै झन
मान्छे हो किन हिँड्दछौ दश कुरा सक्ने नसक्ने गरी
साँचो के छ र ? भिर्न मिल्दछ भने, चस्मा अनेकौँ थरी
ढाल्छन् राष्ट्रिय सम्पदा पनि कुनै ढुङग्रो बनाऊँ भनी
ढाल्छन् पीपल बोटसम्म कतिले भुङ्ग्रो बनाऊँ भनी
पोलिन्छन् दरबारसम्म रिसमा सारा खरानी गरी
यो सारा किन हुन्छ ? हुन्छ, छ भने चस्मा अनेकौँ थरी
को पो हुन्छ र दीन हीन पहिले आफैँ अघाएपछि
नांगो को छ कता चटक्क सुकिलो आफैँ लगाएपछि
लौरोको पनि काम छैन दुनियाँ, बिर्सिन्छ खोला तरी
के देखिन्छ र देखिँदैन ? छ भने चस्मा अनेकौँ थरी
मान्छे छन् जति जे समस्त जनका, भिन्नै छ बाटो भने
आफ्नो लक्ष्य टिपेर स्वार्थवश यो ढोगिन्न माटो भने
प्यारो देश अनेक चोट सहँदै उठ्ने छ खै के गरी ?
भिर्ने हेर हुँदै हुँदैन सुविधा चस्मा अनेकौँ थरी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
