छठ : रामबाबु सुवेदी (कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १५।
छठ हाम्रो संस्कृति हो
मिथिलामा जन्मिएको
सूर्य अमर कृति हो
ज्योतिर्मय ब्रमाण्डको
धरतीमा सूर्यदेवको
पूजा हुन्छ छठभरि
यो चाडमा सफा हुन्छन्
नदी नाला र पोखरी
ठुलो जात सानो जात
विवेकीले छुट्याउँदैनन्
यो चाडले भन्छ साथी !
मान्छे सबै समान हुन्
यौटै पूजा, यौटै द्यौता
यौटै धूप, यौटै दीप
आफ्नै नाङ्लो, आफ्नै डालो
आफ्नै श्रम, आफ्नै सीप
उखु, गुँड, चामल, गहुँ
केरा, मुला र बेसार
ठेकुवा र मुसुवा हुन्
यो पर्वका उपहार
निराहार व्रतालुले
सूर्यसँग के के माग्छन् !
शान्ति माग्छन्, सुख माग्छन्
विश्वासमा दुःख भाग्छन्
आज छठ फैलिएर
मेची महाकालीसम्म
फेवा रारा किनारमा
छठका फल लटरम्म
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
