चार मुक्तक : नवशिला
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १।
यस्तो दिन आउँछ भन्ने जानीजानी बनाएका हुन्
गर्दै अहङ्कार सधैँ बनेर अभिमानी बनाएका हुन्
रुवाएर जनतालाई सुण्डमुण्ड अघिपछि लगाउँदै,
नरसंहारी र पापीहरूले देश खरानी बनाएका हुन् ।
सहिद युवाको रगतको गरेर अब अपमान के भन्नु
म जतिको बौद्धिक वर्गले अब जानाजान के भन्नु
भ्रष्ट दलाल तस्कर हत्यारालाई कारबाही गर्नलाई,
अझै पनि अधुरो नै छ हाम्रो यो संविधान के भन्नु ।
अब यो निष्पट्ट अन्धकारमा उदाउने तारा बन्नुपर्छ
बिहानीको प्रतीक्षा गर्दै जगमगाउने तारा बन्नुपर्छ
हँसाउन देशलाई मिलेर बौद्धिक वर्ग र युवा शक्ति,
आशा जगाउँदै सधैँ अँधेरीमा आउने तारा बन्नुपर्छ ।
सहिदको सपना साकार पार्नु छ देश बनाउनु छ
जुटाएर श्रम गर्ने हात समृद्धिको मार्ग खनाउनु छ
भएर जागरुक परिचालन गर्दै सक्षम युवा शक्ति,
सहकार्य गर्न सधैँ आफ्नो उपस्थिति जनाउनु छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
