यो सत्तरीको वय : खोलाघरे साहिंलो (कविता )

यो सत्तरीको वय : खोलाघरे साहिंलो (कविता )

कपन अनलाइन

काठमाण्डौ,भाद्र २८।

‎सेतो केश छ देखिएजति सबै सेतै भए कन्सिरी
सेतै बन्न हतारिएसरि भए भ्रू औ परेली पनि
चिल्लो तालु छ दूरबाट सजिलै जो टल्किने टल्टल
आफैंमा परिपक्व लाग्छ अहिले यो सत्तरीको वय ।।१।।

‎खोल्सा खन्न तयार छन् अब उसो गाला, ललाटे तट
गालामाथि उठेर हाड, गहिरा बन्लान् दुवै कञ्चट
चिल्लो पुष्ट मुहार कालक्रमले गर्ला नि कान्तिक्षय
यस्ता सम्भव पक्ष गोड्छ अहिले यो सत्तरीको वय ।।२।।

‎हेरे हुन् कति लोभिई नजरले वैशाखका पालुवा
टेके हुन् कति पाउले बगरका ताता शिला, बालुवा
यात्रा जीवन मार्गको अब बन्यो साककनन्दऔ निर्भय
बन्दै जान्छ तनावमुक्त हलुका यो सत्तरीको वय ।।३।।

‎लोभिन्नन् अब रङ्ममा र रसमा आँखा चनाखा भए
जे जे हेर्न निषेध गर्छ मनले ती दृश्य नै छेलिए
बेग्लै राग लिदो छ शान्तिपथको यो जिन्दगीको लय
हल्ला, भीड रुचाउँदैन अहिले यो सत्तरीको वय ।।४।।

‎आँखाले जति देख्दथे विगतमा यो त्यो सबै चाहियो
जे आवश्यक छैन ती पनि कुरा ओसारियो, ल्याइयो
व्यर्थै भीड जुटाइएछ यतिका सामग्रीको सञ्चय
त्यो अज्ञान रहेछ,बुझ्छ मनले यो सत्तरीको वय ।।५।।

साढे चार बजे बिहान जहिल्यै ब्युँझेर उठ्तैछु म
शूचीस्नान र देवपूजन जसो जे नित्य गर्दैछु म
केही छन् श्रमकार्य नित्य तिनले गर्लान् भलो निश्चय
यस्तै दैनिकतासँगै शुभ बनोस् यो सत्तरीको वय ।।६।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।