माटोलाई नमोनमः त्रिलोचन आचार्य (कविता )

माटोलाई नमोनमः त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ,भाद्र २८।

माटोको महिमा चोखो गाएर भन थाक्छ को
आँसु हाँसो सजाएर धर्तीले विश्व बोक्छ यो
फक्रेका फूलकाथुँगा माटो चिन्ने निशानहुन्
झुलेका धानकाबाला माटाकै पहिचानहुन् ।।१।।

माटोले बास बाँड्दैछ माटो पुग्छ चुलोतिर
माटोले प्राण थेग्दैछ माटो रम्छ कुलोतिर
माटो हो उभ्भिने ठाउँ माटो हो कर्मको थलो
माटो उद्यानहो राम्रो माटो गर्छ सधैँ भलो ।।२।।

धर्तीमा पहिलो स्पर्श माटोको पाइने हुँदा
गर्दैच्याहाँ रुँदाहामी सुन्ने गर्दछ सर्वदा
पहिलो पाइला टेक्दा यात्राको साथमा यही
जहाँजाऊँ सधैँ साथ प्रातमा रातमा यही ।।३।।

छँदै छैनजहाँ माटो त्यहाँजीवनशून्य छ
गाँसका बासका लागि माटो नित्य अभिन्न छ
माटो टेकेर विस्तारै धर्तीमा अडिए घर
सागको डुकुको जोहो माटो बेगर हुन्छ र ? ।।४।।

माटोको छ जहाँ माया त्यहाँ प्रेम अपार छ
माटोको छ जहाँ आस्था त्यहाँ ज्ञान विशाल छ
माटोको छ जहाँ नाता त्यहाँ विश्वास टम्म छ
माटो पर्वत हो अग्लो चढ्नलाई अगम्य छ ।।५।।

चिनेरै मनले माटो पालुवा मुस्कुराउँछन्
माटोकै प्रेमले नानी चम्कन्छन् जुर्मुराउँछन्
माटोकै पत्रमा दिव्यजीवनी हुन्छ उद्गम
यहीँछ सृष्टिको सार माटोलाई नमोनमः ।।६।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।