चार मुक्तक : रञ्जु खनाल
कपन अनलाइन
काठमाडौँ, साउन १७।
जीवनमा मैले धेरै पाएकी छु चोटहरू
रूँन हाँस्न सक्दिनँ म चलाएर ओठहरू
विगतले वर्तमानलाई प्रभाव पार्दाे रैछ नि !
हार्दिकताभन्दा ठूलो ठान्दिनँ म नोटहरू
फूल फुल्छ सुवास छर्दै त्यसमै भ्रमर डुल्न थाल्यो
फूलको रस चुस्दै चुस्दै आफैँलाई भुल्न थाल्यो
फूल होइन भ्रमराको भन्नु चाहिँ मेरो भुल थियो
जति रस चुसे पनि रङ उस्तै परिवेश खुल्न थाल्यो
अतीतका व्यथा सबै थिचिदिन्छु भन्छु ढुङ्गा भेटिएन
पिर व्यथा भुली पारि तरूँ भन्छुभन्दा डुङ्गा भेटिएन
धेरै सहेँ जीवनमा अझै पनि मैले सहनु नै पर्छ होला !
ढुङ्गाले हान्नेलाई फूलैले हान्छु भन्दा पनि थुङ्गा भेटिएन
कृतिको समालोचना गर्दाखेरि आफ्नै आफ्नै दृष्टि हुन्छ
मडारिँदै ठोकिँदा बादलका टुक्रा आकाशबाटै वृष्टि हुन्छ
कुनै सिद्धान्त वा वाद लागुु हुँदैन स्रष्टा अनि द्रष्टामा हजुर !
कुशल स्रष्टाको भाव विचार नै सुन्दर रचनाको सृष्टि हुन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
