ठेकेदारी : बालकृष्ण गजुरेल (लघुकथा)

ठेकेदारी : बालकृष्ण गजुरेल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,असार ३।

“ठेक्का पट्टा गर्दा मालामाल होइन्छ ।” अन्तरे काकाले फड्काए ।
“हो र काका ? ” रमणले आश्चर्य जनाए ।
 नलाग्नु पनि कसरी ? गाउँको खेतिपातीबाट आएको रकमले जीवन धान्न कठिन हुन्थ्यो नै  ।  ठेक्का पट्टा ठिक लागेर होला अन्तरे काका मालामाल भए । संसदको  नै पसन्दिला बने । केही समयमा समाजसेवीको पगरी भिरे । यताउता हिँड्दा दस बिस केटाहरु भुरुरु  मोटर साइकल लिएर  स्कटिङ्ग गर्थे ।  अन्तरे काका भनेपछि शहर चिन्थ्यो ।त्यो अवस्था देखेर रमण सोचमग्न भए ।
” काकाको ठेक्का पट्टा त ठिकै हो । के के गर्नु पर्छ भित्र भित्रै काका ? म भतिजोलाई सुटुक्क भन्नू न ! ”  भित्री राज जान्न रमणले फकाए ।
” कमसल सामान  हाल्नु पर्छ , संसद देखि सरकारका कर्मचारी किन्नु पर्छ । नेतालाई तेल लगाउनु पर्छ । इन्जिनियरलाई मासु र रक्सिको साथमा चार – पाँच लाख फ्याँक्नु पर्छ । ” अन्तरे काकाले भट्याएर सके ।
रमणको आँखामा विभिन्न  साहित्य प्रतिष्ठानको उही  ठेकेदारी  बिम्ब आयो । उस्तै  अलंकार आयो । साहित्य प्रतिष्ठानमा समेत श्वेत ठगहरु मौलाउन थाली सकेका थिए ।    दुई चार जना ठेकेदार हुन्थे । मानौँ साहित्यको ठेक्का उनीहरुलाई मात्र परेको थियो । पुरस्कार ब्यवस्थापन देखि सिर्जनाको धज्जि उडाउँथे ।  लेखक बिचरा ! रचनामा मस्त । अत: रमण बाध्य भएर  बोले, “ठेक्का पट्टा  सिर्जनाकारको हातमा परे पो ताजमहल बन्छ , नत्र भुत्याहा घर ।  “
तपाइँको प्रतिक्रिया ।