एमाले निकट विद्यार्थी संगठनले गर्यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन
काठमाडौँः भारतीय अतिवादका विरुद्ध एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।
शनिबार प्रर्दशनी मार्गमा मोदीको पुत्ता दहन गरेको सचिव राधिका खतिवडाले जानकारी दिइन् । ‘सार्वभौमसत्ता जनताद्वारा संविधानसभा मार्फत अत्याधिक बहुमतसहित जारी सविधानको विपक्षमा छिमेकी मुलुक भारत रहनु खेद्जनक हो,’ अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले भने, ‘अहिले आएर भारतले नाकाबन्दी जस्तो निष्कृष्ट कार्य गरेको छ, यस्तो अवस्थामा हामी चुपलागेर बस्दैनौं । ’
त्यसैगरी अनेरास्ववियुले सरकार र राजनीतिक दलले एक भएर भारतको घमण्डलाई परास्त गर्नुपर्नेमा जोड दिएको छ ।
‘प्रतिनिधिले लोकतान्त्रिक पद्धतिमार्फत निर्माण गरेको संविधानप्रति छिमेकीले यसो र उसो गर भन्दै जारी गरेको फर्मान र अबान्छित चासोप्रति हामी घोर निन्दा गर्दछौं,’ अनेरास्ववियुका प्रचार विभाग प्रमुख अशेष घिमिलेले भने, ‘मधेस लगायतका विभिन्न ठाउँमा प्रकट भएको असन्तुष्टि हाम्रो आन्तरिक मामिला हो, यसको समाधान गर्न हामी आँफै सक्षम छौँ ।
भारतको नेपालप्रतिको यो गलत व्यवहारले अन्तराष्ट्रिय समुदाय माझ उसकै बेइज्जती भएको स्मरण गराउँन चाहन्छौँ ।’
अनेरास्ववियुका अनुसाशन आयोगका प्रमुख जीवन राइले पनि भारतीय हस्तक्षेपको विरोध गरे । ‘भारतको नाकाबन्दीका बावजुद पनि नेपाल स्वाभिमानका साथ बाँच्न सक्ने भएकाले भारतको हेपाह प्रवृतिसँग नझुकी नेपालको आफ्नो राष्ट्रियता र स्वाभिमानको रक्षा गर्न राजनितिक नेतृत्व लाई अपिल गर्दछ,’ राइले भने ।