प्युठान स्वर्गद्वारी प्रकृति संस्कृति : बासुदेव पौड्याल (कविता )

प्युठान स्वर्गद्वारी प्रकृति संस्कृति : बासुदेव पौड्याल (कविता )

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १७।

साँच्चैद्वार रहेछ स्वर्ग सुखको यो स्वर्गद्वारी धरा
सेतो शैल हिमाल त्यो क्षितिजमा टोपी सरि टाकुरा ।
आनन्दी मन शान्त सुन्दर जता प्युठान यात्रा भरी
पर्या प्राकृत बोधगम्य भबमै सौन्दर्य का माधुरी ।।

अग्ला शैल पहाड उच्च चुचुरा सेता पछ्यौरा धरी
हास्छन् मिर्मिरका उषा किरणमा नौला सुनौला परि ।
आँखा टक्क अडे र लोभ मद भो देवत्व बासस्थल
वास्ना जंगल पुष्प मोह धरणि देवस्थली निर्मल ।।

गौमाता घर यो गुफा र पहरा यो स्वर्ग कै धाम हो
यात्रा भारतबाट पर्यटनमा नेपाल कै शान यो ।
पुर्खा वेद पुराण वर्णन यता संस्कार कै द्योतक
ध्यानी योग सनातनी जगतको कैवल्य प्राप्ती पथ ।।

भेटी कै भरमा छ आश्रम यहाँ तिर्थालु दानी दया
बेदान्ती जन मन्त्र घ्यु हवनमा ती कुण्ड ज्वाला सदा ।
लागे पाण्डब पाठ होम जपमा यै मार्ग भै स्वर्गमा
ढोका स्वर्ग र पुण्य लाभ सबको भन्ने छ बिस्वासमा ।।

राप्ती क्षेत्र तपस्थली थल छ यो ती पाठशाला भरी
बन्दोबस्त छ पढ्न खान रहने सेवा निशुल्कै गरि ।।
मस्टो छन् खसका कुलायनहरू पुजा अनेकौ विधि
कर्णाली निधि देउडा सबथरी गौरा नचा सोरठी ।।

सांच्चै देब रहे महाप्रभु यहाँ बत्ती अखण्डै जल्यो
सारा शक्ति जुटे बिकास यसको निर्माण बिस्तार भो ।
स्रस्टाका पदचाप प्रेरित बने उत्साह सौन्दर्यको
आहा ! स्वर्ग बनेछ है अबनिमा यै स्वर्गद्वारी छ यो ।।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।