सपना शान्ति मास्ने नदेख : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १७।
डाँडा पाखा वन चउरमा घाम लागी रहेछ
इन्द्रेनीको झलक छ सफा याम जागी रहेछ
कालो फालीकन गगनले जून डाकी सजायो
भन्छन् मान्छे घर घर नयाँ सिर्जना जुर्मुरायो ।१।
हैनौ रैती भनिकन उठे टाकुरा जग्मगाई
आफ्नै आभासँग चहकिए लेक बेँशी तराई
राजा भन्ने पनि अघि थिए यो कथा भो पुरानो
अग्लो भो हैसियत सबको राजतन्त्रै विरानो ।२।
पाल्छौ हात्ती अझ महलमा भन्न को धाउला र
छान्दै कुर्सी जनमतविना बस्न को पाउला र
जाउन् मान्छे सहज पदमा भोट मागेर भारी
खाऊँ टन्नै सिपश्रमविना भन्छ को स्वांग पारी ।३।
मान्दै द्यौता यस समयमा बस्दछन् भन्न सक्ने
को होला खै सकल मनको चाहना बुझ्नसक्ने
ठूलो सानो किन र कसरी जन्म आधारले होस्
आई लौ शासक बन तिमी आज को भन्न जाओस् ।४।
आउन् नेता सहज चुनिँदै भन्छ यो लोकतन्त्र
सोझै गर्ने रजगज कुनै जादु चल्दैन भन्छ
सक्ने कोही पुरुष छ भने दौडियोस् अन्तरिक्ष
भो भो भोग्यौँ उकुस मुकुसै पार्दिने एकतन्त्र ।५।
बन्दा केन्द्रीय तह निठुरी मार्ग संघीयताको
रोजेका छौँ कति दुख गरी राख्नु राजा कता हो
राख्दा आसा असहज हुने बढ्छ चिन्ता अनेक
बेला धेरै अघि छ, सपना शान्ति मास्ने नदेख ।६।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
