जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित

जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित

कपन अनलाइन

काठमाण्डौ ,पुस २८।

नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्र बाबु राईलाई दलहरुले नेपाल ल्याउन नचाहेको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिबी फर्किएको खण्डमा सबै नेताहरुको पोल खुल्ने डर रहेको बताएका हुन् । साना–ठूला सबै भ्रष्टाचारको काण्डमा दलका नेताहरुको संलग्नता रहने गरेको उनले दाबी गरे ।
‘जिबी राई फर्काउने कुरै छैन । किनकी जिबी फर्कियो भने पोल खुल्छ । याद गर्नुस्, नेपालमा सानो भ्रष्टाचार होस् कि ठूलो ? नेताहरुको संलग्नता नरहेको त छदै छैन । त्यसैले जिबी राईलाई कुनै पार्टीले पनि ल्याउन चाहँदैन । उ नआई पीडितले पैसा पाउँदैनन्,’– उनले भने ।
साथै, वर्तमान सरकारले कुनैपनि भ्रष्टाचारको मुद्दामा अनुसन्धान अगाडि बढाउन नसकेको बताए । उनले कम्बोडिया काण्ड, गिरीबन्धु, भुटानी शरणार्थीलगायतका काण्डमा अनुसन्धान नै अगाडि बढ्न नसकेको बताए ।
उनले भने, ‘कम्बोडियाको कुरा छ, प्रष्ट देखिएको छ, त्यो चुपचाप छ । कम्बोडियाको कुरा गर्नेवित्तिकै प्रसाईँजीलाई थुन्दिहाले । आज उहाँ बोल्नै नसक्ने अवस्थामा हुनुहुन्छ । गिरिबन्धु छ, शेरादरबार, जनमुक्ति सेनाको पैसाको कुरा आउँछ, भु्टानी प्रकरण छ, कुनैपनि मुद्दा अगाडि बढ्न सकेको छैन । हामी चुर्लुम्म भ्रष्टाचारमा डुबेका छौं । अगाडि उज्यालो छ भन्ने अवस्था आज हामीसँग छैन ।’
साथै, कास्की जिल्ला अदालतको आदेशलाई रवि लामिछानेको जितको रुपमा लिन नहुने उनले बताए । देशभरका ७६ हजार बचतकर्ता सहकारीबाट पीडित भएको र पीडितको पक्षमा कसैले पनि चासो नदेखाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘रवि लामिछानेको कसरी जित हुन्छ ? पीडितले पैसा पाएकै छैनन् । हामीले पीडितको कुरा गरेकै छैनौं । १८ हजारमात्रै पोखरामा पीडित छन् । ७६ हजार मान्छे देशव्यापी पीडामा छन् । पीडित कतिको जिन्दगी खतम भएको छ । कसैले पीडितको लागि केहीपनि बोलेका छैनन् । पीडितको मतलब नै छैन हामीलाई ।’
एउटा व्यक्ति (लामिछाने) माथि सबैको ध्यानाकार्षण भएको तर ७६ हजार पीडितलाई कसैले वास्ता नगरेको उनले बताए । उनले सहकारी पीडितको पक्षमा लेखिदिन र बोलिदिन सबैलाई आग्रह गरे । अदालतले पनि पीडितको हित हुनेगरी आदेश गर्नुपर्ने उनको माग छ ।

 

तपाइँको प्रतिक्रिया ।