अमूल्य धन : शारदा कोइराला (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,पुस २७ ।
“तपाईं किन माग्न बस्नु भएको ?” बाटोको छेउमा एउटा हट्टाकट्टा मानिस माग्न बसेको देखेर हरीले भन्यो ।
“गरीब भएर ।”
“तपाईं कसरी गरीब ? प्रकृतिले दिएको अमूल्य धन तपाईंसँग छ ।”
“कहाँ छ ? म त देख्दिनँ ।”
“तपाईंको एउटा आँखा मलाई दिनोस् । म तपाईंलाई पाँच लाख रुपैयाँ दिन्छु ।”
“अँह ! म दिन सक्तिनँ ।”
“दुई किडनीको के काम ? तपाईंको एक किड्नी मलाई दिनोस् । म तपाईंलाई अर्को पाँच लाख दिन्छु ।”
“अँह म दिन्न ।”
“भै, गो।मलाई तपाईंको एक हात वा एक खुट्टा दिनोस् । म तपाईंलाई अर्को पाँच लाख दिन्छु ।”
“एक करोड रुपैयाँ दिए पनि म मेरो शरीरको कुनै अंग दिन सक्तिन । मेरो पेट छ । मैले खानु पर्छ ।रुपैयाँ छैन । त्यसैले म गरीब ।”
“ईश्वरले तपाईंलाई एक पेट दिएको छ भने दुई हात समेत दिएको छ । दुई हातले काम गर्नाेस । एक पेट भर्नाेस । ईश्वरले प्रदान गरेको अपार धन तपाईंसँग सही सलामत छ । तपाईंसँग यति धेरै सम्पत्ति छ कि तपाईंलाई माग्न बस्न सुहाउँदैन । तपाईं गरीब कसरी हुनुहुन्छ ?”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक