‘अभावका सुस्केराहरु’ सुन्दा : तुलसीराम खरेल ( पुस्तक चर्चा)
कपन अनलाइन
काठमाडौं, पुस ६।
झापाली लेखकहरुको बीच ‘पुष्पप्रेमी’ अर्थात राम आचार्य नौलो नाम होइन् । पुर्वोत्तर झापाको भूगोल, परिवेश, रहनसहन, शिक्षा तथा समाज रुपान्तरणसँगै आफ्नो भोगाई लाई निर्धक्क पाठकहरुको बीच पस्कन सफल देखिएका छन् आचार्य । उनको पछिल्लो कृति ‘अभावका सुस्केराहरु’ कविता संग्रह हो । यसमा उनको जीवनको भोगाईको यथार्थ एवम् समाजका बिविध अवयवहरुको अवस्थाको राम्रो चित्र उतारिएको समेत छ ।
२०६९ सालमा सहकारी सम्बन्धी लेखको संगालोको पाण्डुलिपि तयार पारेर आफ्ना भाञ्जाभाई बालकृष्ण दाहाललाई “ल बाबु तिमी नेपाली भाषाका शिक्षक प्राध्यापक परेउ के कसरी मिलाइदिन्छौ है ?” भनेर अनुरोधको शैलीमा काम आह्राएर लामु सुस्केरा हाल्दै गफ टुङ्याएको कथाले २०७० सालमा “मैले बुझेको सहकारी” नामको लेख संंग्रह तयार भएर बजारमा आयो । आज धेरै सहकारीहरु बद्नामको बाटोमा हिंड्न थालेको अवस्थामा उनको सहकारी प्रतिको निष्ठा र लगाव प्रेरणाको स्रोत बनिरहने छ । यसरी बाहिर निस्किएको लेखन यात्रा आज २०८१ सालको असार २९ गते भानु जयन्तीको दिनमा ‘अभावका सुस्केराहरु’ नामको कविता सङ्ग्रह विमोचन हुनु अर्को सुखद समाचार बनेको छ ।
३९७ पृष्ठ सङ्ख्या रहेको, पृष्ठ क देखि व सम्म शुभकामना, लेखकीय मन्तब्य, विषयसूची, प्रा.डा. गङ्गाप्रसाद अधिकारी तथा दार्जिलिङका स्रष्टा विमला प्रधान जोशीको चिरफार अटाएको छ । पुस्तकको भाषा सम्पादनको जिम्मा लिएर मेरा मित्र एबम् कलमकर्मी बालकृष्ण दाहालले महत्वपूर्ण कार्य गर्नुभएको छ । एकराज प्रधानको आवरण कला रहेको पुस्तकको आवरणले आफैं धेरै मौन कविताहरु बोकेको प्रतीत हुन्छ । आशा गर्न यो पनि सकिन्छ कि अब त्यस्ता मौनता भित्र लुकेका कविताहरुको पुनः अर्को संग्रह बन्ने छ । अरनिको छापाखाना बिराटनगरको मुद्रण तथा ज्योत्स्ना श्रेष्ठको टङ्कण रहेको पुस्तकको सर्वाधिकार स्वयम् लेखकमा रहेको छ । बजार मूल्य रु ४९९ रहेको उक्त पुस्तक उनको चौथो तथा सबैभन्दा आकर्षक पुस्तकको रुपमा बजारमा आएको छ ।
‘स्मृतिका ती क्षण’ नामको कवितामा कवि पुष्पप्रेमी बाल्यकाल सम्झेर आफुमात्रै भक्कानिएका छैनन् पाठकलाई पनि भक्कानिन बाध्य पार्दछन् । उनले आफ्नो बाल्यकालका साथी, परिवेश, पर्यावरण, आफन्तहरुको बीच संसारबाट हराएकी आमा अनि मौनता मज्जाले देखाइदिन्छन् । त्यस्तै खाले स्मृतिमा अल्झेका उनका कविताहरु दशै र रातोमाटो, घात प्रतिघात, मुङ्लाने दाइ, सम्झनामा मेरो पाठशाला, यी औंलाहरु, जिन्दगीको चक्रपथ, आफ्नै सेरोफेरो, कहरलाग्दो रात, तिमी अनि म, दशैको यादमा, कुशे औँशी पर्व, लकडावन, संस्कृतिको प्रतिक बनोस् तीज, तीजमा लिन आउँछु चेली आदि हुन् ।
कविता संग्रहमा रहेका दोस्रो प्रकारका कविताहरु देशप्रेमले ओतप्रोत छन् । तिनले पुर्खाको योगदान सम्झेका छन् । माटोको माया, सम्झनामा पौष २७, म र मेरो देश, मेरो टोपी, कर्णालीको चित्कार आदि यस कोटीमा पर्दछन् । पुर्खाले हिडेका कठोर र अभावयुक्त ईतिहास सम्झाउन सफल कवि आत्मनिर्भरता र आत्मसम्मानका लागी जागरण गराउन सफल देखिन्छन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक