चमक्क चम्किँदै थियौ : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ९ ।
१. तँ जा अगाडि लम्किँदै पछाडि हट्नु हुन्न है
भनेर तन्त्र ल्याइयो विधानमा सजाउँदै
हटाउदै फटाउदै अगाडिका प्रशासक
हिँड्यौँ बनेर दङ्ग भै स्वतन्त्रता उपासक
२. अघोर रात फालियो भनेर उफ्रिए कति
विनाशको प्रथा गयो भनेर डुक्रिए कति
त¥यौँ समुद्र दुख्खका भनेर हौसिए कति
सुधारको निमित्त यो भनेर दङ्गिए कति
३. फुलेर फूल बागमा भयो धपक्क मग्मग
जुरुक्क उठ्छ उठ्छ झैँ भयो समाज जग्मग
सुवास वास फैलियो उज्यालिँदै गए पथ
खुलम्खुला सबै भनी तयार पारियो रथ
४. अगाडि लाउने भनी चुनावमा उठाइयो
दिएर भोट बेसरी जिते उँभो पठाइयो
परन्तु जो गए जिती छि मैलिए नराम्ररी
समस्त फुस्रिँदै गए बढ्यो अनिष्टको झरी
५. लुटे जुटेर बेसरी कमाउँदै गए धन
रहेछ साधु भेषमा परन्तु दुष्टझैँ मन
बने अनेक बङ्गला बसे गएर ढस्मस
गने करोड अर्बमा निकै गरेर लस्पस
६. नपाउने निसास्सिए चपाउने उकासिए
र डाडु हातमा हुने बतासिए अकाशिए
कराउने कराउँदा कराउँदै धपाइए
मिल्यो जहाँ र जे सबै मिलाइए चपाइए
७. म सार्वभौम हूँ भनून् निरीह छन् जनार्जन
दुखेर घाउ बेसरी बढेछ मातृ क्रन्दन
भविष्य छैन लौ भनी युवा भए पलायन
डराउँदै कराउँदै छ बाल बृध्दको मन
८. छ खेत बाँझिदै अझै छ गाउँ शून्य शून्यमा
छ नाम देशको अझै गरीबतर्फ गन्तिमा
गरेर आस भीखको रमाउछौँ बजेटमा
मिचेर ऐन मख्खझैँ छ राजनीतिको मन
९. अनन्त अन्धकारमा धकेलिँदै गयौँ कि त
हराभरा हुने भनी उजाडिँदै रह्यौ कि त
भनेर पुत्र के बुझोस् छ मातृ चित्त व्याकुल
चमक्क चम्किँने भन्यौँ गरेछ रातले छल
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।