पवनकुमार बुढाथोकी र बेलाको बोली : ममता मृदुल ( समिक्षा)

पवनकुमार बुढाथोकी र बेलाको बोली : ममता मृदुल ( समिक्षा)

कपन अनलाइन
काठमाडौं, कात्तिक१०।
विषयप्रवेश :
कीर्तिपुर नगरपालिका वडा नं. ६ चोभार चारघरेमा बुवा गोवर्धन( सनत) बुढाथोकी आमा फत्तीकुमारी बुढाथोकीका सुपुत्रका रूपमा २२अप्रिल १९६८ मा पवनकुमार बुढाथोकीको जन्म भएको हो । उहाँ हाल पुरानो बानेश्वर काठमाडौंमा बस्नुहुन्छ । नेपाली भाषा साहित्यका मुक्तक, कविता, लघुकथा, कोपिला र सुसेलीमा निरन्तर क्रियाशील सुसेलीकार पवनकुमार बुढाथोकीको प्रकाशित कृति बेलाको बोली रहेको छ ।
आयामः
बेलाको बोली सुसेली सङ्ग्रहका प्रकाशक राष्ट्रिय सुसेली मञ्च नेपाल रहेको छ । आवरण अस्मिता पराजुलीको रहेको छ । प्रकाशकीय शुभकामना बेलाको बोलीले चुमे गगन शीर्षकमा दुर्गा अधिकारी भमरकोटेले लेख्नुभएको छ । शुभकामना शीर्षकमा डा.शैलेन्दुप्रकाश नेपालले लेखनुभएको छ । शुभकामना शीर्षकमा दामोदर ढकाल दीपकले लेख्नुभएको छ । मेरो भनाइ शीर्षकमा सुसेलीकार पवनकुमार बुढाथोकीले आभार व्यक्त गर्नुभएको छ ।
सुसेलीभित्र पस्दा ः
पहिलो सुसेली
कसैको पनि मनलाई भाड्ने काम नगरौँ । आफूलाई ठुलो बनाएर अरूलाई मान्छे नगन्ने प्रवृत्तिमाथि व्यङ्ग गरिएको छ ।
मन नभाडौँ
आफू ठुलो बनेर
अरू नमाडौँ ।
फुर्ती लगाउँदै हिँड्ने फटाहालाई नेता जस्तै भनेर तुलना गरिएको छ ।
फुर्ति नगर
नेता जस्तै भएर
दाम नभर ।
सामाजभित्र रहेका जाली फटाहाले झुट बोलेर गरिबको श्रमको मोल दिएका छैनन् । देखावटी रूपमा आडम्बरको खोल ओढेर देउता बन्न खोज्ने पनि छन् ।
भन्ने एउटा
गरिबलाई मारी
बन्ने देउता ।
यस सङ्ग्रहभित्रको अन्तिम सुसेली
गरौँ नमन
शहीदलाई मान्न
हुन्न नभन
थोरै शब्दलाई संयोजन गरेर लेखिएका छन् । पाँच सात पाँच अक्षरलाई शब्दमा ढालेर सुन्दर स्वरूप बनाइएको छ । गेयात्मक छ ।
भाषाशैली :
नेपाली भाषामा लेखिएको बेलाको बोली सुसेली सङ्ग्रहभित्रका सुसेलीले थोरैमा पनि सबै कुरा बोलेको छ । संस्कार छ, समाजका विकृति, विसङ्गतिलाई निर्मूल पार्ने सोच छ । राजनितीका कुरा छन् ।सामाजिक, आर्थिक पक्षलाई उठाइएको छ ।
उद्देश्य :
समाजभित्र भएका राजनितीलाई विकृतिले ढाकेको सङ्केत गरेर खराब पक्षलाई सचेत गराइएको छ । सचेत नागरिक भए पछि गरिने कुरा सूक्ष्म रूपमा यसरी सङ्केत गरिएको छ ।
लखेट्नु पर्छ
जस्ले यहाँ धेरै नै
अन्याय गर्छ ।अन्याय सहनु हुन्न भन्ने सोच रहेको छ ।
ताल लाउने
नेता जति त यहाँ
पैसा पाउने । उचालेको भरमा काम गर्नेले आफ्नो श्रमको मोल नपाएका पीडा छन् । पैसा जति सबै नेताका हातमा पुगेका कुरा छन् ।
विचरा मान्छे
गोला बारुद बोकी
बलियो ठान्छे । द्वन्द्वकालमा गोला बारुद बोक्नेहरूप्रति लक्षित गरेर लेखिएको छ ।
ज्यादै नै गाह्रो
गरिबलाई टिक्न
भयो है साह्रो । महंगीको मारले थिचिएको अवस्थालाई लक्षित गरेर लेखिएका छन् । विकृति, विसङ्गति विरुध्द सचेत गर्ने उद्देश्यले पवनकुमार बुढाथोकी हालको देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुहुन्छ । सुसेलीका माध्यमबाट मनभित्रका उकुसमुकुस पोख्नुहुन्छ । सचेत हुनका लागि मार्ग दर्शन गर्नु मूल उद्देश्य रहेको छ ।
निष्कर्श :
बेलाको बोली सुसेली सङ्ग्रह पढ्दा छोटा लाग्छ तर मनमा तरङ्ग पैदा गराउँछ। कता कता मनका कुराले पीडालाई छोएर गएको भान हुन्छ । अहो हामीले भोगेका, देखेका कुरा तर लेख्न नसकेका विषयको उठान गरिएको छ ।
धोका खाइयो
पुर्पुरोमा लेखेको
मात्र पाइयो
सूक्ष्ममा पनि अति सूक्ष्म शब्द मात्र कहाँ हो र अक्षर गनेर लेख्न सजिलो छैन । यस्तो जाबो पाँच सात पाँच लेखिहाल्छु भन्न जति सजिलो हुँदैन ।
आशा मरेको
सुखदायी फल नै
सुकी झरेको
खुसी, समाज, प्रकृति, प्रेम, पीडा सबैलाई सङ्गालेर लेखिएको छ । सुसेलीकार पवनकुमार बुढाथोकीको सत्र अक्षर यात्राको सफलताको कामना गर्दै आजलाई विदा माग्छु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।