नियति : प्रविना सुन्दास (कविता)

नियति : प्रविना सुन्दास (कविता)
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ३ ।

हिजै मात्र जामा लगाएर
आँगनीका फुलहरु टीप्दै रमाएर नाच्ने छोरीलाई
हलक्कै बढेकि देखेर परिपक्वतालाई वेवास्ता गर्दै
समाजका कुदृष्टीबाट बचाउन
के सहि के गलत छुट्याउन नसक्दै
आँगन पोलेर सुम्पिदियौै पराइको हातमा ।

अन्माउन त अन्माइदियौ आमा
तर
छोरी तिमी भोकी त छैनौ भनेर एकचोटी सोधिदेउन
महलमा परेर राज गरेकि छ भनेर गर्व गर्नुभन्दा
महलभित्रको व्यवहारीका दरिद्रता
अनि
तिम्रो छोरीको स्थान कहाँ छ भनेर पनि बुझिदेउन
अरुले के भन्ला
समाजले लान्छाना लगाउला हैन
छोरीको परिस्थीति हेरेर निर्णय गरिदेउन
छोरी बाचे पो तिम्रो इज्जत बाच्छ त
यदि छोरी नै नरहे कसरी बचाउछ्यौ
तिमिले तिम्रो इज्जत
अनि
माइतिको ढोका सधै खुल्ला गरिदेउन है
तिम्रै घरको छानो त हो मेरो अप्ठेरोको सारथी
जहाँ मलाई कुनै डर पिर पिडा हुदैन
यो माइति हैन यो पनि तेरो आफ्नो घर हो
भन्ने वातावरण बनाइदेउन
बेलाबेलामा
छोरीको व्यवहार नियाल्ने गर न
व्यवहारिक परिवर्तन पनि अवलोकन गर न
छोरी ज्वाइको सम्बन्ध कस्तो छ भनेर
शंका गरिदेउन बरु
आमाले सबै पढ्न सक्छिन भन्छन
न केहि भेटि पो हाल्छ्यौ कि
छोरीको असहजता बुझि पो हाल्छ्यौ कि
न बेलैमा तिमिले केही गर्न पो सक्छ्यौ कि
मर्दै गरेकि तिम्री छोरीलाई
बचाउन पो सक्छ्यौ कि ।

इज्जतको लागि, समाजको लागि
तिमिहरुको लागि
मिल्न दवाव नदेउ न मलाई
ढुक्क हौ
सकुन्जेल त तिमिहरुको इज्जतमा
कुनै आँच आउन दिदिन
मै मरेँ भने नि
बरु सक्छौ भने
बिदेशी महलवाला एचवाला ज्वाँइ हैन
तिम्रो लागि जे गरे पनि
म छु भन्ने ज्वाँइ हेरन है
यातना सहेर नवस्, विद्रोह गरीहाल्नु
तलाई पर्दा हामी तेरा माइति छौ भनेर
मेरो रोइरहेको मनलाई
सम्हालीदिने साहारा बनिदेउ न है ।

श्रीमान् कर्मले बनाइदेको नाता हो
भाग्यबिधाता त हैन नि
आत्माले मान्दैन भने सँगै बस्नुपर्दैन
यति स्वतन्त्रता तिमिसँग छ भन्ने आत्मबल देउन
धनसँग हैन मनसँग प्यार गर
सुनचादी र महल हैन
आफ्नो स्वाभिमान इज्जत र सम्मान खोज
भनेर गर्भैबाट सिकाइदेउ न ।

सक्षम भएर पनि
समाज र परिवारकै इज्जत जोगाउन
जीवनको आहुति दिइरहनु पर्ने आखिर कहिलेसम्म
जसको लागि जीवनदान गर्न
तयार हुन्छौं हामीहरु
उसैले जीवन समाप्ती गरिदिँदा पनि
सहिरहनुपर्ने कहिलेसम्म
गर्भदेखिकै असुरक्षित हामी
यी पुरुष भनाउँदा राक्षसहरुसँग
डराइरहनुपर्ने कहिलेसम्म
बिन्ती
मन मिल्दैन भने डिभोर्स देउ
माइतिमै लगेर छोडिदेउ
तर
कसैले फुलजसरी हुर्काएकी अर्काकी छोरीलाई
टुक्राटुक्रा पारेर नमारीदेउन ल
स्त्री त फुल हुन सजाउदा सिंगारिदा सुन्दर देखिन्छिन
चुडाएर फाल्दा हैन भन्ने बुझिदेउन
तर
तिमी नरेशहरुजस्ता पुरुषार्थ देखाउन
हदै पार गर्ने पुरुषको दिमागले कहिले बुझ्नै सक्दैन
त्यो सात समूद्र पारिको सहरबाट
तिम्रो छोरीको दविएको आवाज
निलडाम भएको शरिरले साहारा माग्दै गर्दा
कुन पल अन्तिम हुन्छ भन्ने भयमा बाँच्दै गर्दा
तिमिहरु यता छोरीले घर गरि खाएकोमा
गौरान्वित कसरी हुन सक्छौ ।

ए नारीहरु
निभाउन सक्छौ भने निभाउ सम्बन्धलाई
सक्दैनौ भने निभाइदेउ सम्बन्धलाइ नै
फेरि नबल्ने गरी
तिमी स्वतन्त्र छौ
हिजो तिमिसँगै सुत्ने वेडमा
तिमिलाई निर्मम हत्या गर्न सक्ने पुरुषलाई
आफ्नो भगवान् सम्झिएर
पाउको जल पिउदै अब तिमिले वस्नुपर्दैन
हिजोका ति प्रेमिल पलहरु चटक्कै बिर्सेर
विनासंकोच तिम्रो घाटी रेट्न पुरुषले सक्छ भने
उसैको विद्रोहमा आवाज उठाउन
किन काप्छन तिम्रा ओठहरु
परस्त्रीको मायामा पागल भएर
सम्बन्ध तोडिदै गर्दा ऊ कति खुशी छ
तर तिम्रा औलाहरु किन कापेका छन्
किन भिजेका छन् परेला
माइतिको इज्जत, परिवार, आफन्त, समाज भन्दै
सवैको इज्जत किन धान्दछ्यौ
यो सब गरि भनेर सम्मान गर्नेवाला छैन
कोही यहा यति बुझ ।

ए छोरी तिम्रो लागि हामी छौं
भन्न नसक्ने माइति
अर्काकी छोरी होस जे भएपनि सहेर बस्नुपर्छ
भनेर पटकपटक वचन लगाउने परिवार
घाउमा नुनचुक छर्ने आफन्त
दबिएर बस्न विवश बनाई
अनेकौ लान्छाना लगाउने समाज
अनि
माइतिको स्तर सम्झाइरहने,
राम्रो रुप मिलेको शरीर हुनुपर्ने,
घरधन्दा समाज बच्चा उच्च करियर
अनि टन्नै कमाइवाली प्रफेक्ट हुनुपर्ने,
आफु चै कलियुगको कृष्ण
तर पतिब्रता श्रीमती चाहिने
श्रीमानको इज्जत किन धान्दछ्यौ
के पुरुष विना तिमी केही होइनौ त ?
यदि हौ भने
अब फेरि कुनै पत्रकारले महिला हिंसा
र हत्याका समाचारहरु लेख्न नपरोस्
तिम्रो आफ्नो अस्तित्व आफै वचाउ
अब
सचेत वन
प्रतिकार गर
मैदानमा उत्र
तिम्रो सहनशिलताले सिमा नाघिसक्यो
तिम्रा लागि कोही छैन यहाँ
तिम्रो सुरक्षा तिमी आफैले गनुपर्छ
तिमी आपूm बाँचेर
पलपल मरेर बाँचिरहेका
संसारका हजारौ ममताहरुलाई बचाउनुपर्छ,
अनि
नरेश जस्ता दानबहरुको अन्त्य गनुपर्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।