न्यायिक निर्णय : बिक्रम श्रेष्ठ सागर (लघुकथा)
दशैको बेला थियो । आकाशमा चङ्गाहरु उडिरहेका थिए । बाल बालिका लगाएत युवा युवतीहरु कौशी कौशीमा देखिन्थे । कोहि चङ्गा उडाउनमा व्यस्त थिए भने कोहि आकाशमा असरल्ल उडिरहेको, जुदिरहेको, कुनै काटिएर गन्तव्य विहिन हावासंगै तैरिरहेको आदि ईत्यादिमा म पनि कहिले भित्र त कहिले बार्दली गर्दै ती मनोरम दृष्य हेरिरहेको थिए ।
अंकल ! ए अंकल !
बार्र्दलीबाट आवाज तर्फ कान संगै दृष्टि पुग्दा दुई बालक सडकबाट मलाई नै सम्बोधन गरिरहेका थिए ।
तल तिर हेर्दै “के भो ? किन ?”
एकले भने “त्यहा रहेको चङ्गा मेरो हो, दिनुस न अंकल ।”
ए ! भन्दै चङ्गा तर्फ दृष्टि पुग्दै गर्दा अर्कोले “त्यो चङ्गा उसको होईन अंकल मेरो हो मलाई दिनुस है । ” भने ।
केहि नबोली चङ्गा भए तर्फ गएँ । चङ्गा उठाई ओल्टार्ई पल्टाई हेरेँ । धागो समेट्दै नियालेर हेर्दै गर्र्दा म अन्यौलमा परेँ । चङ्गा हातमा छ, दिउँ त कस्लाई दिउँ भनी सोचमा परेँ ।
दुबै बालकहरु एक एक गर्दैै मेरो हो मलाई दिनुस भनीरहेका थिए ।
दुवै झुठ बोलिरहेका थिए । बाहिरबाट काटिएर आएकोमा म विश्वस्त थिएँ ।पृथक बालकहरु मित्र थिए होलान तर चङ्गा दुवैको थिएन अतः चङ्गा कस्लाई दिने भन्नेबारे अन्यौल बढ्दै गईरहेको थियो ।
एकलाई अवश्यै दिनु थियो । न्यायिक निर्णय मैले गर्नु थियो । काटिएर कतैबाट आएको चङ्गा मेरो थिएन । आफैमा सुरक्षित राख्नुको कुनै औचित्य पनि भएन ।
यतिकैमा एक बालक सडक छोडी संगै घरको कौशिमा आई पुगे । जहाबाट उ मेरो निकै नजिक थियो । उ हौसिएर दिनुस न दिनुस ! त्यो मेरै हो भन्दै हात अगाडि बढाईरहेको थियो । अन्यौलता बढिरहेको थियो । निर्णयमा जटिलता झनै थपियो ।
प्रश्नको रुपमा अनायासै मेरो वाणी फुस्कियो “तिमी कसरी त्याँ कौशीमा ?”
बालक गर्व गर्दै “यहि तल हाम्रो कोठा छ अंकल । दिनुस न भन्या के !”
ए ! सडकतिर देखाउँदै “अनि उ नी ?”
“खै ! उ को हो थाहा छैन । अलि झर्कदैँ हे.. ! अंकल दिनुस न भन्या !”
अब भने केहि सहजताको महशुश भयो । केटोले आफ््नो पहुँचको गलत उपयोग गरेको भान भयो ।
तब, अहँ ! यो चङ्गा तिम्रो हातमा म दिने छैन । यो अन्याय हुनेछ ।तसर्थ यहाबाट खसालि दिनेछु ! जस्को हात पर्छ उसैको भो ! भन्दै दुवैलाई समान अवसरका साथ चङ्गा देखाउँदै हातबाट छोडी दिएँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक